क्यान्सर मनोविज्ञान

मनोबल मजबुत भएको खण्डमा क्यान्सर जस्ता प्राण घातक रोगहरु सजिलै जित्न सकिन्छ ।

मेचीकाली संवाददाता

२२ माघ २०८१, मंगलवार
34 shares

ओम बानियाँ

आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । क्यान्सरविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ । यस वर्ष ‘United by Unique’ नारा तय गरीएको छ । क्यान्सर रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ ।

गत वर्ष भारतको रायपुर निवासी एक युवतीले आफूलाई क्यान्सर रोग लागेको थाहा पाएपछि आमाको साडीले घाँटीमा पासो लगाएर आत्महत्या गरिन् । यसरी आत्महत्या गर्ने क्यान्सर पीडितहरुको संख्या भारतमा मात्र हरेक वर्ष १० हजार भन्दा बढी हुने गरेको इण्डियन जर्नल अफ क्यान्सरमा प्रकाशित एक अध्ययनले देखाएको छ । नेपालमा पनि यस किसिमका आत्महत्याहरु निकै हुने गर्छन् । तर नेपालमा यसरी आत्महत्या गर्नेको संख्या कति छ, एकिन तथ्यांक भने छैन ।

क्यान्सर पीडितले यसरी आत्महत्या गर्नुका अनेक कारणहरु छन् । पहिलो कारण त मनोसामाजिक नै हो । अहिले पनि आम जनमानसको मनमस्तिष्कमा क्यान्सर भनेको प्राणघातक रोग हो, यो रोगको कुनै उपचार छैन, यो रोग लाग्यो त मान्छे म¥यो, यस रोगले घरखेत स्वाहा गराउँछ, परिवारलाई बिचल्ली बनाउँछ भन्ने भय, त्रास र डरको धारणा छ । त्यसैले आफूलाई क्यान्सर लागेको थाहा पाएपछि अब मरिने भइयो, परिवारको बिचल्ली हुने भयो, उपचारले घरखेत हुने भयो भनेर कतिपयले त आत्महत्या नै गर्छन् । सामाजिक अपमान तथा पारिवारिक अपहेलना सहन नसकेर पनि कतिपय क्यान्सर पीडितले आत्महत्या गरेको पाइन्छ । क्यान्सरको पीडा नसहन नसकेर पनि आत्महत्या गर्छन् । यसरी आत्महत्या गर्ने दर अल्पविकसित र विकासशील देशहरुमा निकै बढी छ ।

तर, आममानिसको मनमस्तिष्कमा क्यान्सर ठिक नहुने प्राण घातक रोगको रुपमा रहेको भएता पनि अहिले आएर थुप्रै प्रकारका क्यान्सरहरु उपचारयोग्य भइसकेका छन् । शल्यक्रिया, किमोथेरापी, विकिरण उपचार, लक्षित उपचार, इम्युनोथेरापी तथा अन्य उपचार विधिहरूमा भएको क्रान्तिकारी प्रगतिले गर्दा रोग सुरुमै थाहा पाइएको खण्डमा यस रोगको उपचार सम्भावना उच्च छ । क्यान्सर निको भएपछि मानिसहरू सामान्य जीवनमा फर्किन सक्छन् । उदाहरणका लागि अभिनेत्री मनिषा कोइरालालगायतका व्यक्तिहरुको नाम लिन सकिन्छ ।

विकसित देशहरूमा क्यान्सरको उपचारपछि पाँच वर्ष जीवित रहने दर झन्डै ७० प्रतिशतभन्दा माथि छ । सन् २०२३ मा अमेरिकामा १९ लाख ५८ हजार ३ सय १० क्यान्सर निदान भएका व्यक्तिमध्ये करिब दुईतिहास क्यान्सरका विरामीहरु बाँच्न सफल भएका छन् । नेपालमा पनि जनचेतना तथा उपचार प्रविधिका कारण बाँच्ने दर बिस्तारै सुध्रिदै गएको छ ।

क्यान्सरको जोखिम पूर्ण रूपमा हटाउन नसकिए तापनि उल्लेखनीय रूपमा घटाउन सकिने प्रमाणित उपायहरू छन् । धेरैजसो क्यान्सर वातावरणीय प्रभाव र जीवनशैलीसँग सम्बन्धित छन् । केही क्यान्सरहरूका निश्चित कारण अझै अज्ञात छन्, तापनि अनुमान गरिन्छ कि लगभग ८० प्रतिशत क्यान्सर उचित जीवनशैली परिवर्तनहरूबाट नै रोक्न सकिन्छ । जस्तो कि धूमपान र मद्यपान त्याग्दा फोक्सो, मुख, घाँटी र कलेजो क्यान्सरको जोखिम कम हुन्छ । सन्तुलित आहार (प्रशस्त फलफूल, तरकारी, रेशायुक्त खाना) र कम बोसोयुक्त खानाले क्यान्सर रोकथाममा सहयोग गर्छ । नियमित व्यायाम र स्वस्थ तौल कायम राख्दा स्तन, कोलोरेक्टल आदि थुप्रै क्यान्सरको जोखिम घट्छ ।

छालाको क्यान्सरबाट जोगिन सूर्यको किरणबाट छालालाई बचाउनु आवश्यक छ । यसका लागि सनस्क्रिन तथा सुरक्षात्मक कपडा उपयोग गर्न सकिन्छ । समयमै क्यान्सर स्क्रिनिङ गराउनु क्यान्सरबाट जोगिने महत्वपूर्ण उपाय हो । ४० वर्ष नाघेकापछि महिलाका लागि म्यामोग्राफी र सर्वाइकल क्यान्सर स्क्रिनिङ, साथै पुरुषका लागि प्रोस्टेट वा अन्य आवश्यक परीक्षणहरू समय समयमा गराउनु राम्रो हो । हेपाटाइटिस बी तथा एचपीभी जस्ता खोपहरू लिने हो भने पनि कलेजो तथा सवाइकललगायतका क्यान्सरहरुबाट बच्न सकिन्छ ।

केही महिनासम्म लगातार तौल घट्दै जानु, भोक मर्नु, कारण नखुलेको ज्वरो आउनु, थकान, शरीरको कुनै अङ्गमा गाँठागुँठी देखिनु, दिसा वा पिसाबमा रगत देखिनु, वा लामो समयदेखि खोकी लागि रहनु जस्ता लक्षणहरू देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गराउनु क्यान्सरको जोखिमबाट जोगिने उत्तम उपाय हो । त्यो किनभने यस्ता लक्षणहरू क्यान्सर जस्ता गम्भीर रोगहरुको सङ्केत हुन सक्छन् । त्यसैले समयमै जाँच र उपचार गर्दा निको हुने सम्भावना उच्च हुन्छ । अतः यसरी जीवनशैलीमा सुधार, नियमित स्वास्थ्य परीक्षण र समयमै चिकित्सकीय परामर्श लिएर क्यान्सरको जोखिम घटाउन र उपचार सम्भावनालाई बढाउन सकिन्छ ।
यहाँ उल्लेखनीय अर्को कुरा के भने ब्रेन ट्युमरका कतिपय केसमा व्यक्तिमा दुश्चिन्ता तथा डिप्रेसनका लक्षणहरु पनि देखिने गर्छन् । दीर्घ मानसिक तनावमा रहने व्यक्तिमा ३२ प्रतिशतले क्यान्सरको जोखिम बढ्ने सम्भावना रहेको अध्ययनले देखाएको छ । तनावले क्यान्सर मात्र होइन अधिकांश नसर्ने रोगहरुको जोखिम बढाउँछ । त्यसैले क्यान्सर रोकथाम तथा उपचारमा तनाव व्यावस्थापन पनि उत्तिकै महत्पूर्ण छ ।
सबै भन्दा महत्वपूर्ण कुरा त व्यक्तिको मनोबल नै हो । स्मरण रहोस् कुनै पनि रोग ठिक पार्ने काम शरीरले आफैँ गर्छ । औषधी तथा मेडिकल इन्टर्भेन्सनहरु त सिर्फ साधानहरु मात्र हुन् । जुन व्यक्तिको इम्युनिटी मजबुत छ, उक्त व्यक्तिलाई सितिमिति रोग नै लाग्दैन, लागि हाले पनि ठिक भइहाल्छ । मनोबल उच्च भएको व्यक्तिको इम्युनिटी पनि मजबुत हुन्छ । त्यसैले क्यान्सरको उपचारमा यसको मनोवैज्ञानिक पक्षलाई पनि महत्व दिनु आवश्यक छ । त्यो के भने आफू वा आफ्ना प्रियजनलाई क्यान्सर भएको थाहा भएपछि अधिकांश व्यक्तिमा दुश्चिन्ता तथा डिप्रेसन जस्ता मानसिक समस्याहरु देखा पर्ने गर्छ । यस प्रकारका मानसिक तनावले व्यक्तिलाई थप समस्या पार्ने मात्र होइन कि क्यान्सर उपचारको प्रभावकारितामा समेत असर गर्न सक्दछ । त्यसैले क्यान्सर विरामीको उपचारमा साइको अन्कोलोजिष्ट तथा क्यान्सर साइकोलोजिष्टको मनोचिकित्सा पनि महत्वपूर्ण हुन्छ ।
क्यान्सर मनोवैज्ञानिक एक यस्तो मानसिक स्वास्थ्य विशेषज्ञ हुन् जसले क्यान्सर भएका व्यक्ति तथा उनीहरूका परिवारलाई क्यान्सरले पैदा गर्न सक्ने भावनात्मक र मनोवैज्ञानिक चुनौतीहरूको सामना गर्न मद्दत गर्दछन् । रोगीमा देखा पर्न सक्ने तनाव र चिन्ताको व्यवस्थापन गर्न र यस्ता मनोवैज्ञानिक समस्याहरुको सामना गर्ने क्षमताहरू विकास गर्न मद्दत गर्छन् । क्यान्सर मनोवैज्ञानिकको उद्देश्य भनेको नै क्यान्सर उपचारमा व्यक्तिको मनोबल बढाउनु हो । त्यो किनभने व्यक्तिको मन दह्रो भएको खण्डमा नै क्यान्सर जस्ता प्राण घातक रोगहरु जित्न सकिन्छ ।

मानिसको मनोबलले क्यान्सर लगायतका असाद्य रोगहरु जितेका अनेक उदाहरणहरु छन् । मैले क्यान्सर जित्छु, म फेरि स्वस्थ हुन्छु भन्ने इच्छा शक्ति मजबुत बनाउन योग, ध्यान तथा प्राणायाम, सकारात्मक जीवनशैली तथा कग्निटिभ बिहाभियर थेरापी जस्ता साइकोलोजिकल इन्टर्भेन्सनहरु निकै उपयोगी हुने तथ्य अनेक वैज्ञानिक अध्ययनहरुले समेत पुष्टि गरेका छन् ।

कुनै मानसिक समस्या हुन् या क्यान्सर जस्ता प्राण घातक रोगहरु हुन्, यस्ता रोगहरुको उपचारमा म्युजिक थेरापि तथा मुभि थेरापिले पनि महत्वपुर्ण भुमिका निभाउन सक्छन् । उदाहरणको लागि क्यान्सरको उपचार गराइरहेका व्यक्तिहरुले राजेश खन्ना तथा अमिताभ बच्चन आदिद्वारा अभिनित ऋषिकेश मुखर्जीको हिन्दी फिल्म आन्नद हेर्न उपयुक्त हुन्छ । यस फिल्मले मानिसलाई मृत्युको डरले मरेर होइन, जति बाँचिन्छ हाँसेर तथा रमाएर जिउन सिकाउँछ ।

अन्त्यमा हिजोआज विश्वव्यापिरुपमा नै क्यान्सरको उपचार सम्भव हुँदै गएको छ । अहिलेको वास्तविकता के हो भने क्यान्सरको उपचार महँगो भएता पनि क्यान्सरपछि पनि जीवन छ । त्यसैले क्यान्सरप्रति भयभित हुने होइन, त्रसित हुने होइन, सजग र सचेत रहने हो र आफ्नो जीवनशैली ठिक राखेर क्यान्सर लगायतका कुनै पनि रोगहरु लाग्न नदिनु नै बुद्धिमानी हो ।