हरेक वर्ष मनाइने विश्व मिर्गौला दिवस आज नेपालमा पनि मनाइएको छ । मानव स्वास्थ्यसँग सम्बन्धित एक गम्भीर तर प्रायः बेवास्ता गरिने समस्यातर्फ विश्वको ध्यान केन्द्रित गराउँछ यो दिवसले । यस वर्षको सन्देश ‘सबैका लागि मिर्गौला–स्वास्थ्यः मानिसको हेरचाह, पृथ्वीको संरक्षण’ अत्यन्त सान्दर्भिक र समयानुकूल छ । यो नाराले मिर्गौला रोग केवल मधुमेह वा उच्च रक्तचापको परिणाम मात्र नभई वातावरणीय अवस्था, जलवायु परिवर्तन, काम गर्ने वातावरण र जीवनशैलीसँग समेत गहिरो रूपमा जोडिएको तथ्यलाई स्पष्ट पार्छ ।

विश्वव्यापी रूपमा मिर्गौला रोग एक गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ । विश्वका करिब ८५ करोड मानिस कुनै न कुनै प्रकारको मिर्गौला रोगबाट प्रभावित रहेको अनुमान छ । भने लाखौं मानिस डायलाइसिस वा प्रत्यारोपणमा निर्भर भएर जीवन धानिरहेका छन् । दीर्घकालीन मिर्गौला रोगका कारण हरेक वर्ष लाखौं मानिसको ज्यान जाने गरेको तथ्यले यसको गम्भीरता झन् प्रस्ट पार्छ । यस्तै प्रवृत्ति जारी रह्यो भने सन् २०५० सम्ममा यो रोग विश्वमा मृत्युको प्रमुख कारणहरूमध्ये एक बन्ने जोखिम देखिएको छ ।
नेपालमा पनि मिर्गौला रोगको भार तीव्र गतिमा बढिरहेको छ । मधुमेह र उच्च रक्तचाप यसको प्रमुख कारण भए पनि वैदेशिक रोजगारीमा गएका श्रमिकहरूमा देखिएको मिर्गौला फेलको समस्या विशेष चिन्ताको विषय बनेको छ । अत्यधिक गर्मीमा लामो समय काम गर्नु, पर्याप्त पानी नपिउनु, आरामको अभाव र नियमित स्वास्थ्य परीक्षण नहुनुले मिर्गौलामा गम्भीर क्षति पुग्ने देखिएको छ । यसबीच नेपालले उपचार सेवामा केही महत्वपूर्ण प्रगति पनि हासिल गरेको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको स्थापना भएपछि देशमै मिर्गौला तथा कलेजो प्रत्यारोपण सम्भव भएको छ । यद्यपि यसलाई सहज र सरल बनाउन जरुरी छ ।
मिर्गौला रोगबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय भनेको समयमै सावधानी अपनाउनु हो । पर्याप्त पानी पिउने, स्वस्थ जीवनशैली अपनाउने, प्रदूषण घटाउने, स्वच्छ पानी र वातावरणको संरक्षण गर्ने तथा नियमित स्वास्थ्य परीक्षण गराउने जस्ता साधारण उपायहरूले ठूलो जोखिम कम गर्न सक्छन् । यसपालिको विश्व मिर्गौला दिवसले हामीलाई एउटा स्पष्ट सन्देश दिएको छ–मिर्गौला जोगाउनु भनेको केवल व्यक्तिगत स्वास्थ्यको विषय मात्र होइन, वातावरण र समाजप्रतिको साझा जिम्मेवारी पनि हो । यदि आजै सचेतना र संरक्षणको बाटो रोजेनौं भने भोलि यसको मूल्य धेरै ठूलो हुन सक्छ । मिर्गौला बचाऔँ, स्वस्थ जीवन र सुरक्षित भविष्य निर्माण गरौँ ।
