एमाले गुल्मीको अध्यक्षमा काउछा निर्वाचित

मेचीकाली संवाददाता

१ असार २०८१, शुक्रबार
227 shares

गुल्मी । नेकपा (एमाले) गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । अध्यक्षका प्रतिस्पर्धी हिरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । काउछाले ३८४ र उनका प्रतिद्वन्द्वी एसीले २०२ मत प्राप्त गरे ।

यसैगरी, जिल्ला उपाध्यक्षमा गणेश श्रीपालीलाई पराजित गर्दै जीवन खरेल निर्वाचित भएका छन् । खरेलले ३४८ मत ल्याउँदा श्रीपालीले २१२ मत प्राप्त गरे । सचिवमा पदमप्रसाद अर्याललाई पराजित गर्दै धर्म विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले ३७१ मत ल्याउँदा अर्यालले १९० मत प्राप्त गरे । सहसचिवमा ओम बहादुर कार्कीलाई पराजित गर्दै चक्रबन्धु भुसाल निर्वाचित भएका छन् । भुसालले ३४८ ल्याउँदा कार्कीले २१६ मत प्राप्त गरे ।

गत मंगलबारदेखि सुरु भएको १२औँ जिल्ला अधिवेशनमा बिहीबार मतदान भएको थियो । अधिवेशनमा ६१३ जना प्रतिनिधि सहभागी भएकोमा ५९५ जनाले मतदानमा भाग लिएका थिए । अधिवेशनले पाँचजना पदाधिकारीसहित आगामी तीन वर्षका लागि एक सय पाँच सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । अधिवेशनको पार्टीका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरेका थिए ।