होटल व्यवसायीद्वारा पूर्वअध्यक्ष र भाडा घटाउने घरधनीलाई सम्मान

मेचीकाली संवाददाता

१७ असार २०८१, आईतवार
319 shares

बुटवल । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीले आफ्नो २६ औँ स्थापना दिवस तीन दिने विभिन्न कार्यक्रम गरी मनाएको छ । बृहत् रक्तदान, रामापिथेकस पार्क सरसफाइ र संस्थापक, पूर्वअध्यक्ष र भाडादरमा छुट दिने घरधनीलाई सम्मान गरेर स्थापना दिवस सम्पन्न गरेको हो ।

समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले यस क्षेत्रका होटल व्यवसायीहरु टिकिरहने अवस्था निकै जटिल रहेको बताए । उनले निकै गाह्रो अवस्थाबाट होटल व्यवसायीहरु रहेको उल्लेख गर्दै आवश्यक समन्वयको लागि बुटवल उपमहानगर तयार रहेको बताए । मेयर पाण्डेयले होटल व्यवसायी क्षेत्र चलायमान बनाउनको लागि रात्रीकालीन बजारको लागि पहल भएको बताउँदै हाइमास्ट लाइट तथा स्ट्रिट लाइटको व्यवस्थापन गरिएको उल्लेख गरे ।

संघका अध्यक्ष लेखनाथ भण्डारीले कोराना महामारी र त्यसपछि सृजित आर्थिक मन्दीले पर्यटनले ठूलो मन्दीको सामना गर्नुपरेको बताए । त्यसको लागि राज्य तहबाट व्यवसायलाई साथ आवश्यक रहेको बताए । कार्यक्रममा संस्थापक केन्द्रिय अध्यक्ष माधव नेपालले होटल क्षेत्रको पहिलेको अवस्था र अहिलेको अवस्थाको बारेमा बताएका थिए । निवर्तमान अध्यक्ष रामप्रसाद गौतमले यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रचार गर्न आवश्यक रहेको बताए ।

पूर्वअध्यक्ष महेन्द्र श्रेष्ठले उनले आर्थिक मन्दीमा समेत भाडामा छुट दिनेलाई हरेक संघसंस्थाले सम्मान गर्नुपर्ने उल्लेख गरे । संघका वरिष्ठ उपाध्यक्ष माधवकुमार खनालले यस क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा लाग्न आवश्यक रहेको बताए । उनले पर्यटन क्षेत्र उजार गर्न बाँकी रहेको बताउँदै भारतीय पर्यटक नेपाल ल्याउनुपर्ने बताए । कार्यक्रमको सञ्चालन महासचिव अर्जुन थापाले गरेका थिए ।