रास्वपाको स्थापना दिवसमा अर्घाखाँचीमा रक्तदान

मेचीकाली संवाददाता

६ असार २०८१, बुधबार
307 shares

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापना दिवसको अवसरमा अर्घाखाँचीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रास्वपा अर्घाखाँचीकोे आयोजना तथा नेपाल नियमित रक्तदान सघ रुपन्देहीको सहयोगमा सन्धिखर्कमा रक्तादन कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक चिरन्जिवी पन्थी सुनारले बताए । रास्वपाले पार्टी स्थापना दिवसमा वृक्षारोपण, सरसफाइलगायत कार्यक्रम गरी मनाउने जनाएको छ । रक्तदान जस्तो महान् कार्य गरेकोमा प्रशंसा गर्दै कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उद्देश्यले गरिएको रक्तदानले सहजता तुल्याउने विश्वास व्यक्त गर्दै जिल्ला अध्यक्ष हरिप्रसाद भुसालले प्रत्येक स्वस्थ्य व्यक्तिले ३–३ महिनामा रक्तदान गर्न सक्ने तर्क दिँदै यसबाट कुनै बेफाइदा नहुने बताए ।

समाज परिवर्तनका लागि रास्वपाले सञ्चालन गरेको अभियानमा सबैको सहयोग पाएको रास्वपाका अध्यक्ष भुसालको भनाइ रहेको थियो । जसरी मन्दिरमा गएर पूजा गर्दा मनलाई आनन्द तुल्याउँछ त्यसरी नै रगत दान गर्दा कुनै व्यक्तिले नयाँ जीवन पाउने बताउँदै यस्ता कार्यक्रमलाई जनस्तरबाट चलाउनुपर्नेमा संघका अध्यक्ष दयाबहादुर सिलबालले जोड दिए ।