मेचीकाली संवाददाता

३१ भाद्र २०८१, सोमबार
25 shares

बुटवल । कर्मचारी सञ्चय कोष, बुटवल शाखाले आफनो ६३ औं वार्षिकोत्सव सोमबार मनाएको छ । कर्मचारी सञ्चय कोष, बुटवल शाखाका प्रमुख कृष्णबहादुर जिसीको अध्यक्षता तथा रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेको हो । सो अवसरमा बोल्दै सहायक प्रजिअ अर्यालले सञ्चय कोष सबैको सारथी र चौतारी विकास भई सेवा निवृत्त जीवनको आर्थिक जोहो गर्ने बलियो संस्थाको रुपमा स्थापित भएको बताए ।

कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मन्जु कुमारी जैसीले सञ्चय कोषकर्ताहरुलाई सचेतना आवश्यक रहेको बताइन ।

कर्मचारी सञ्चय कोष, बुटवल शाखाका प्रमुख कृष्णबहादुर जिसी सञ्चय कोषकर्ताको क्षेत्र विस्तार गर्दै प्रतिफलयुक्त क्षेत्रमा लगानी गरिएको जानकारी दिए । सञ्चय कोष एवम् निवृत्तभरण कोष रकम सम्बन्धित कार्यालयले विद्युतीय माध्यमबाट सिधै प्रविष्टि गर्ने हुनाले सञ्चयकर्ताको रकम हराउने सम्भावना नरहेको उनले बताए ।

साथै सञ्चयकर्ताको ब्यक्तिगत खातामा कोष रकम जम्मा हुनासाथ निजलाइ एसएमएस जाने ब्यवस्था गरिएको हुनाले समयमै कोष रकम आफ्नो ब्यक्तिगत खातामा जम्मा भएको जानकारी प्राप्त हुने उनले बताए । सञ्चयकोषको क्षेत्रमा मात्र काम गर्दै आएको संस्थाले अहिले निवृत्तिभरणको पनि काम गर्छ ।

शाखाका उपप्रबन्धक विकास भटटराईले विभिन्न योजनाहरु सहित सञ्चयकर्तालाई ई–सर्भिस सेवा समेत प्रदान गर्दै आएको बताए । कोषले आफ्ना सञ्चयकर्ताहरुको सेवाकालिन वित्तीय आवश्यकताहरु पुरा गर्न विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गाखरिद सापटीहरु प्रदान गर्दै आएको बताए । साथै उनले सामाजिक सुरक्षा सुविधा अन्तर्गत सञ्चयकर्ता स्वास्थ्य उपचार योजना, सुत्केरी तथा शिशु स्याहार योजना, दुर्घटना क्षतिपूर्ति योजना, काजकिरिया अनुदान योजना सुविधाहरु प्रदान गर्दै आएको बताए ।

उपप्रबन्धक भटटराईले सञ्चयकर्ता सापटी, भुक्तानीलाई पूर्णरुपमा Faceless/Counterless बनाई Digital EPF को अवधारणा कार्यान्वयन गर्ने योजना अन्तर्गत कोषको सेवा अघि बढेको र कार्यालयहरुको कोष कट्टी तथा निवृत्तभरण कोष रकमको विवरण विद्युतीय माध्यमबाट सिधै लेखांकन हुने व्यवस्था गरिएको बताउनु भयो । कोषमा आ.व. २०८०/८१ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चयकोष ५१८.४८ अर्ब र निवृत्तभरण कोष ११.२१ अर्ब रहेको बताए ।

कोषमा अहिले ५ लाख ७५ हजार आवद्ध भएको छन । सो अवसरमा वार्षिउत्सवको आयोजना भएका विभिन्न खेला प्रतियोगिताका विजेताहरु पुरस्कार समेत वितरण गरिएको थियो । कोषका सहायक प्रबन्धक पवित्रा पन्थीको स्वागत तथा बालकृष्ण अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।