बुटवल । नयाँगाउँ माविले स्थापनाको ६१ औ वार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार मनाएको छ । विद्यालयमा एक विशेष कार्यक्रम आयोजना गरी बार्षिक उत्सव मनाएको हो । समारोहलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सामुदायिक विद्यालयमा नयाँगाउँ माविले बुटवल उपमहानगरपालिकाको शिक्षामा महत्वपुर्ण भुमिका खेलेको बताए ।
शिक्षा क्षेत्रको सुधारका लागि नगरपालिकाले योजनाबद्ध बिकासको सुरुवात गरेको जानकारी दिदै उनले शिक्षामा नगरपालिकाले महत्वपूर्ण योजनाहरु अघि सारेको जानकारी गराए । विद्यालयको भौतिक पुर्वधार निर्माणका लागि नगरपालिकाबाट कुनै पनि कमी नहुने भन्दै मेयर पाण्डेयले यसको लागि सहकार्य गरेर शिक्षा क्षेत्रमा विकास गर्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा बोल्दै बुटव उपमहानगरपालिकाका उप प्रमुख सावित्रादेवी अर्यालले प्राविधिक शिक्षा अबको आवश्यकता भन्दै जोड दिइन । कार्यक्रम विद्यालयका प्रधानाध्यापक पुरूषोत्तम भट्टराईले विद्यालयको विगतको अवस्था, वर्तमानका क्रियाकलाप र भावी योजनाको कार्यक्रम बारेमा प्रकाश पारेका थिए । उनले अझै पनि विद्यालयमा भौतिक पुर्वाधार अभाव रहेको भन्दै यसको लागि संघ, प्रदेश र स्थानीय तहको सरकारसंग सहयोगको अपेक्षा राखिएको बताएका थिए ।
कार्यक्रम मा बोल्दै लुम्बिनी बौद्व बिश्वविद्यालयका रजिस्ट्रार डा. तिलकाराम आचार्यले अवको शिक्षा बौद्व शिक्षामा जोड दिनुपर्ने बताए । कार्यक्रममा पुर्व योजना का पुर्व सदस्य दामोदर भुषाल, बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष डिल्ली प्रसाद शर्मा, बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, बुटवल सिटी क्याम्पसका प्रमुख फणीन्द्र न्यौपाने, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख रमाकान्त तिवारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बस्यालले पश्चिम बुटवलको नमुना विद्यालयको रुपमा नयाँ गाउँ मावि स्थापना गर्ने अभियान जारी रहेको बताए । कार्यक्रममा विद्यालयमा अक्षयकोष स्थापना गर्ने अक्षयकोषदाता, सहयोगी निकायलाई सम्मन गरिएको थियो । कार्यक्रममा शिक्षा तथा खेलकुदका विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक रामप्रसाद बञ्जाडेले गरेका थिए ।