तानसेनमा घट्यो खानेपानीको महसुल

मेचीकाली संवाददाता

१ कार्तिक २०८१, बिहीबार
65 shares


नेत्र गैरे

पाल्पा । तानसेन खानेपानी उपभोक्ता समितिले खानेपानीको महसुल घटाएको छ । समितिले तानसेनमा पत्रकार सम्मेलन गरी २०८१ कार्तिक १ गते बाट कार्यान्वयन हुने गरि खानेपानीको महसुल घटाएको बताएको छ ।

बिगतमा उपभोक्ता संग उठाउँदै आएको खानेपानीको न्युनतम महसुल अली अव्यवहारीक र महङ्गो भएकोले लामो समयको गृहकार्य गरि महसुलमा बैज्ञानिक हिसावले समायोजन गरिएको समितिले जनाएको छ । खानेपानीको मुल्य घटाउनका लागि उपभोक्ताहरुको गुनासो, राजनैतिक दलहरुको सुझाब, जन प्रतिनिधिहरुको सल्लाह र स्थानिय सरकारसंगको समन्वयमा उपभोक्ता समितिको निर्णय अनुसार मुल्य समायोजन गरिएको उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठको भनाई थियो ।

समितिले ग्राहस्थ र गैर ग्राहस्थ (सरकारीकार्यालय, संघसंस्था, होटल व्यवसाय, विद्यालय) गरी दुई भागमा विभाजन गरी मूल्य समायोजन गरेको छ । समितिका अध्यक्ष श्रेष्ठका अनुसार ग्राहस्थतर्फ न्यूनतम दश हजार लिटरसम्म प्रति हजार लिटरको ३० सय रुपैयाँ कायम गरिएको छ । यस्तै ११ हजार लिटरदेखि १५ हजार लिटरसम्म न्युनतम मुल्यमा प्रतिहजार लिटरमा ८० रुपैयाँ थप गरि मूल्य समायोजन गरिएको छ । यस भन्दा पहिले ११ हजार लिटरको महसुल ५ सय ५० रुपैया उपभोक्ताले बुझाउन पथ्र्यो भने अब ३ सय ८० मात्र बुझाए हुने उनले बताए । यस्तगरि १६ हजार लिटरदेखि २० हजार लिटरसम्म प्रतिहजार एक सय, २१ हजारदेखि ३० हजारसम्म प्रतिहजार २ सय, ३१ हजारदेखि ४० हजारसम्म प्रतिहजार २ सय ५० र ४१ हजार लिटरदेखि माथिका लागि प्रतिहजार लिटर ३ सय थप हुने समितिका अध्यक्ष श्रेष्ठले बताए ।

यस्तै समितिले गैर ग्राहस्थ (सरकारी कार्यालय, संघसंस्था, होटल व्यवसाय, विद्यालय) का लागि पहिलेको महसुलमा १० प्रतिशत घटाएको छ । जहाँ न्यूनतम महसुल २ सय रहेको छ । समितिले एक हजार लिटरदेखि ५ हजार लिटरसम्मका लागि ५४ रुपैयाँ, एक हजारदेखि १० हजार लिटर सम्मका लागि ७२ रुपैयाँ, एक हजारदेखि १५ हजार लिटर सम्मका लागि ९० रुपैयाँ,एक हजारदेखि २० हजार लिटर सम्मका लागि १ सय८ रुपैयाँ, एक हजारदेखि २५ हजार लिटर सम्मका लागि १ सय ३५, एक हजारदेखि ३० हजार लिटर सम्मका लागि १ सय ६२, एक हजार लिटरदेखि ५० हजार लिटर सम्मका लागि १ सय ८० र एक हजारदेखि ५१ हजार लिटर माथिको लागि २ सय २५ थप हुने गरि मूल्य समायोजन गरिएको छ ।

तानसेनमा खानेपानीको अभाव हुन नदिन, खानेपानीमा देखिएका समस्याहरुलाई क्रमसः समाधान गर्दै आएको र हाल उपभोक्ताको हितलाई मध्यनजर गरी मूल्य समायोजन गरिएको अध्यक्ष श्रेष्ठले बताए । साथै अबका दिनमा उपभोक्ताबाट एक हजार उठाएर उपभोक्ता कल्याणकोष स्थापना गरी उपभोक्ताकै हितमा खर्च गर्ने, प्रत्येक आर्थिक बर्षको सुरुमा उपभोक्ताबाट नविकरण शुल्क १ सय लिने निर्णय समेत समितिले गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले उपभोक्ता समितिले ढिलाई भए पनि उपभोक्तालाई राहत हुने गरी मूल्य समायोजन गर्नु उपभोक्ता मैत्री काम भएको बताए ।

पत्रकार सम्मेलनमा उपभोक्ताहरुलाई खानेपानी आउने समय बारे समयमै सूचना दिन प्रविधिमैत्री बन्नुपर्ने र खानेपानी उपभोग गरी महसुल भुक्तानी नगरी बसेका उपभोक्ताको नामावली सार्वजनिक गर्न सुझाव दिएका थिए ।