दीर्घकालीन सहकारीको भवन उद्घाटन

मेचीकाली संवाददाता

१७ आश्विन २०८१, बिहीबार
108 shares

बुटवल, असोज १७ । बुटवल उपमहानगरपालिका वडा नम्बर २ स्थित दीर्घकालीन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवन उद्घाटन गरिएको छ । सहकारीले हालै निर्माण सम्पन्न गरेको कार्यालय भवनको बिहीबार बुटवल उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुनील शाक्यले उद्घाटन गरे । सो अवसरमा बोल्दै वडा अध्यक्ष शाक्यले दीर्घकालीन सहकारी अब्बल संस्थाको रुपमा स्थापित भइसकेको बताए । उनले सहकारीले अब बचत ऋणको कारोबारमा मात्र सीमित नभई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पनि आवश्यक रहेकोमा जोड दिए ।
भवन निर्माण समितिका संयोजक तथा सहकारीका सचिव गौतमलाल शाक्यले ५ धुर जग्गामा २५ लाखको लगानीमा भवन निर्माण गरिएको जानकारी दिए । सचिव गौतमलाल शाक्यले सहकारीमा ५९५ जना शेयर सदस्य र २ करोड ५७ लाख ३७ हजार शेयर पूँजी रहेको जानकारी दिए । कार्यक्रममा सहकारीका अध्यक्ष हिकबहादुर दर्लामी मगरले दीर्घकालीन सहकारी नीति र सिद्धान्त अनुसार आफूहरु सञ्चालन गरिएको स्पष्ट पारे ।
कार्यक्रममा मणिमुकुन्द सेन उद्यान (फूलबारी) का अध्यक्ष माधव नेपाल, सहकारीका लेखा सुपरीवेक्षण समितिका संयोजक हेम थापा, पुष्पनर्सिङ टोलविकास संस्थाका अध्यक्ष सानुमाया दर्लामी, गरिमा सहकारीका उपाध्यक्ष मन्जु भटटराई, दीर्घकालीन सहकारीका प्रमुख सल्लाहकार राजकुमार श्रेष्ठ, बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष प्रेम गौचन, बुटवल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बाबुराम पौडेल, बुटवल निर्माण व्यवसायी संघका अध्यक्ष बुद्धिराज थापा लगायतले बोल्दै सहकारीले गरेको प्रगतिको प्रशंसा व्यक्त गरेका थिए । सहकारी अध्यक्ष हिकबहादुर दर्लामीको अध्यक्षता, सचिव गौतमलाल शाक्यको स्वागत तथा कोषाध्यक्ष दीपक खड्गीको सञ्चालनमा कार्यक्रम भएको थियो ।