बुटवलमा भदौ ९ गतेदेखि दोस्रो जुत्ताचप्पल मेला सञ्चालन हुने

मेचीकाली संवाददाता

८ भाद्र २०८१, शनिबार
160 shares

बुटवल । बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्समा दोस्रो बुटवल जुत्ताचप्पल व्यापार मेला–२०८१ हुने भएको छ । नेपाली लुगाघरको आयोजना तथा नेपाली जुत्ताघरको सहआयोजनामा यही भदौ ९ गतेदेखि मेला सुरु हुने भएको हो ।

मेलाको तयारीबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली लुगाघरका सञ्चालक तथा मेलाका संयोजक प्रकाश भुसालले नेपालीहरुका महान् चाडपर्व तीज, दशैं, तिहारलाई लक्षित गरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन र बिक्री गर्ने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिए ।

मेलामा नेपालमा स्थापित चर्चित जुत्ताचप्पल उत्पादक कम्पनी र ब्राण्डहरुको सहभागिता रहनेछ । मेलामा नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्रान्ड र ३ हजार बढी डिजायन रहने छन् । ४० भन्दा बढी स्टल रहने मेलामा उपभोक्ताले १५ देखि ५० प्रतिशतसम्म छुटसहित कारखानाकै मूल्यमा जुत्ता पाउनेछन् । मेला अवधिभरमा ३० देखि २५ हजार जोडी जुत्ता बिक्री गरी ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिइएको मेला संयोजक भुसालले बताए । मेलामा सुरुमा आउने एक हजार ग्राहकले एक रुपैयाँम एकजोर मोजा पाउने उनले बताए । मेलामा रुपन्देहीसहित छिमेकी जिल्लाका उपभोक्ताहरुले बिशेष छुटमा गुणस्तरीय सामान पाउने आयोजकको दावी छ ।

नेपालको औद्योगिक उत्पादनमा फुटवयर क्षेत्रको योगदान उल्लेखनीय रहेको र त्यसमा पनि नेपाली फुटवयरजन्य सामान नेपाली उपभोक्ताहरुको मागको ६५ प्रतिशत योगदान नेपाली उत्पादनवाट भइरहेको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका वरिष्ठ उपाध्यक्ष सुरज बञ्जाडेले बताए । नेपालमा वार्षिक १० करोड जोर जुत्ता खपत हुने गरेको भन्दै अहिले नेपालमा ६ करोड जोर वार्षिक रुपमा जुत्ता उत्पादन हुने गरेको बताए । उनले अब नेपाली जुत्ता उत्पादक र कच्चा पदार्थ उत्पादकहरुले उत्पादन र निर्यातमा जोड दिन आवश्यक रहेको बताए ।

गत असार ६ गते विद्युत् सर्ट भएर डेल्टा कम्प्लेक्समा आगलागी हुँदा पूर्ण रूपमा जलेर ध्वस्त भएको थियो । आगलागी भएर करोडौंको सामान नोक्सान भएको अबस्थामा पनि मेलालाई निरन्तरता दिन टेन्ट लगाएर भएपनि मेला आयोजना गर्न लागिएको मेला संयोजक भुसालले बताए ।