खेलकुद प्रवद्र्धनको सार्थक पहल

मेचीकाली संवाददाता

२० फाल्गुन २०८१, मंगलवार
11 shares

रुपन्देहीको सैनामैना नगरपालिकामा पहिलोपटक आयोजना भएको सुनगाभागा सैनामैना गोल्डकप फुटबल प्रतियोगिता स्थानीय खेलकुद विकासको महत्वपूर्ण कोशेढुङ्गा बन्न सक्छ । प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने मात्र नभई यस क्षेत्रकै फुटबल पर्यटनलाई पनि टेवा पुग्ने विश्वास गरिएको छ । नेपालका दुई विभागीय टिमसहित १० वटा टिमको सहभागिता रहने यस प्रतियोगिताले उच्च प्रतिस्पर्धात्मक माहोल सिर्जना गर्नसक्छ ।
प्रतियोगिताको मुख्य आकर्षण भनेकै यसक्षेत्रको ठूला पुरस्कार राशि, विदेशी खेलाडीहरूलाई समावेश गर्ने अवसर र खेलाडीहरूको व्यावसायिक वृद्धिका लागि ‘ए’ डिभिजन क्लबहरूसम्मको पहुँच हो । स्थानीयस्तरबाट खेलाडी उत्पादन गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गराउने मार्ग प्रशस्त गर्न पनि यस्ता प्रतियोगिताहरू माध्यम बन्ने निश्चित छ । प्रतियोगिताहरुको निरन्तरताको भने खाँचो छ ।
स्थानीय सरकार, व्यवसायी तथा खेलप्रेमीहरूको सहकार्यमा ६० लाखभन्दा धेरै रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता केवल फुटबल प्रतियोगिता मात्र नभई यसक्षेत्रको समग्र खेलकुद क्षेत्रको उत्थानका लागि प्रभावकारी मञ्च बन्न सक्ने विश्वास गरिएको छ । खेलकुदका लागि भएको एक प्रकारको सहकार्य, समन्वय र सहभागिताले खेलमय वातावरण पनि बनाएको छ । नेपालमा खेलकुदको भविष्य उज्ज्वल बनाउन तीनै तहका सरकारले खेल पूर्वाधारको विकासमा थप लगानी गर्न आवश्यक छ ।
सैनामैना गोल्डकप जस्ता प्रतियोगिताहरूलाई संस्थागत रूपमा प्रवद्र्धन गर्दै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलाडीहरूको पहुँच सुनिश्चित गरिनुपर्छ । खेलकुद क्षेत्रमा सार्वजनिक–निजी सहकार्यको खाँचो रहँदै आएको सन्दर्भमा राज्यले पनि खेल मैदानहरूको स्तरोन्नति, खेलाडी प्रशिक्षण तथा आवश्यक लगानीको सुनिश्चितता गर्दै खेल पर्यटन प्रवद्र्धनमा नीति निर्माण गर्नुपर्ने देखिन्छ ।
नेपालमा फुटबल लोकप्रिय खेल हो तर पर्याप्त पूर्वाधार, प्रशिक्षक र अवसरको अभावमा धेरै खेलाडीहरू आफ्नो प्रतिभा निखार्नबाट वञ्चित छन् । सैनामैनामा यो प्रतियोगिताको आयोजना हुनु केवल खेल मनोरञ्जनका लागि मात्र नभई स्थानीय खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने महत्वपूर्ण माध्यम बन्न सक्छ । प्रतियोगितामा विभागीय टिमहरूसहित भारतको क्लब सम्मिलित हुनु, स्वदेशी खेलाडीहरूलाई अनुभव बटुल्ने सुनौलो अवसर हो ।
प्रतियोगिताको सफलताले स्थानीय व्यवसाय, पर्यटन प्रवद्र्धन र समग्र क्षेत्रको आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्नेछ । खेल मैदान सुधार, नयाँ पूर्वाधार निर्माण र नियमित प्रशिक्षणको अवसर प्रदान गर्ने हो खेलाडीको उत्पादन बढाउन सकिन्छ । स्थानीय युवाहरूका लागि फुटबललाई व्यावसायिक करियरका रूपमा अघि बढाउने मार्ग खोल्ने विश्वास गर्न सकिन्छ ।