कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो रुपन्देही प्रशासन

मेचीकाली संवाददाता

२४ श्रावण २०८१, बिहीबार
322 shares

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट प्रशासन बन्दै कार्यसम्पादनमा पहिलो बनेको छ । गृह मन्त्रालयले तोकेको मापदण्डअनुसारको काम सहज तथा सफल तरिकाले सम्पादन गर्दै उत्कृष्ट कार्यसम्पादनका आधारमा रुपन्देही प्रशासन पहिलो बनेको हो । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबिच भएको कार्यसम्पादन सम्झौताबमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा रुपन्देही प्रथम भएको गृह मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्यांकनमा ७७ जिल्लामध्ये रुपन्देही प्रशासनले ९८ अंक ल्याएको थियो । २०८० साउन पहिलो हप्ता गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीचको कार्य सम्पादन सम्झौताअनुसार भएको मूल्यांकनमा रुपन्देही प्रशासन पहिलोपटक देशभरमा पहिलो बनेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रुपन्देही प्रशासनको नेतृत्व सम्हालेपछि कार्यसम्पादन चुस्त बनेको थियो भने नागरिकमा सकारात्मक उत्साह छाएको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सार्वजनिक जग्गा संरक्षण गर्नेदेखि लिएर विदेशी जेलमा रहेका नेपाली नागरिकको जीवन रक्षा गर्नेसम्मको महान कार्य गरेका थिए ।

प्रजिअ अर्यालले आफू कार्यालयमा हाजिर भएको केही समयमै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे अतिक्रमण गरेको सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता ल्याएर जनताको मन जित्न सफल भएका थिए ।

जिल्ला प्रशासन कार्यालयमा अडियो नोटिस बोर्ड लागू, सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण, भारतीय पर्यटकको आवागमनलाई सहजीकरण गर्न सीमा क्षेत्रमा एकीकृत चेकजाँच बिन्दु सञ्चालन तथा आफ्नै साथीको हत्या आरोपमा साउदी अरबमा मृत्युदण्डको सजाय तोकिएका जनकपुरका रामआशीष यादवको जीवन रक्षाका लागि रुपन्देहीका उद्योगी व्यवसायीसँगको सहयोगमा संकलन गरिएको ४६ लाख बढी ‘ब्लड मनी’ जुटाउने काममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेतृत्व गरेका थिए ।

उनको यो कार्यले रुपन्देहीका आम नागरिकमा कर्मचारी प्रशासनमाथि देखिएको निराशालाई कमी ल्याएको थियो । प्रशासकले चाहेमा नागरिकसँग हातेमालो गरेर उत्कृष्ट काम गर्न सक्ने उदाहरणीय पात्रको रुपमा रुपन्देहीका प्रजिअ अर्याललाई धेरैले उदाहरणको रुपमा लिने गरेका छन् । प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्ला प्रशासन कार्यालयका कर्मचारी, जिल्लाभित्र रहेका सरकारी तथा गैरसरकारी कार्यालय, सामाजिक संघसंस्था, स्थानीय पालिका, उद्योगी व्यवसायी तथा समग्र रुपन्देहीवासीकै सहयोग र सहकार्यबाट रुपन्देही जिल्ला प्रशासन कार्यालय उत्कृष्ट हुन सफल भएको बताए ।

यस्तैगरी जिल्ला प्रशासन कार्यालय पाल्पा दोस्रो हुन सफल भएको छ । वर्षभरि गरेका कामहरुको आधारमा पाल्पाले ९७ दशमलव ७५ प्रतिशत अंक प्राप्त गरेको छ । यस्तै तेस्रोमा बागलुङ आएको छ । बागलुङले ९७ दशमलव ६२ अङ्क प्राप्त गरेको छ । त्यस्तै चौथो स्थानमा पश्चिम रुकुम जिल्ला प्रशासन कार्यालयले ९७ दशमलव ५० अंक ल्याएको छ भने पाँचौँमा मकवानपुर र पर्वतले ९७.३७ अङ्क ल्याएका छन् ।

पहिलो, दोस्रो, तेस्रो र चौथो चौमासिक रूपमा गरिने मूल्याङ्कनमा छैटौँमा गुल्मी प्रशासन आएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले ९७ अङ्क ल्याएको छ । त्यसैगरी सातौँमा तेह्रथुम, आठौँमा रोल्पा, नवौँमा सोलुखुम्बु र १० औँ नम्बरमा डडेलधुराले क्रमशः ९६ दशमलव ८७, ९६ दशमलव ७५, ९६ दशमलव ५६ र ९६ दशमलव ४३ अङ्क ल्याएका छन् ।