बुटवल । बुटवलको नेपालगञ्ज रोडमा रहेको एक घरलाई लक्षित गरेर बुटवल उपमहानगरपालिकाले डोजर चलाएर भत्काउने योजना आइतबार असफल भएको छ ।
उपमहानगरपालिकाले पूर्वाग्राही ढंगले दर्पण होटल रहेको हरि कार्कीको घरलाई भत्काउने योजना तत्काललाई रोकिएको हो । सोही घरसँग जोडिएका अन्य घरहरुलाई केही नगरी एउटा घरलाई मात्र लक्षित गरेर भत्काउन खोज्नु राजनीतिक पूर्वाग्रह रहेको नेपाल एमालेका क्षेत्रीय इन्चार्ज बाबुराम पन्थीले बताए ।
‘यो सडक संघीय सरकार मातहतको हो’ पन्थीले भने, ‘त्यो खण्डका अरु घरहरु पनि मापदण्ड बिपरीत छन भने सबैलाई भत्काउन हामीले पनि साथ दिन्छौं । बीचमा रहेको एउटा घरलाई मात्र भत्काउने योजना सफल हुन दिदैनौं ।’ नेता पन्थी सहितका घर भत्काउन रोकेपछि डोजर सहित आएका जनप्रतिनिधि फर्किएका थिए ।
पन्थीले नगरपालिकाले नापी टोलीसँग समन्वय गरी सबैलाई न्याय हुने गरी काम गर्न आग्रह गरे । नियमसंगत रुपमा घरहरु खाली गर्दै सडकको मापदण्ड कायम गर्न सबैको साथ रहने पन्थीको भनाइ छ ।