आज घटस्थापनासँगै बडादसैँ सुरू

मेचीकाली संवाददाता

१७ आश्विन २०८१, बिहीबार
49 shares

बुटवल । नेपालीहरूको महान् पर्व बडादसैँ आज (बिहीबार) देखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्यकर्म सकेर नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ, गहुँ, मकै रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

घटस्थापनाको साइत बिहान ९ः१६ बजे
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले जानकारी दिए ।

दुर्गा देवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा–आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा–आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

यस्तै असोज १८ गते झण्डा फेर्ने साइत छ । यस दिन बिहान ९ बजेर १४ मिनेटमा पश्चिम फर्किएर झण्डा फेर्नुपर्ने समितिले जनाएको छ । असोज २२ गते पचलीभैरव यात्रा र २४ गते फूलपाती छ । फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको छ ।

यस्तैगरी असोज २६ गते दशैंको मुख्य दिन टीका हो । यस दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ । देवी बिसर्जन गरिसकेपछि मान्यजनबाट टीका जमरा, फूल, प्रसाद ग्रहण गरिन्छ । दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको समितिले जनाएको छ । टीका लगाइमाग्ने व्यक्ति पूर्व फर्किनुपर्ने छ ।