बजारमा जुम्ला र मुस्ताङका स्याउ भरिभराउ

मेचीकाली संवाददाता

१५ आश्विन २०८१, मंगलवार
1535 shares

– बुटवलबाट मात्रै एक महिनामा १६ करोडभन्दा धेरैको बिक्री
– बढ्दैछ स्वदेशी उत्पादन र कारोबार
– केही महिनालाई भएपनि विदेशी स्याउ प्रतिस्थापन हुँदै

अमृत गिरी
बुटवल । पाल्पा मदनपोखराका यमबहादुर गाहा सोमबार बुटवलस्थित थोक कृषि उपज केन्द्रमा पुगेका थिए । त्यहाँ उनले स्वदेशी स्याउको बारेमा सुने । एउटा थोक पसलमा पुगेर जम्ला र मुस्ताङका स्याउ दुवै एक÷एक दाना काटेर चाखे । मनपर्ने ताजा स्याउ लागेपछि शुभ पोखरेल होलसेल पसलबाट दुवै ठाउँका एक/एक पेटी स्याउ किनेर लगे ।

उनीजस्ता सामान्य उपभोक्तादेखि यसक्षेत्रका खुद्रा विक्रेता धेरैले अहिले स्वदेशी स्याउको कारोबार गर्न लागेका छन् । बजारमा अहिले विदेशी स्याउलाई विस्थापित गर्दै स्वदेशी स्याउ भरिएको छ । यहीँ भदौ दोस्रो सातादेखि जुम्ला र मुस्ताङको स्याउ बुटवलका प्रत्येक पसलहरुमा पुग्नेगरी आएको छ र यहाँबाट अन्यत्रका बजारसम्म थोकमा विक्री वितरण भइरहेको छ । असोजको यो दोस्रो सातासम्मको एक महिनाको अवधिमा मात्रै यहाँबाट १६ करोड रुपैयाँभन्दा धेरैको स्वदेशी स्याउको कारोबार भइसकेको छ ।

अब दसैं–तिहारजस्ता पर्व नजिकिएकाले अबको एक महिना यसको कारोबार झण्डै दोब्बर हुने अनुमान व्यापारीहरुको छ । त्यसपछि भने स्वदेशी उत्पादनले नै थेग्दैन र विदेशी आयात गर्नैपर्ने हुन्छ,’ थोक विक्रेता पन्थी भन्छन्,‘यो स्वदेशी स्याउ कात्तिक मसान्तसम्म यहाँदेखि पश्चिम भेगलाई लगभग पुग्छ र त्यसपछि त बोटमै निथ्रिन्छ ।’

केही महिनालाई भएपनि भारतीय स्याउ विस्थापित हुनेगरी अहिले स्वदेशी स्याउले बजार भरिएको छ । बुटवल र यहाँदेखि पश्चिमको भेगमा आउँदो कात्तिकसम्म स्वदेशी स्याउको मात्रै कारोबार हुनसक्ने यहाँका थोक विक्रेता कलाधर पन्थीको भनाइ छ । पन्थीका अनुसार भदौ दोस्रो साताबाट सुरु भएको स्वदेशी उत्पादन बढीमा कात्तिक मसान्तसम्म रहनेछ । पन्थीले मात्रै यो एक महिनाको सिजनमा झण्डै ५५ लाख रुपैयाँ बराबरको स्वदेशी स्याउको कारोबार गरेका छन् ।

अरु वर्षमा यही अनुपातमा विदेशी स्याउको कारोबार हुने गथ्र्यो । अहिले भने स्वदेशी स्याउले बजार भरिभराउ भएको बुटवलका थोक फलफुल विक्रेता कृष्णप्रसाद पोखरेलको भनाइ छ । पोखरेलले मात्रै अहिले यो एक महिनाको अवधिमा करिब ४० लाख रुपैयाँ बराबरको जुम्लाको स्याउ विक्री गरिसकेका छन् । केही दिन अघिदेखि उनको पसलमा मुस्ताङको पनि स्याउ आइसकेको छ ।

बुटवल र आसपासमा पोखरेलजस्ता करिब ४० जना ठूला थोक व्यापारी छन् । ती सबैले यही अनुपातमा र केहीले अझ योभन्दा दोब्बर परिणाममा स्वदेशी स्याउको कारोबार गरेका छन् । थोक विक्रेता पन्थीले मात्रै यो सिजनमा ५५ लाख बराबरको स्वदेशी स्याउ विक्री गरेका छन् । प्रतिकिलो थोकमा एक सयदेखि एक सय ८० रुपैयाँ सम्ममा स्वदेशी स्याउको विक्री हुँदै आएको छ । विदेशी स्याउ भने यसको दोब्बर महँगोमा विक्री वितरण हुँदै आएको थियो । नेपाली स्याउ भारत र चीनबाट आयात भएका स्याउको तुलनामा गुणस्तरीय भए पनि कम मूल्यमा बिक्री भइरहेको छ ।

अब हरेक वर्ष उत्पादन बढ्दै जानेछ
सरकारले उच्च हिमाली आठ जिल्लालाई स्याउको पकेट जिल्ला घोषणा गरेको थियो । कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोटसहित रुकुम, मनाङ र मुस्ताङमा स्याउखेती विस्तारका लागि विशेष कार्यक्रम सुरू गरेको हो । यो कार्यक्रमले त्यहाँका केही भेगमा भने स्याउको उत्पादन बढाएको छ ।

अहिले बुटवल यस भेगमा आएको अधिकांश स्याउ जुम्लाको हो । मुस्ताङको भने भरखर मात्रै सुरु भएको छ । जुम्लाका हरेक जसो किसानले स्याउका बिरुवा रोपेका छन् र सबै भेगमा स्याउ फल्छ । केही वर्षअघिदेखि यहाँ व्यवसायिक रुपमा स्याउको उत्पादन हुने गरेको छ । एउटा बोटमा एक सिजनमा २५ देखि ३० किलोसम्म स्याउ फल्ने र बोटले थेग्नेगरी उत्पादन बढाउन सकिने अवस्था छ ।
जुम्लाको बुठिचौर गाउँपालिका–५, बुठिचौरमा पाँच सय रोपनी जग्गामा ४० हजार बोटबाट स्याउ खेती सुरु गरेका अगुवा किसान तथा थोक विक्रेता विष्णुकुमार श्रेष्ठले अहिले बल्ल स्याउको सिजन सुरु भएको बताए ।

अब हरेक वर्ष उत्पादन बढ्दै जाने र केही वर्षमा उत्पादन कयौं गुणा बढ्दै जाने उल्लेख गर्दै अगुवा श्रेष्ठले सरकारले सहज ढुवानी र किसान लक्षित राहतका केही योजना ल्याउने हो भने स्वदेशी उत्पादनले आत्मनिर्भर हुने बताए । उनले ढुवानीका लागि सहज सडक र जुम्लामा विद्युत्को उपलव्धता प्रयाप्त भएमा उत्पादनलाई लक्ष्यभन्दा पनि धेरै बनाउन सकिने दाबी गरे । जुम्लाबाट विभिन्न माध्यमबाट स्याउलाई सुर्खेतमा झार्ने र त्यहाँबाट विभिन्न ठाउँमा वितरण हुँदै आएको छ ।

वर्षेनी अर्बौंको आयात
भन्सार विभागको तथ्यांकअनुसार नेपालमा वार्षिक करीब सात अर्बको स्याउ आयात भएको देखिन्छ । गत आव २०८०/८१ मा मात्रै करिब ९ अर्ब रुपैयाँ बराबरको विदेशी स्याउ आयात भएको देखिन्छ ।

भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठका अनुसार नेपालमा भारत र चीन, इन्डोनेशिया, टर्की, अमेरिकाबाट ठूलो मात्रामा स्याउको आयात हुँदै आएको छ । यीमध्ये सबैभन्दा बढी भारतबाट स्याउ आयात हुन्छ । भारतले आफ्नै उत्पादनलाई स्टोर गरेर १२ महिना विक्री वितरण गर्नेगरी प्रबन्ध मिलाएको छ । यस कारण नेपालमा भारतीय र चाइनिज स्याउ जुनसुकै सिजनमा प्रयाप्त मात्रामा पाइन्छ ।