आठौं वालिङ महोत्सव सुरु

मेचीकाली संवाददाता

१९ माघ २०८०, शुक्रबार
336 shares

मुक्ति न्यौपाने
वालिङ । स्याङ्जाको वालिङमा विहिवारदेखि आठौं वालिङ महोत्सव सुरु भएको छ । वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाको आयोजनामा सुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।
सोही हवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार जनताको आयआर्जन संग जोडिने गरी ग्रामीण क्षेत्रमा कृषिका कार्यक्रमहरु सञ्चालन गर्न स्थानीय तहसंग सहकार्य गरेर गाउँगाउँमा जनताहरुलाई स्वरोजगार बनाउन चाहेको बताए ।

गण्डकी प्रदेशलाई पाँच वर्षमा आत्मनिर्भर बनाउने बताउदै मुख्यमन्त्री पाण्डेले प्रदेशलाई दूध, मासु, तरकारी तथा फलफूलमध्ये कुनै एक क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताए । प्रदेश सरकारले पञ्चवर्षीय योजना बनाएर काम अगाडी बढाएको समेत मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा प्राथमिकता र आवश्यकताका आधारमा योजनाहरु अगाडी बढाएको उनको भनाइ थियो । वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले यहाँका उत्पादनहरुको प्रचार प्रसार, प्रवद्र्धन तथा बजारीकरणका लागि महत्वपूण भूमिका खेल्ने विश्वास समेत मुख्यमन्त्री पाण्डेले ब्यक्त गरे ।

कार्यक्रममा पूर्व उद्योग मन्त्री एवं नेकपा एमालेका नेता महेश बस्नेतले चेतनाको कमीका कारण नेपालको राजस्वमा वृद्धि हुन नसकेको बताए । बस्नेतले कर तिर्नुपर्छ भन्ने चेतनाको विकास नहुँदा र नियमनकारी निकाय फितलो हुँदा कर छलि भईरहेको भन्दै यसले देशको अर्थतन्त्र समेत कमजोर बन्दै गएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति अर्याल तिवारीले मेला तथा महोत्सवमा परम्परागत उत्पादनका लागि प्रयोग गरिने यन्त्रको प्रर्दशनी समेत गरिनुपर्ने भन्दै ग्रामिण भेगमा उत्पादन भएका वस्तुहरुलाई प्रर्दशनीमा जोड दिनुपर्ने बताइन् ।

कार्यक्रममा गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति भोजराज अर्याल, सार्वजानिक लेखा समितिका सभापति सुधिरकुमार पौडेल, प्रदेश सांसद कल्पना तिवारी, वालिङ नगरप्रमखु कृष्ण खांण, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य युवराजराज भण्डारीलगायतले आआफ्नो भनाई राखेका थिए ।

कार्यक्रम उद्घाटन पूर्व विभिन्न आमा समुह, टोल समुह,जातिय तथा धार्मिक संघसंगठनहरुले आ–आफ्ना भेषभुषा र झाँकी सहितको ¥र्यालीले वालिङ बजार परिक्रममा गरी कार्यक्रम स्थलमा प्रवेश गरेको थियो ।
कार्यक्रम वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुलआयोज समितिका संयोजक चेतनारायण श्रेष्ठको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारीको स्वागत तथा महासचिव रमेश अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

बिहीबारबाट सुरु भएको महोत्सव माघ २८ गतेसम्म सञ्चालन हुने छ । महोत्सव तीन लाख दर्शकले अवलोकन गर्ने र करीव दश करोडको आर्थिक कारोबार हुने लक्ष्य रहेको आयोजकले जनाएको छ ।