राज्यका नीति, योजना र कार्यक्रमलाई व्यवहारमा उतार्ने मुख्य जिम्मेवारी निजामती सेवाको काँधमा हुन्छ । लोकतान्त्रिक शासन व्यवस्थामा सरकार परिवर्तन भइरहन्छ तर राज्यको स्थायी संयन्त्रका रूपमा कर्मचारीतन्त्रले निरन्तर सेवा प्रवाह गरिरहनुपर्छ । त्यसैले सुशासन, विकास र सेवा प्रवाहको गुणस्तर कर्मचारीतन्त्रको कार्यक्षमतासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । यद्यपि पछिल्लो समय निजामती कर्मचारीको मनोबल खस्किएको, कार्यसम्पादनमा उत्साह घटेको तथा प्रशासनिक संयन्त्रप्रति जनविश्वास कमजोर बन्दै गएको अवस्था चिन्ताजनक छ । जनविश्वास कमजोर हुँदा त्यसले नतिजा पनि नकारात्मक नै दिने हो ।
कर्मचारीतन्त्रभित्र रहेका कमजोरीलाई नकार्न सकिँदैन । ढिलासुस्ती, जिम्मेवारीबाट पन्छिने प्रवृत्ति, अनावश्यक प्रक्रियागत जटिलता तथा केही कर्मचारीको गैरजिम्मेवार व्यवहारले राज्यप्रति नागरिकको विश्वासमा असर पारेको छ तर सम्पूर्ण कर्मचारी संयन्त्रलाई एउटै दृष्टिकोणबाट हेर्नु पनि न्यायोचित हुँदैन । हजारौं कर्मचारी इमान्दारीपूर्वक सेवा प्रवाहमा समर्पित छन् । इमानदार र मेहनतले खारिएका छन् । त्यसैले सुधारको नाममा त्रास सिर्जना गर्नुभन्दा परिणाममुखी व्यवस्थापनमा जोड दिन आवश्यक छ । सबैलाई एउटै डालोमा हालेर नकारात्मक सोंच राख्दै हतोत्साहित बनाउनु उचित हुँदैन ।
राज्यको ध्यान कर्मचारीलाई डराउने वा केवल नियन्त्रण गर्नेभन्दा पनि कामकाजी, जिम्मेवार र उत्प्रेरित बनाउनेतर्फ केन्द्रित हुनुपर्छ । राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन, पुरस्कार र अवसरको व्यवस्था गरिनुपर्छ । कार्यसम्पादनका आधारमा मूल्याङ्कन गर्ने प्रणालीलाई प्रभावकारी बनाउँदै उत्कृष्ट कर्मचारीलाई सम्मान र पदोन्नतिमा प्राथमिकता दिनुपर्छ । यसले प्रतिस्पर्धात्मक र सकारात्मक कार्यसंस्कृति निर्माण गर्न सहयोग पु¥याउँछ । सबैलाई एकोहोरो गाली मात्रै गरेर समाधान निस्कन सक्तैन र काम गर्नेलाई हौसला नमिल्दा नतिजा पनि राम्रो आउँदैन ।
त्यसैगरी कमजोर कार्यसम्पादन गर्ने वा जानाजानी जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई सुधारको अवसर दिनुपर्छ । आवश्यक तालिम, क्षमता विकास र मार्गदर्शनमार्फत उनीहरूको दक्षता अभिवृद्धि गरिनुपर्छ । सुधारको अवसर हुँदाहुँदै पनि गैरजिम्मेवार व्यवहार दोहोरिने अवस्थामा भने कानुनी र प्रशासनिक जवाफदेहितालाई कडाइका साथ लागू गर्नुपर्छ । दण्ड र प्रोत्साहनबिचको उचित सन्तुलनले मात्र प्रशासनिक सुधार सम्भव हुन्छ ।
सुशासनको आधार डरमा होइन, विश्वासमा टिकेको हुन्छ । कर्मचारीलाई राज्यका साझेदारका रूपमा व्यवहार गर्दै पारदर्शी, निष्पक्ष र परिणाममुखी प्रशासनिक प्रणाली निर्माण गर्न सकिएमा मात्र नागरिकले अपेक्षा गरेको सेवा प्रवाह सम्भव हुनेछ । सक्षम, उत्प्रेरित र जवाफदेही कर्मचारीतन्त्र नै समृद्ध नेपालको बलियो आधार हो । निजामती सेवामा हतोत्साहित हुनेगरी एकोहोरो दण्ड होइन, प्रोत्साहनसहितको सुधार जवाफदेहीता वहनमा केन्द्रित हुने संस्कृतिको विकास गर्नुपर्ने छ ।
