पार्वती आचार्य
कपिलवस्तु । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ बाणगङ्गामा छैठौं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । माघ २३ गते देखि ४ नम्बर स्थित बुद्ध रङ्गशालामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले पछिल्लो समय नेपालले खेलकुद क्षेत्रमा उल्लेखनीय विकास गर्दै आएको भन्दै यसले राष्ट्रलाई विश्व माझ चिनाउन महत्वपूर्ण सहयोग गर्ने बताए । खेलकुदको विकासले राम्रो आर्थिक आम्दानी समेत गर्न सकिने भएकाले बाणगङ्गाका विद्यालयले खेल क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
त्यस्तै जिल्ला शिक्षा बिकास समन्वय ईकाई प्रमुख थानेश्वर घिमिरेले शारीरिक, मानसिक लगायत सर्वाङ्गीण क्षेत्रको विकासको लागि खेलकुद महत्वपूर्ण हुने भएकाले विद्यालय बाटै यसको सुरुवात गर्नुपर्ने बताए । जिल्लालाई खेलकुदको क्षेत्रमा अगाडि बढाउन यस्ता खेलले निक्कै महत्वपूर्ण सहयोग गर्ने बताए ।
त्यस्तै कार्यक्रमका बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बाणगङ्गालाई खेलको क्षेत्रमा जिल्लामै उत्कृष्ट बनाउने बताए । खेलबाट व्यक्तित्व विकास देखि देशलाई विश्व माझ चिनाउन खेलकुद क्षेत्र निक्कै महत्त्वपूर्ण रहेकोले यसलाई शिक्षा सँग जोड्न नगरपालिकाले कार्यक्रमको आयोजना गरेको बताए ।
यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बाणगङ्गा नगर भित्रका हरेक विद्यालयमा कयौँ क्षमतावान विद्यार्थी खेलाडी रहेको र तिनिहरुलाई बाहिर ल्याउन प्रतियोगिताले महत्वपूर्ण सहयोग गर्ने बताए ।
२५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, फुटबल, क्रिकेट, कबड्डी, विभिन्न मिटरका दौड, लगायतको खेल समावेश गरिएको नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले बताए । प्रतियोगितामा नगर भित्रका ३४ विद्यालयहरूको सहभागिता रहेको जिसीले बताए ।
शिक्षा शाखा प्रमुख जि.सी. को सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा वडाका वडा अध्यक्ष, नगर खेलकुद विकासका पदाधिकारी, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।