आइपिओ जारी गर्ने तयारीमा सिद्धार्थ केबलकार

मेचीकाली संवाददाता

२७ कार्तिक २०८१, मंगलवार
37 shares

बुटवल । सिद्धार्थ केबलकार लिमिटेडले सञ्चालकसँग शेयरधनी कार्यक्रम गरेको छ । उक्त कार्यक्रम पश्चात पत्रकार सम्मेलन गरि नुवाकोटको ऐतिहासिकता र संस्कृतिलाई उजगार हुने गरि आफुहरु लागेको केवलकारका अध्यक्ष इन्जिनियर राजेन्द्रसिह गुरुङले बताए । ‘नुवाकोटलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने अभियानमा हामी लागेका छौँ । केबलकार एउटा पाटोमात्र हो ।’ उनले भने । हाल केबलकार सञ्चालनमा आएपनि आगामी नयाँ वर्षमा औपचारिक रुपमा उद्घाटन गरी पूर्ण रुपमा सञ्चालन गर्ने तयारी रहेको अध्यक्ष गुरुङले बताए ।

केबलकारमा भारतीय प्रविधि प्रयोग भएको छ । जुन ब्रिटिश कम्पनीबाट भारतमा भित्रिएको हो । १९४८ भन्दा अघि ब्रिटिश कम्पनीका रुपमा रहेको सिआरएस कम्पनीलाई जिम्मा दिइएको अध्यक्ष गुरुङले बताए । युरोपियन मापदण्डको रहेको उनले दाबी गरे ।

केबलकारका प्रबन्ध सञ्चालक प्रभुलाल अधिकारीले सार्वजनिक शेयर निष्कासन (आइपिओ) गर्ने तयारी थालेको बताए । आइपिओ जारी गर्ने प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भएको उनले बताए । कम्पनीले आइपिओमार्फत १५ करोड रुपैयाँ बराबरको शेयर खोल्ने तयारी गरेको उनले जानकारी गराए । ‘हामीले मापदण्ड पु¥याइसकेका छौँ । थप प्रक्रिया पूरा गरेर आइपिओ खोल्ने विषयमा साधारणसभाबाट कुरा अगाडि आएको छ । हामीले छिट्टै नै यसको औपचारिक घोषणा गर्दैछौँ,’ प्रबन्ध सञ्चालक अधिकारीले भने ।

अहिले टप स्टेशनमा बुद्घको विशाल मूर्ति, बटन स्टेशनमा आकर्षक कमलको फूल र पूर्वाधार निर्माण भएको जानकारी दिँदै अझ बढी पर्यटकीय पुर्वाधार थप गरिने उनले बताए । यसैगरी स्काई वाक, ढुंगेधारा, रेष्टुरेन्टसँगै पर्यटकीय संरचनाहरु निर्माण गर्ने तयारी रहेको छ । केबलकारमा पाँचवटा कम्पनी, अन्य विभिन्न संघसंस्था र व्यवसायीहरु गरी २२७ जना प्रमोटर शेयरधनी रहेका छन् । हाल ६० करोड चुक्ता पूँजी रहेको छ । यसलाई बढाएर सय करोडको कम्पनी बनाउने निर्णय भएको छ । हालसम्म १ अर्ब १० करोड लगानी भइसकेको छ ।

केही समय अघिदेखि सञ्चालनमा आएको केबलकारले अहिलेसम्म ७० हजार पर्यटक भित्र्याउन सफल भएको छ । हाल केबलकारको टिकट मूल्य प्रति व्यक्ति एकतर्फी २ सय र दुईतर्फी ३२५ रुपैयाँमात्र रहेको छ । केबलकारमा बिदाको दिन भिड हुने गरेको छ । केबलकारको क्षमता प्रतिघण्टा ५ सय जना रहेको छ । दैनिक ३ हजारसम्म पर्यटक भित्र्याउन सक्ने क्षमता छ । केबलकारमा २५ वटा गोन्डला रहेका छन् भने एउटा गोन्डलामा एकपटकमा ८ जना चढ्न सकिन्छ । देउराली डाँडामा रहेको बटम स्टेशनबाट नुवाकोटमा रहेको टप स्टेशनमा पुग्न ९ देखि ११ मिनेटसम्म लाग्ने गरेको छ । केबलकार दूरी १ हजार ९९५ मिटर लामो रहेको छ ।

नुवाकोट ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल हो । नुवाकोट विगतमा राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबार रहेको ठाउँ हो । यही ठाउँमा बसेर कर्णेल उजिर सिंह नेतृत्वको सेनाले अंग्रेजलाई परास्त गर्न अद्वितीय युद्ध रणनीतिहरू प्रयोग गरेका थिए । यस्तै भैरव मन्दिर तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवा जस्ता ऐतिहासिक सम्पदाहरू नुवाकोटमा छन् । केबलकारमा हाल ४८ जना युवाहरुले रोजगार पाएका छन् ।