पहल नेपालद्वारा सीमान्तकृत समुदायका किशोरीलाई नेतृत्व विकास तालिम सुरु

मेचीकाली संवाददाता

१० चैत्र २०८०, शनिबार
334 shares

अर्घाखाँची । पहल नेपालको आयोजनमा सन्धिखर्कमा तीनदिने नेतृत्व विकास तालिम शनिबारबाट सुरु भएको छ । जिल्लाको पाणिनी गाउँपालिका, सन्धिखर्क र शीतगंगा नगरपालिकाकाका सीमान्तकृत समुदायका १६ देखि २५ वर्ष समूहका १५ जना किशोरीहरुलाई शिक्षामा बहस र पैरवी गर्न उनीहरुको क्षमता विकासको लागि यो तालिम आयोजना गरीएको हो ।

तालिमको उद्घाटन गर्दै, सन्धिखर्क नगरपालिका नगर उपप्रमुख मिश्रा आचार्यले किशोरकिशोरीहरुको क्षमता विकासका लागि यस्ता तालिम आवश्यक रहेको बताइन् । पहल नेपालले सीमान्तकृत समुदायका बालिकाहरुको गुणस्तरीय शिक्षाको लागि काम गर्न सुरुवात गरेकोमा खुसी व्यक्त गरिन् । यो परियोजना सफल बनाउन सन्धिखर्क नगरपालिका साझेदारी र सहकार्यको लागि तयार रहेको उनले बताइन् ।

शिक्षा विकास समन्वय इकाइ अर्घाखाँचीका कार्यालय प्रमुख मणिराम पराजुलीले संघीयताको मर्मअनुसार शिक्षा र स्वास्थ्यमा जसरी काम हुनुपर्ने हो, सो नभएको भन्दै बास्तवमा राज्यले गर्नुपर्ने कामहरु पहल नेपालको यो परियोजनाले गर्न लागेकोमा धन्यवाद दिए । कार्यालयको तर्फबाट आबश्यक सहयोग गर्न तयार रहेको भन्दै संघीयतापछि स्थानीय तहले शिक्षासम्बन्धी नीतिहरु बनाउन नसकोका कारण शिक्षासम्बन्धी प्रयाप्त काम हुन नसकेको बताए ।

कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरुले शिक्षा सुधारको लागि यो कार्यक्रम अर्घाखाँची जिल्लाम कोसेढुंगा सवित हुने विश्वास व्यक्त गर्दै सहयोगको लागि प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा सन्धिखर्क नगरपालिका–१० का वडा अध्यक्ष मोहनसिह ठकुरी, वडा सदस्य, हरी लाल पराजुली, दलित महिला संघका अध्यक्ष मिना भुसाल नेपालीलगायतको सहभागिता रहको थियो ।

युएसआइडी/सिएसएमको आर्थिक सहयोग, द एसिया फाउण्डेसन र पहल नेपाल अर्घाखाँचीको साझेदारीमा अर्घाखाँचीका तीन वटा स्थानीय तहमा सञ्चालन भएको USAID/CSM–Girls for Girls community engagement for Education परियोजना अन्तर्गत चैत १० गतेदेखि १२ गतेसम्म आवासीय तालिम सञ्चालन गर्ने र उनीहरुलाई निरन्तर सीमान्तकृत समुदायका बालिकाहरुको शिक्षामा वहस पैरवी गराउनको लागि तालिमको आयोजना गरिएको आयोजक संस्था पहल नेपालका कुलबहादुर नेपालीले जानकारी दिए ।

परियोजनाले एक वर्षको अविधीमा सीमान्तकृत समुदायका बालिकाहरुको गुणस्तरीय शिक्षाको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने पहल नेपालका परियोजना संयोजक खेमराज मरासीनी जानकारी दिए । कार्यक्रम कुलबहादुर नेपालीको अध्यक्षता तथा परियोजना संयोजक खेमराज मरासेनीको सञ्चालनमा सम्पन्न भएको थियो ।