बगनासकालीको १५औं अधिवेशन सम्पन्न

मेचीकाली संवाददाता

२४ पुष २०८०, मंगलवार
240 shares


नेत्र गैरे

बगनासकाली गाउँपालिका १५औ गाउँसभाको अधिवेशन तथा हिउँदे विधेयक अधिवेशन सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले अधिवेशनको आव्हान गरेको पत्र सभामा सुनाएर अधिवेशनको सुरु गरिएको थियो । गाउँसभामा विषयगत समितिका संयोजकहरु विधेयक समितिका संयोजक उमकला अर्याल, न्यायिक समिति तथा राजस्व परामर्श समितिका संयोजक हरि प्रसाद पाठक, लेखा संयोजक कसष्ण प्रसाद बस्याल, आर्थिक बिकास संयोजक खुमादेवी भट्टराई, सामाजिक बिकास समिति संयोजक गीता रेग्मी, पूर्वाधार बिकास समिति संयोजक तेज प्रसाद रसाली, वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक बोमलाल सुनार, सुशासन तथा क्षमता बिकास समिति संयोजक बसन्ती थापाले चालु आ.ब.को अर्धबार्षिक प्रगति प्रस्तुत गरेकोमा छलफल सहित सर्वसम्मत पारित गरिएको थियो ।


यस्तै गाउँसभामा बार्षिक बजेट तथा कार्यक्रम सम्बन्धी रकमान्तर र अर्थ सम्बन्धी संशोधन प्रस्ताव बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा उपाध्यक्ष हरि प्रसाद पाठकबाट साथै बन सम्बन्धी विधेयक २०८० र खानेपानी तथा सरसफाई र स्वच्छता व्यवस्थापन सम्बन्धी विधेयक २०८० निर्णयार्थ प्रस्तुत गरिएकोमा सभाले सर्वसम्मत पारित गरेको थियो ।
चालु आ.ब. को हाल सम्म रु ५६ लाख ,८१ हजार , ५६ रुपैया आन्तरिक आय संकलन भएको समितिका संयोजक हरिप्रसाद पाठकले जानकारी गराएका थिए । यसै गरि ७ करोड , ९६ लाख ,७७ लाख वेरुजु रहेको देखियकोले हुदा समपरीक्षण वाट कमहुन सक्ने जानकारी समितिका संयोजक कृष्ण प्रसाद बस्यालले बताए ।


१२ वटा विभिन्न समितिका संयोजकहरुले सभामा पेस गरेको प्रतिबेदन ,समितिले काम गर्दा आइ परेका सफलता ,समस्या आगामी कार्यक्रम का बारेमा प्रस्तुत गरिएको थियोे । प्रश्नोत्तर कार्यक्रम मा बोल्दै सभा सदस्य कृष्ण प्रसाद भुसालले बेरुजु बढ्नु राम्रो संकेत नभएको , बिधालयमा बिद्यार्थी भन्दा शिक्षक धेरै , कर्मचारी लाई सहि परिचालन गर्न नसकिय परिणाम नआउने साथै कार्यक्रम प्रतिफलमा आधारित हुनुपर्ने सुझाव दिएका थिए । अर्का सभा सदस्य यमलाल तिमिल्सिनाले पालिकाले गरेका गतिविधि हरु जन स्तर सम्म लैजानु पर्ने ,कर्मचारी व्यवस्थापन गर्नुपर्ने , योजना अनुगमन गर्दा प्रतिपक्ष लाई समेत समावेश गर्नुपर्ने ,मोटर बाटो को वर्गीकरण ,मापदण्ड मा ध्यानदिन आग्रह गरे । यस्तै सभाका सदस्य युबराज श्रेष्ठले गाउँपालिका भित्र उत्पादित बस्तुको बिक्रिमा निकासी करको व्यवस्था हुनुपर्ने बताए ।


सभा उठेका प्रश्नहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष सरस्वती चिदीले नितिगत र पूर्व गाउँ बिकास समितिको समयबाट सर्दै आएको बेरुजु रहेकाले त्यसको समपरीक्षण गरि क्रमशः मिलान गर्ने काम भैरहेको बताईन । त्यस्तै गाउँपालिका भित्रका जग्गाहरुको व्यवस्थापनको लागि भू वर्गिकरणको काम सुरु गरिएको बताईन ।


प्रमुख प्रशासकिय अधिकृत बद्रीनाथ लम्सालको सन्चालन र पालिका अध्यक्ष सरस्वती चिदीको अध्यक्षतामा सभा भएको थियो । यसै अवसरमा बगनासकाली २ छतिवन निवासी समाजसेवी पदम रानालाई गाउँपालिकाबाट सम्मान समेत गरिएको थियो ।