कपिलवस्तु । उद्योग व्यापार संघ, कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले विभेदकारीताबाट नै विद्रोहको जन्म हुने बताएका छन् । आफ्नो एकवर्षे कार्यकालमा सम्पन्न भएका कार्यक्रमहरुको समीक्षामा संघका अध्यक्ष पौडेलले सो कुरा बताएका हुन् । स्थानीय तह र विभिन्न संघसंस्थाले उद्योग व्यापार संघलाई हेर्ने दृष्टिकोण नै विभेदकारी भएको उनको भनाइ थियो । संघले गरेको प्रतिबद्धताअनुसार अपांग भएका व्यक्तिहरुलाई कम्तीमा दश जनालाई रोजगारीको ग्यारेन्टी लिएकोमा सो कार्य पूरा गरिएको संघका अध्यक्ष पौडेलले बताए ।
यसैगरी रक्तदान कार्यक्रम, वृक्षारोपण, उद्योग व्यवसायीहरुको करको सहजीकरण, कर सप्ताहअन्तर्गत कर प्रशिक्षण कार्यक्रमलगायतका कार्यक्रम संघले सम्पन्न गरेको उनले जनकारी दिए । व्यवसायीहरुका समस्याहरुलाई समाधान गर्न र व्यवसायीहरुका उद्देश्यहरुलाइ कसरी स्थायीत्व गर्न सकिन्छ भन्ने उद्देश्यका साथ लागि परेको संघले विभिन्न आक्षेपहरु पार गर्दै छोटो समयमा नै सफलता हासिल गरेको संघका अध्यक्ष पौडेलले बताए ।
यस्तै कार्यक्रममा एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इन्ड्रष्ट्रिज भारतका सहमहामन्त्री गोविन्द पोख्रेलले उद्योगी व्यवसायीका पिरमर्का बुझ्ने कोही नहुँदा व्यापार व्यवसाय धरापमा पर्दै गएको बताए । उनले यसको समस्या समाधानको कुनै उपाय नदेखेपछि व्यवसायीहरु पलायनको बाटो रोज्न बाध्य भएको बताए । कार्यक्रममा एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इन्ड्रष्टिज भारतका सहमहामन्त्री एलपी पाण्डेले संघले स्थापना कालको छोटो समयमानै संस्थाले उदाहरणीय कार्यहरु गर्दै संस्थालाई चिनाउन सफल भएको भन्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।
संघका महासचिव बासुदेव खनालको सञ्चालनमा सम्पन्न समिक्षा कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष हुमनाथ पौडेल, संघका पदाधिकारी, व्यवसायीहरु, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।