जस्ता पाता र चेन्जिङ जाली वितरण

मेचीकाली संवाददाता

९ माघ २०८०, मंगलवार
366 shares

पार्वती आचार्य

कपिलवस्तु । गोरखाको गण्डकी गाउँपालिकाको आयोजना र तारा नमस्ते फाउण्डेशन काठमाडौंको सहयोगमा गण्डकी गाउँपालिका वडा नं ७ र ६ का चेपाङ समुदायका लागि जस्ता पाता र चेन्जिङ जाली वितरण गरिएको छ । व्यवसायिक बाख्रा पालन, व्यवस्थित खोर निमार्णको लागि खरेटार, सल्लेरी, कौदी र लामिडाँडा गरी ४ वटा मूल समूहका ५८ चेपाङ परिवारलाई जस्ता पाता र चेन्जिङ जाली वितरण गरिएको हो ।

खोर निमार्ण कार्य सम्पन्नपश्चात माघको अन्तिम हप्तामा खरी जातका स्थानीय बाख्रा र प्रजननका लागि उन्नत जातको बिउ बोकासमेत प्रदान गरिने संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठले बताए । यस परियोजनाअन्तर्गत मूल समूहका सदस्यहरुलाई वितरण गरिएको बाख्राले पाएको पाठी १०० दिन पूरा भएपछि उपहार समूहलाई हस्तान्तरण गरिने छ ।

यसले चेपाङ समुदायमा आफूले प्राप्त गरेको उपहारबाट आफ्नो जीवनस्तरमा गुणात्मक सुधार ल्याई वास्तविक आवश्यकता भएको अर्को व्यक्ति, परिवार तथा समूहहरूलाई उपहार प्रदान गर्दै जाने छ । परियोजनाको स्थापित मान्यताले गर्दा नै कार्यक्रमको प्रभावकारिता बढ्दै जाने र व्यक्ति तथा समुदायमा अपनत्वको भावना विकास हुने बारे तारा नमस्ते फाउण्डेशका कोषाध्यक्ष तथा कार्यक्रम फोकल पर्सन निली शाहले जानकारी दिइन् ।

कार्यक्रमा यस परियोजनालाई सफल बनाउनका लागि वडा कार्यालयबाट आवश्यक सहयोग गर्न वडा कार्यालय तत्पर रहेको र बाख्रापालनका लागि आवश्यक तालिम, खोप र नियमित अनुगमन वडाका पशु विकास प्राविधिकबाट निरन्तर रहने वडा अध्यक्ष तुलसी रेग्मीले जानकारी दिए ।

गाउँपालिकाले गर्नुपर्ने काम यस तारा नमस्ते फाउण्डेशनले गरेकोमा गाउँपालिकाको तर्फबाट आभार प्रकट गर्दै कार्यक्रमलाई आवश्यक सहयोग गर्न र आगामी समयमा पनि समन्वय गरी चेपाङ समुदायको दिगो विकासका लागि आवश्यकताअनुसार संस्थासँग सहकार्य गरी पालिका अगाडि बढ्न तयार रहेको गाउँपालिका अध्यक्ष दिपक तिमल्सिनाले बताए ।

जस्ता पाता र चेन्जिङ जाली पाएपछि समुदायले व्यवसायलाई निरन्तरता दिन सकिने र जंगली जनावरबाट पनि सुरक्षित भई बाख्राको खोर अझ मजबुद हुने लामिडाडा बाख्रापालन मूल समितीकी संयोजक अस्मिता चेपाङले बताइन् ।