बुटवल। ट्राभल व्यवसायीको साझा संस्था नेपाल एशोसियन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको अध्यक्षमा चन्द्र थापा निर्वाचित भएका छन् । नाट्टा लुम्बिनीको बुटवलमा सम्पन्न १५औँ वार्षिक साधारणसभा तथा अधिवेशनले थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
एशोसिएनको बरिष्ठ उपाध्यक्षमा कुलचन्द्र पाण्डे, द्वितिय उपाध्यक्षमा गोबिन्द सिंह, तृतीय उपाध्यक्षमा अन्जनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । महासचिवमा सिता बस्याल, सचिवमा अंकित जैसवाल, कोषाध्यक्षमा प्रदीपकुमार पोखरेल र सहकोषाध्यक्षमा विराट श्रेष्ठ चयन भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता युवराज कंडेलले जानकारी दिए । यस्तै सदस्यहरुमा जिवनाथ पौडेल, गणेश भट्टराई, टंक काफ्ले, गौरव पाण्डे, भुवन पाण्डे, प्रदीपप्रसाद उदय र मित्रशरण शर्मा रहेका छन् ।
‘गौतमबुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौँ’
वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रमका वक्ताहरूले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पर्यटन व्यवसायीले ऐक्यबद्धतासमेत जनाएका छन् । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले राजनीतिक अस्थिरताका कारणले नै मुलुकका हरेक क्षेत्रमा प्रभाव पारेको बताए । उनले राजनीतिक अस्थिरताले विकास र समृद्धिका योजना ओझेलमा परेको बताउँदै वर्तमान सरकारको ईच्छाशक्तिकै कारण गौतमबुद्ध विमानस्थल सञ्चालनको अवस्थामा पुगेको बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले पर्यटकीय गन्तव्यको व्यवसाय प्रवर्द्धनका लागि यात्रुलाई विभिन्न सुविधाका प्याकेज बनाएर दिनुपर्ने बताए । उनले हवाइ सेवामा पहिलो प्राथमिकता यात्रुको सुरक्षा हुने भएकाले गौतमबुद्ध विमानस्थलको अधिकतम सुरक्षाका लागि ‘आइएलएस लोयर भिजिविलिटी’ परीक्षण गर्न एयरलाइन्सलाई अनुरोध गरिएको जानकारी दिए ।
नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्तले वर्तमान समयमा विमानस्थलको सञ्चालनले नयाँ आशा जगाएको बताउँदै यस अवसरलाई सकारात्मक ढङ्गले लिएर अघि बढ्नुपर्ने बताइन् । नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले गण्डकी प्रदेशका सबै पर्यटन व्यवसायीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोग गर्ने बताए । उनले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित भएमा लुम्बिनी प्रदेश मात्रै नभएर सिङ्गो देशलाई फाइदा पुग्ने बताए ।
यस्तै सुदुरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले सुदुरपश्चिम र कर्णालीको लागि भैरहवा सबैभन्दा पायक पर्ने बताए । नाट्टा लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले गौतम बुद्ध विमानस्थल भइरहेको उडानलाई नियमित गराउन पर्ने बताए । कार्यक्रममा पर्यटन क्षेत्रमा पत्रकारीताका माध्यमबाट योगदान पु¥याएको भन्दै राष्ट्रिय समाचार समिति लुम्बिनी प्रदेश कार्यालय प्रमुख भरत केसीलाई सम्मान गरिएको थियो ।