सिनर्जी बहुउद्देश्यीय सहकारीको वार्षिक साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२४ पुष २०८०, मंगलवार
375 shares

पार्वती आचार्य
कपिलवस्तु । सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो केन्द्रिय वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । साधारणसभालाई सम्बोधन गर्दै प्रदेश सांसद बिष्णु पन्थीले बहुउद्देश्यीय सहकारीहरुले अब बचत तथा ऋणकोमात्र कारोवार होइन, उत्पादनलाई जोड दिन आवश्यक रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि सांसद पन्थीले बहुउद्देश्यीय सहकारीले अब उत्पादनमा जोड दिई शेयर सदस्यहरुको आर्थिक स्तर उकास्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश सांसद गिरधारीलाल न्यौपानेले सहकारीले स्थानीयस्तरका समुदायकोे आर्थिकस्तर उकास्नका लागि अहम भूमिका खेलेको बताए । बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले नगरपालिकाको आर्थिक विकासका निम्ति सहकारीहरुको अहम भूमिका रहेको भन्दै नगरपालिकाले अनुगमन र नियमन गरिरहेको बताए । उनले नगरपालिकाका सहकारीहरुमा आर्थिक हिनामिना नभएको र सबै सहकारी स्थानीय सरकार मातहत नै सञ्चालन भइरहेको बताए ।

यस्तै बाणगंगा नगरपालिकाका उपप्रमुख रीताकुमारी चौधरीले यस सहकारीका सञ्चालक समिति, केन्द्रिय कार्यालय यसै स्थानमा रहेकाले अन्य सहकारी जस्तो आर्थिक अनियमितता नहुने भएकाले शेयर सदस्यहरु ढुक्क हुन आग्रह गरिन् । राष्ट्रिय सहकारी बैंक बुटवलका प्रमुख नारायणद बेल्बासेले सहकारीको स्थापना, विकास, नेपालका सहकारीको अवस्था, सहकारीको महत्व तथा सहकारीका उत्कृष्ट कार्यहरुको बारेमा प्रशिक्षण दिएका थिए । त्यस्तै राष्ट्रिय सहकारी विकास बोर्डका कार्यकारी सदस्य सन्दिप सापकोटाले सिनर्जी सहकारी आफैँमा सक्षम सहकारी रहेको बताउँदै सफलताको शुभकामना दिए ।

पुस २१ गते विभिन्न स्थानमा सम्पन्न साधारणसभामा संस्थाका सचिव कृष्णप्रसाद न्यौपानेले तयार पारेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष चिरञ्जिवी पन्थले तयार पारेको आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक डिबी रेश्मीले तयार पारेको वार्षिक लेखा प्रतिवेदन लगायत सम्पुर्ण प्रतिवेदन केन्द्रिय साधारणसभामार्फत पारित गरिएको छ ।
सहकारीको आर्थिक वर्ष २०७९÷०८० मा ९२ करोड ६४ लाख, ७० हजार ७ सय ५५ रुपैयाँ ८० पैसा बराबरको कुल दायित्व तथा पुँजी प्रस्तुत गरिएको छ । यसैगरी आर्थिक बर्ष २०७९÷०८० मा सहकारीको शुद्ध मुनाफा ३ करोड ७४ लाख १८ हजार ६ सय ४६ रुपैयाँ ९६ पैसा रहेको छ ।

सहकारीका अध्यक्ष लक्ष्मण बेल्बासेले वर्तमान परिवेशलाई समेत ध्यानमा राख्दै सहकारीहरुलाई उत्पादन र सदस्यमुखी भई कार्यसम्पादन गर्नु सदस्यहरुको दोहोरोपनलाई अन्त्य गरि व्यवस्थापकीय जटिलता र लागतलाई मितव्ययी बनाउन, पुँजीलाई उपलब्धिमूलक रुपमा परिचालन गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएको बताए । सहकारीका सदस्यहरुको उत्पादनलाई प्रवद्र्धन गरी बजारीकरण गर्ने, आवश्यक स्रोत कर्जा लगानी गर्ने र स्वरोजगार निर्माणमा योगदान गर्ने, सहकारीको माध्यमबाट समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा योगदान पु¥याउने र समृद्धि हासिल गर्नेलगायतको सहकारीको आगामी लक्ष्य रहेको अध्यक्ष बेल्बासेले बताए ।

त्यस्तै आगामी आर्थिक वर्षमा निक्षेपमा ९ करोड थप गरी ५७ करोड पु¥याउने, स्थानीय तहसँगको साझेदारीमा कोशेली घर निर्माण, सहकारीको आफ्नै जग्गामा सहकारी कोलेनी मोडेल घर निर्माणको प्रयत्न गर्ने, ४ नं. मुख्य कार्यालयमा सहकारी बजार सञ्चालन, ३ हजार ५ सय शेयर सदस्य थप गरी करिव १५ हजार शेयर सदस्य पु¥याउने, शिक्षा शिविरलाई अभियानकै रुपमा सञ्चालन, सदस्य राहत कोष र सदस्य दुर्घटना बिमा एवम् कर्जा बिमालाई प्रभावकारी कार्यान्वयन, सहकारी बजारतर्फ प्रत्यक्ष ग्राहकलाई मुनाफाको २० प्रतिशत बोनससहित उत्कृष्ट ग्राहकहरुलाई सम्मान तथा पुरस्कृत गर्ने जस्ता मुख्य कार्यक्रम गरिने सहकारीका लक्ष्य रहेका छन् ।

साधारण सभामा ज्येष्ठ सदस्य, असल बचतकर्ता, असल ऋणी, विद्यार्थी लगायतलाई सम्मानसमेत गरिएको छ । सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जितपुर, बनगाई, बोडगाउँ, ओदारी, प्रगतिनगर, भलवाड र वैदौली कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ । कार्यक्रम सहकारीका उपाध्यक्ष कुलराज पौडेलको स्वागत तथा सचिव कृष्णप्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।