बाकसमा फर्किएका रङ्गीन सपना

मेचीकाली संवाददाता

६ भाद्र २०८१, बिहीबार
123 shares

टोपलाल अर्याल

गुल्मी । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका टीकाबहादुर गुरुङ युएई आऊजाऊ गर्थे । गत जेठ २३ गते एक्कासी बिरामी भए । अस्पताल भर्ना भएको केहीबेरमै ज्यान गएको थियो । पहिलो छुट्टी सकेर परदेश फर्किएका गुरुङ जीवित अर्को छुट्टी आएनन् । जेठ २६ गते गुरुङ बाकसमा आए । शव घर आउँदा अनिता गुरुङ अचेत बनिन् । अभिभावक गुमेको पीडाले परिवार अत्यासमै बाँकेको छ ।

शहरको बसाइ र दुई छोराछोरीको पालनपोषण अनिताको थाप्लोमा छ । रेसुंगा नगरपालिका–१२ का अनिल विक तीन महिनामै बाकसमा घर फर्किनुप¥यो । उनी गाउँमा ऋणधन गरेर गत २३ वैशाख २३ गते युएई उडेका थिए । परदेशमा दुखसुख काम पनि पाए । पहिलो महिनको पैसा पनि आयो । तर, दुर्भाग्य तीन महिना नपुग्दै साउन १० गते दुर्घटनामा परे । आठ दिनपछि साउन १८ गते शव घर आइपुगेपछि श्रीमती सरस्वती मुर्छा परिन् । घटनाले विक परिवार शोकाकुल बन्यो । पाँच भाइमध्येका कान्छा अनिलले गाउँमै काम गर्थे । गाउँमा सधैँ काम नपाइपछि सयको चर्को व्याजमा तीन लाख ऋण काढेर युएई गएको श्रीमती सरस्वतीले बताइन् ।

अनिलले १० साउनको दिउँसो सरस्वतीलाई फोन गरेका थिए । काममै भएका बेला फोन गर्न पाइँदैन त्यसैले अनिलले श्रीमतीलाई कार्टुनमा लुकेर फोन गरेको बताएका थिए । तर, साँझ गाडीको ठक्करबाट ज्यान गएको परिवारमा खबर आयो । घटनाले विक परिवार आँसुमा डुब्यो । ‘दिउँसो लुकेर फोन गर्नुभएको थियो । मैले अर्काको देशमा जोखिम नमोल्नुस् साँझ गफ गरौँला भनँे’, सरस्वतीले रुँदै भनिन्,‘उहाँले धेरै बोल्न मन हुँदा पनि मैले नै दिइन्, बिडम्ना दैवले सधँैलाई बोल्न नदिने बनायो ।’

अनिल परदेश पसेपछि सरस्वती घरमा एक्लै थिइन् । उनीहरुको सन्तान थिएनन् । दिनभर मेलापात र घरको काममा व्यस्त हुने भएकाले सधै रातीमा श्रीमान्सँग गफ हुन्थे । तर, परिस्थितिले दम्पतीलाई छिन्नभिन्न बनायो । अहिले श्रीमान्को पीडामा ऋणको बोझ सरस्वतीको थाप्लोमा छ । सानैमा बुबाआमा बितेपछि अनिल ठुलदाजु यमबहादुर विकको अभिभावकत्वमा हुर्किका थिए ।

परिवारको लागि घर छोडेको भाइले सबैलाई सदाका लागि छोडेपछि अत्यन्तै दुःखको महसुस भएको विकले बताए । उनले आठ दिनपछि शव बुझेर काजकिरियाको काम गरेको बताए । ज्यान नरहेपनि कम्पनी र सरकारले प्रदान गर्ने राहतबिना झन्झट पाउने आशा रहेको बताए । ‘बिहे भएको वर्ष दिनकै श्रीमतीको बिचल्ली बन्यो । गाउँभर सय कडा पाँच रुपैयाँसम्म काढेको ऋण छ,’उनले भने,‘अब ज्यान त रहेन रहेन्, बिना सास्ती सेवा सुविधा पाउन पाए हुन्थ्यो ।’

रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारका बालकृष्ण थापा श्रीमती सीतासँगै रोजगारीका लागि युएईमा थिए । उनी परदेशी भएका त दुई दशक भएका थिए । बेलाबेलामा घर आउनेजाने गर्थे । उनले गत वर्षबाट श्रीमती पनि संगै लगेर युएई गएका थिए । तर, गत १४ असारमा कार दुर्घटनामा परेर बालकृष्णले ज्यान गुमाएको बुवा प्रेमबहादुर थापाले जानकारी दिए । ‘घटनाले सबैलाई विक्षिप्त बनाएको छ । आँखामा सपना बुनेका छोराछोरीहरुको बिचल्ली भएको छ,’मृतकका बुवा प्रेमबहादुरले भने,‘बुहारी पनि शव बोकेर नेपाल फर्किनप¥यो ।’ उनका कक्षा १२ मा पढ्ने १७ वर्षीय छोरा आयुष र सात कक्षामा पढ्ने १३ वर्षीया छोरी अदिति छन् । परिवारको खुसी खोज्न श्रीमान्संगै परदेश पसेकी सीताले अन्ततः श्रीमान्लाई बाकसमा बोकेर फर्किन बाध्य भइन् ।

श्रम गरेका मात्रै १९४ गुल्मेलीको मृत्यु
परदेश सजिलो छैन । सबैमा आशा र सपना परदेशमा पूरा भएका छैनन् । गुल्मेलीहरु वैदेशिक रोजगारीका लागि थुप्रो मुलुकमा छन् । जिल्ला हरेक गाउँमा परिवारका सदस्य कोही न कोही परदेश छन् । गत असार मसान्तसम्म गुल्मीबाट ८१ हजार नौ सय ११ श्रम स्वीकृत भएको छ भने श्रम स्विकृति नगरेर विभिन्न गैरकानुनी बाटो परदेश पस्नेहरुको संख्या पनि उल्लेख्य छ । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार ०६५/०६६ देखि अहिलेसम्म एक सय ९४ जना गुल्मेलीले वैदेशिक रोजगारीको क्रममा विभिन्न कारण ज्यान गुमाएका छन् ।

एक सय ९० जना परदेशमै र चार जना बिरामी भएर फर्किएपछि नेपालमा मृत्यु भएको बोर्डले जनाएको छ । वैधानिक प्रक्रियाबाट परदेश जानेहरुको कुनै घटना वा दुर्घटना भएका विभिन्न खाले सहायताहरु रहेका छन् । मृत्यु भएका सात लाख, बिमाबापतको रकम, छोराछोरीहरुलाई शैक्षिक छात्रवृत्ति, परिवारका सदस्यलाई पाँच प्रकारका गम्भीर रोग लागेका ५० हजार सहयोग उपलब्ध हुने जिल्ला प्रशासन कार्यालय गुल्मीमा रहेको सुरक्षित वैदेशिक रोजगारका लागि आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता शिव भण्डारीले जानकारी दिए ।

त्यस्तै अंगभंग हुनेहरुको हकमा अवस्था हेरेर ५० हजारदेखि सात लाखसम्म आर्थिक सहायता प्राप्त हुने गर्दछ । अहिलेसम्म मृत्यु भएका एक सय ९४ र अंगभंग भएका ४४ जनाले आर्थिक सहायता पाएको भण्डारीले बताए । उनले केन्द्रले मनोसामाजिक परामर्श, आर्थिक तथा कानुनी सहायता सहजीकरण र उद्धारको काम गर्ने बताए ।

एक वर्षमा १२ हजार दुई सय ७३ राहदानी सिफारिस
जिल्लामा अघिल्लो वर्षभन्दा केही कम भएपनि राहादानी बनाउनेहरुको संख्या उल्लेख्य रहेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार पहाडी जिल्लामा पनि आर्थिक वर्ष ०८०/०८१ म १२ हजार दुई सय ७३ राहदानी सिफारिस भएका छन् । आर्थिक वर्ष ०७९/०८० मा १५ हजार ८६ राहदानी सिफारिस भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

राहादानी बनाउने अधिकांशको उद्देश्य वैदेशिक रोजगार, शिक्षा र भेटघाट र भ्रमण रहेको गैरेले बताए । प्रशासन कार्यालयहमा राहदानी बनाउनेहरु निम्न र मध्यम वर्गीय व्यक्ति तेस्रो मुलुक, महिलाहरु अधिकांश जापान र आर्थिक स्रोत बलियो भएकाहरु युरोप जाने छिटो राहदानी सिफारिस माग्न आउने गरेको गैरेले बताए ।