गुल्मीबाट एक अर्बका खसी–बोका र ४० करोड बढीको कृषि उपज निर्यात

मेचीकाली संवाददाता

३१ बैशाख २०८१, सोमबार
298 shares

टोपलाल अर्याल

गुल्मी। गुल्मीबाट ४० करोड बढीको मुख्य कृषि उपज र झण्डै एक अर्ब बराबरको खसीबोका निर्यात हुने गरेको पाइएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार आर्थिक वर्ष ०८०/०८१ को १० महिनामा ९१ करोड ७८ लाख ३२ हजार मूल्य बराबरको तरकारी उत्पादन भएको छ । जसमा ४० करोड ६७ लाख १० हजार मूल्य बराबरको कृषि उपज जिल्ला बाहिर निर्यात भएको केन्द्रले जनाएको छ ।

जिल्लामा तरकारी, सुन्तला, कफी, मह, किवी, मसिनो चामल, आलु, उखु, कोदो र अन्य रैथानी बाली गरेर ३१ हजार तीन सय ५७ मेट्रिक टन उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिए । सबैभन्दा धेरै तरकारी उत्पादन र निर्यात हुने गरेको छ । तरकारी १४ हजार पाँच सय मेट्रिक टन उत्पादन हुँदा तरकारीको कुल उपज मूल्य ३४ करोेड ४० लाख र १९ करोड ४३ लाख बराबरको तरकारी जिल्ला बारिह निर्यात हुने गरेको भण्डारीले बताए । तरकारीको लागि छत्रकोट, सत्यवति र रुरु क्षेत्र गाउँपालिका राम्रो छन् ।

त्यस्तै सुन्तला पनि जिल्लामा राम्रो उत्पादन देखिएको छ । भण्डारीका अनुसार जिल्लाबाट १२ करोड ८४ लाख बराबरको सुन्तला निर्यात भएको पाइएको छ । यो वर्ष छ हजार पाँच सय ७२ मेट्रिक टन अर्थात् ३२ करोड २७ लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । सुन्तलाको लागि रेसुंगा, धुर्कोट र छत्रकोट अब्बल छन् । कफीको जजनी गुल्मीबाट अहिले ३१ मेट्रिक टन अर्थात् तीन करोड ४१ लाख मूल्य बराबरको कफी उत्पादन भएको छ ।

जिल्ला बाहिर एक करोड २० लाख मूल्य बराबरको कफी निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको रुरुक्षेत्र र छत्रकोट उँखुको राम्रो सम्भावना भएका पालिका हुन् भने मालिकाका आलुको प्रचुर संभावना रहेको छ । जिल्लाबाट उँखु पाँच सय ८९ र आलु आठ हजार एक सय मेट्रिक टन उत्पादन भएका छन् । किवी र मह तथा कोदो लगायतका रैथाने बालीको पनि राम्रो संभावना रहेको छ ।

वार्षिक रुपमा एक लाख २० हजार खसीबोका बिक्री
गुल्मीमा पशुपालनको राम्रो सम्भावना दिएको छ । व्यावसायीक पशुपालन गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । छोटो समयमै धेरै आम्दानी हुने भएकाले गोठदेखि व्यावसायीक फर्महरुमा बाख्रा पालन गर्ने गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका अनुसार जिल्लामा खसीबोका बिक्रीबाट जिल्लामा वार्षिक दुई अर्ब ५५ करोडभन्दा बढी आम्दानी हुने गरेको छ ।

बिज्ञ केन्द्रका प्रमुख हुमकान्त पाण्डेयले वार्षिक ९८ करोड मूल्य बराबरको खसीबोका जिल्ला बाहिर निर्यात हुने गरेको बताए । जिल्लाको रुरुक्षेत्र, सत्यवती, मदाने र धुर्कोट गाउँपालिकामा सबैभन्दा बढी बाख्रा पालन हुने गरेको छ । जिल्लाबाट करिब पाँच हजार बिउ बोकाहरु जिल्ला बाहिर निर्यात हुँदै आएका छन् । समग्र स्थानीय तहको तथ्यांकअनुसार जिल्लामा वार्षिक रुपमा एक लाख २० हजार खसीबोकाहरु बिक्री हुँदै आएको पाण्डेयले बताए ।

अहिले जिल्लामा वार्षिक एक हजार एक सय ६३ मेट्रिकटन मासु उत्पादन हुने गर्दछ । गुल्मीमा जमुनापारी क्रस र बोयर क्रस जातका बाख्राहरु उत्पादन गरिँदै आएको छ । गत आर्थिक वर्षमा कार्यालयमा दर्ता भएका चार सय १६ बाख्रा फर्महरु रहेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले बाख्रा पालनका लागि किसान र तिनका समूहहरुलाई खोर निर्माण, बिउ, औषधी उपचार, खोप, मेशनरी सामग्री खरिदलगायतका क्षेत्रमा अनुदान उपलब्ध गराउँदै आएकोे पशु सेवा विज्ञ केन्द्र प्रमुख पाण्डेयले बताए ।

स्थानीय सरकार र हेफरको सक्रियता
जिल्लामा बाख्रापालन व्यवसायमा स्थानीय सरकार र बाख्रा विकास परियोजना हेफरको ठूलो योगदान रहेको छ । गुल्मी पश्चिमका पालिकाहरुले उत्पादनमा आधारित अनुदानसँग मासु र दुधलाई जोडेपछि नागरिकमा पशुपालनप्रतिको मोह बढ्दै गएको हो । हेफर इन्टरनेशनलले छुट्टै र स्थानीय तहपछि साझेदारीमा पशुपालनमा किसानलाई ऊर्जा भर्न, व्यवसायिक र बजारीकरणमा ठूलो सहजीकरण गरेको छ ।

धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले पशुपालनमा स्थानीय तहको ठूलो लगानी भएकाले प्रतिफल बाहिर देखिन थालेको बताए । उनले युवा तथा व्यावसायीक किसानहरुलाई विभिन्न माध्यमबाट पशु उद्यमसँग जोड्न सकेकै कारण बसाइसराइकै चपेटाका बिच कृषि र पशुपालनमा केही आशा जागेको बताए । हेफरले जिल्लामा लामो समयदेखि महिलाहरु एकीकृत गर्ने, व्यावसायिक सीप, बिउ मल, प्रविधि र बजारीकरणमा टेवा पुराउँदै आएको छ ।