आठ हजार बढीले अवलोकन गरे ‘लेक एक्स्पो’

मेचीकाली संवाददाता

२३ पुष २०८०, सोमबार
248 shares

बुटवल । तिलोत्तमा भलवारीस्थित लुम्बिनी इन्जिनियरिङ्ग, म्यानेजमेन्ट एण्ड साइन्स कलेज (लेक) मा सञ्चालित ‘एक्स्पो’ ८ हजारभन्दा बढीले अवलोकन गरेका छन् । विद्यार्थीहरुले निर्माण गरेका विभिन्न ५० वटा उत्कृष्ट प्रोजेक्टहरुको प्रदर्शनीमा राखिएका थिए । कलेजमा डाइरेक्टर तुलसीप्रसाद सापकोटाले दुई दिनसम्म चलेको ‘लेक एक्स्पो’मा विभिन्न क्षेत्रका ८ हजार ५०० जनाले अवलोकन गरी ज्ञान हासिल गरेको बताए ।
‘कलेज, स्कूल, प्राविधिक शिक्षालय गरी २४ वटा विद्यालयका विद्यालय, अभिभावक, जनप्रतिनिधिहरुले अवलोकन गर्नुभयो’ सापकोटाले भने, ‘सबैले उत्साहजनक रुपमा रुचिका साथ अवलोकन गरेर ज्ञान लिनुभयो ।’ कलेजले हरेक दुई÷दुई वर्षमा यस्ता प्रोजक्टहरु प्रदर्शन गर्दै आइरहेको छ । एक्स्पो गर्न कलेजको १५ लाख रुपैयाँ खर्च भएको लेखा प्रमुख भीष्म ज्ञवालीले जानकारी दिए ।

सिभिल, कम्प्युटर र इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिकतर्फका विद्यार्थीहरुले ५० वटा प्रोजेक्ट प्रदर्शन गरेका कलेजका सदस्यसचिव डा.केएन पाण्डेयले जानकारी गराए । विद्यार्थीले विभिन्न क्षेत्रको अनुसन्धान गरी तयार पारेका प्रोजेक्टहरु व्यवहारिक रुपमा प्रयोग गर्न सकिने छन् । कलेजमा अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धिसहित व्यक्तित्व विकास गर्ने र देशमा नयाँ प्रविधि भित्राउने उद्देश्यले लेक एक्स्पो आयोजना गरिएको हो ।

एक्सोपोमा सिभिल विभागतर्फका २४, कम्प्युटर विभागतर्फका १४ र इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक विभागतर्फबाट १२ वटा प्रोजेक्ट राखिनेका थिए । विद्यार्थीले बनाएका प्रोजेक्टहरु घर, उद्योग तथा विद्यालय, सडक, कृषि लगायतका क्षेत्रमा प्रयोग गर्न सकिन्छ । डिप्लोमादेखि मास्टर डिग्रीसम्म पूर्णतः इन्जिनियरिङ्ग पढाइ हुने कलेजमा हाल डिप्लोमा १४९, व्याचलरमा ६७५ र मास्टर डिग्रीमा ६० जना गरी जम्मा ८८४ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।