कारागारमा चिकित्सक नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या

मेचीकाली संवाददाता

१ चैत्र २०८०, बिहीबार
170 shares

पार्वती आचार्य

कपिलवस्तु । ‘ख’ श्रेणीको जिल्ला कारागारमा चिकित्सक नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा कठिनाई भएको छ । कारागारको क्षमता ३ सय ५२ जनाको रहे तापनि हाल ५ सय १८ जना कैदीबन्दी राख्न कारागार कार्यालय बाध्य भएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दीलाई राख्दा उनीहरूलाई शौचालय, शुद्ध पिउने पानी र बस्नको लागि समस्या भएको छ । कारागारबाट ०८० मङ्सिर २० गते सिनियर अहेव बढुवा भएर गए पश्चात कैदीबन्दीहरू बिरामी हुँदा धेरै समस्या हुँदै आएको छ ।

स्वास्थ्यकर्मी हुँदा बिरामीहरूको स्वास्थ्य जाँच भित्रै हुन्थ्यो, बढी समस्या देखिएका बिरामीहरूलाई जिल्ला अस्पतालमा लगिन्थ्यो तर अहिले सामान्य बिरामी देखिए पनि अस्पताल पु¥याउनु परेको कारागार कार्यालयका प्रमुख रेमलाल न्यौपानेले मेचिकालीकर्मीलाई जानकारी दिए ।

५ सय १८ जना कैदीबन्दीहरूलाई कारागारको दुई ओटा ब्लकमा राखिएको छ । ब्लक १ मा २ सय ८६ जना छन् जसमा १ सय ४५ कैद तोकिएका र १ सय ४१ जना थुनुवा छन् । यसैगरी ब्लक २ मा २ सय ३२ जना छन् जसमा १ सय २२ कैद तोकिएका छन् भने १ सय १० जना थुनुवा रहेको कारागार कार्यालयका प्रमुख न्यौपानेले बताए । जटिल रोग मध्ये एक जना मृगिका बिरामी र एक जना एचआईभी सङ्क्रमितको बिरामी छन् भने नशा सम्बन्धि र मानसिक रोगका नियमित औषधी सेवन गर्ने २६ जना बिरामी छन् । आकस्मित बिरामी हुने दैनिक पाँचदेखि सात जनालाई कपिलवस्तु जिल्ला अस्पतालमा उपचारको लागि दैनिक लैजाने गरेको प्रमुख न्यौपानेले उल्लेख गरे ।

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा एक जना मात्र स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्नेदेखि औषधि दिने र परामर्श समेत एक्लैले गर्नु पर्दा कार्यालयमा स्वास्थ्यकर्मी लामो समयसम्म बस्न नसकेको हुन सक्ने कारागार प्रशासनले जनाएको छ ।

कारागारमा ६५ वर्ष नाघेका कैद तोकिएका १७ जना ज्येष्ठ नागरिक रहेका छन् । समयमा मुद्दाको छिनोफानो नभएर दुई वर्षभन्दा बढी समयसम्म कारागारमा बस्न बाध्य भएका नौ जना छन् ।

दिर्घरोगका कैदी तथा बन्दीहरूलाई उपचार, गम्भीर खालका रोग लागेका कैदीबन्दीलाई प्र्रशासनको सिफारिसमा पाल्पा तथा कारागार कार्यालय जगन्नाथ देवल तथा कारागार कार्यालय नख्खुमा स्थानान्तरण गरी उपचारका लागि पठाउने गरिएको छ ।

कैदी बन्दीहरूलाई आफन्तहरूसँग हप्ताको दुई दिन भेटघाटको व्यवस्था छ । जिल्ला बाहिरकालाई अन्य बारहरूमा पनि भेट गर्ने वातावरण मिलाइएको प्रमुख न्यौपानेले जानकारी दिए ।

कैदी र थुनुवाको समस्याहरूलाई सङ्कलन गर्ने चौकिदार, नाइके र सब नाइकेलाई कारागार ऐन २०७९, कारागार नियमावली २०२० तथा कारागार व्यवस्थापन कार्य विधि २०७३ अनुसार थप अतिरिक्त सुविधाहरू दिइएको प्रमुख न्यौपानेले बताए ।