

मुक्तिनाथ गैह्रे
उनानब्बे वर्षको उमेरकी वृद्धा, छ जना छोराछोरी जन्माएर संघर्षसहित हुर्काएको कष्टकर पृष्ठभूमि, बाल विवाहको अनुभवदेखि वृद्धअवस्थामा देखिएको जेन जी अर्थात् डिजिटल पुस्तासम्म सबै सबैका लागि प्रेरणाका स्रोत एक महान् माताको महिमा संक्षिप्तमा उल्लेख छ । निरक्षरताका बावजूद महानता, नारीवाद, वात्सल्य, सभ्य संस्कार, ऊँचो प्रतिष्ठा, विशाल हृदय, गहिरो ज्ञान आदिका लागि विश्वविद्यालय नगएपनि हुँदो रहेछ भन्ने उहाँको जीवनीले जाज्वल्य उदाहरण दिएको छ । यही २०८१ चैत्र २९ गते शुक्रबार (आज भन्दा नौ दिन अघि) उहाँको देहावसान हुँदा उनान्नब्बे वर्षमा यात्रारत हुनुहुन्थ्यो ।

झण्डै एक शताब्दी लामो जीवनमा तत्कालीन बालविवाहपछिका बुहार्तनदेखि अहिलेको उत्तरआधुनिक अवधिसम्म पक्कैपनि अकल्पनीय उतार चढाव बेहोर्नुभयो । ती सबको एक एक टिप्पणीका लागि पुस्तक नै लेख्नुपर्ला । संक्षिप्तमा, उहाँ सबैजसो मानवीय गुणले ओतप्रोत व्यक्तित्वबाट प्रभावित भएकै कारणले यो आलेख समर्पित छ । सादाभित्रकी विशिष्ट पात्र भुनादेवी पाण्डेय नातामा भने मेरा दिवङ्गत पिताजी पण्डित वेद विश्वनाथ गैह्रेकी ठूली माइजु (दिवङ्गत पण्डित जीवप्रसादकी पत्नी) तिलोत्तमा–९, प्रेमनगर निवासी हुनुहुन्छ । तर, यो आलेख नाताभन्दा माथि नैतिक नेतृत्वमा निहित छ ।
उहाँलाई जान्ने बुझ्ने सबैमा शीतलताको आभा उपलब्ध गराउन सक्ने, दिनुमा नै देवत्व देख्ने, कल्याण नै कर्म ठान्ने, अभिभावकत्वलाई अग्रपंक्तिमा राख्न सक्ने त्यस्तो भव्य व्यक्तित्व अन्यत्र कहाँ ? करीब ३५ वर्षअघि जब म बालकै थिएँ, घरका दर्जनौ गाईवस्तु, करीब ३÷४ विगाहा जमीनको बाह्रमासे खेती आदि सबै सकेर पनि इष्टमित्र र सामाजिक सेवामा पूर्ण भावना सहितको समर्पण कुन विश्वविद्यालयले देखाउन सक्ला ? आफ्ना आधा दर्जन सन्तानसहित भाञ्जाभाञ्जीको समेत विशेष ख्याल, अध्यापन कार्य, घरसंसार बसाइदिने कार्य, इष्टमित्र प्रशस्त भिज्न सक्ने विषय आजका नारी पुरूष सबैका लागि प्रेरणादायी छन् । आफ्ना प्रत्यक्ष १५ जना पनाति पनातिना, २० जना नाति नातिना र देवर सन्तति तथा चेली सन्ततिसमेतलाई उत्तिकै ध्यान दिई पुरै समुदायमा भित्रैदेखि भिज्न सक्ने व्यक्तित्वको विषय अबको अध्ययन हुनसक्दछ ।
हाम्रो लागि र वरपरका छर छिमेकीसमेतका लागि उत्कृष्ट अभिभावकत्व दिनुहुने आदरणीय हजुरआमाको अभाव अहिले दिनप्रतिदिन अझ गहिरो हुँदै गएको छ । उहाँले प्रदान गर्नुभएको वात्सल्य चिरकाल पर्यन्त म र मेरो परिवारबाट सञ्चरित त हुँदै जानेछ नै, उहाँलाई चिन्ने जान्ने लोकले समेत लोक गाथा बनाउन लायक छ । मानवीय गुणस्वरूप परिवार बाहिरका, नचिनेका समेतलाई ममता वर्र्षाउन सक्ने वात्सल्य अपूर्व छ अनुकरणीय छ र अद्वितीय छ । यसको चर्चा शब्दमा मैले धेरै गर्न सक्दिन जस्तो लाग्छ । तर थोरै थोरै भएपनि लेख्न सक्दा केही आत्मसन्तुष्टिको अनुभूति भइरहेछ ।
२०४५ सालतिर हामी उहाँहरूकै सान्निध्यमा रहनेगरी तराईमा बसाई सरी आयौं । त्यसबखत आफ्ना भान्साका सामग्री हामीकहाँ पु¥याइदिनेदेखि हामी बस्न मिल्ने कच्ची घर बनाइदिने, चाडपर्वका लागि मिठो मसिनो उपलब्ध गराउनेदेखि, सब्जी, दाउराको बन्दोबस्तीसम्म कति देखेको ? कति भ्याएको ? आफ्नो रोपाईँ बिचैमा छोडेर हलगोरू र खेतारासहित हाम्रोमा रोपाईँ गरिदिने सम्मका योगदान अपूर्व र अवर्णनीय छन् । यी र यस्तै कार्य उहाँलाई चिन्ने जान्नेले देख्दै र भोग्दै आए ।
यतिमात्र विषय पनि अहिलेका मानविकीशास्त्रका अध्ययनका विषय हुनसक्छन्, मानवशास्त्रका अनुसन्धान बन्न सक्छन्, जो उत्तर आधुनिक समाजका लागि अपरिहार्य बनिरहेछन् । सद्भावको अभियन्ताका हिसाबले उहाँको उचाइ अरुले भेट्न सक्लान् तर उहाँ अद्वितीय हुनुहुन्छ भन्ने यो पंक्तिकार मात्र होइन उहाँलाई चिन्नेजति एकमत छन् । यो उदाहरण मात्र जनमानसमा जान सके निस्वार्थताको प्रशिक्षण आवश्यक पर्ने थिएन कि ? एक बालिका जो विद्यालय जान पाउनुभएन, जसको बालविवाह भयो जो पतिका घरमा आइपुग्दा आफ्ना सासूससुरासहित धेरै अन्य धेरैभाइ ससुराहरुसमेत अनि नातागोताको मानसम्मान गर्नुपर्ने, छोराछोरीदेखि भाञ्जाहरु समेतलाई हुर्काउनुपर्ने र पढाउनुपर्ने खेतीपाती गर्नुपर्ने र बालबच्चा जन्माएर त्यो सँगसँगै हुर्काउनु पर्ने परिस्थिति कुनै कुनै एक महान नारीले मात्रै गर्न सक्ने कुरा हो ।
तराईको औलो चोरको डर, बर्खाको असुरक्षा, सन्तति जन्माउने–हुर्काउने अनि आफ्नो पारिवारिक आर्थिक क्रान्ति गर्ने र परिवारलाई समृद्ध बनाउने यी सबै काम सहजै सम्पन्न पटक्कै पनि भएनन् । करिब ६ दशक अगाडिदेखिको समय अवश्य पनि सुन्दा र भन्दा कहाली लाग्दो नै छ त्यतिबेलाको असुरक्षा, बाटोघाटो विहीन बस्ती, अस्पताल–औषधीदेखि टाढा, विशेषगरी चोर ढाँकाको बिगबिगी अनि बषात्का कामका चाप, बाढी, भेल, सर्प आदि ती सबैसँग जुध्ने त छँदै थियो । बिजुलीबत्ती नभएको बेला अहिले जस्तो ग्याँस नपाइने बेला, चिसा दाउराले इन्धनको काम गर्नुपर्ने बेला, धेरै हल रागा गोरु अनि गाईभैंसी पाल्नुपर्ने बेला आदिका बीचको भागीरथ संघर्षले नै हुनुपर्छ त्यो दिव्य धैर्यता, शालीनता, करूणा र दानशीलता पपिक्व बनाएको ।
त्यसका बावजुद परिस्थितिले ल्याएका विभिन्न घटनाक्रमहरू सागरझैँ सहँदैसहँदै आउनुभयो । अत्यन्तै माया प्रेम गर्ने कनिष्ठ सन्तानहरूको आफ्नै आँखा अगाडिको भौतिक अवसान पनि यसरी सहन गर्नुभयो मानौँ प्रकृतिको क्रुरतालाई समेत उहाँले राम्ररी बुझ्नुभएको थियो । उहाँका यिनै मौन अनि विशाल हृदयका कारण परिवारका अन्य सदस्यलाई यी घटनाक्रमहरु चित्त बुझाउने माध्यम बन्न पुगे । तर उहाँको हिमाल झैँ विशाल छातीभित्र उम्लिएको ज्वालामुखी पक्कै पनि डरलाग्दो हुँदो हो । जुन हामीले महसुस गर्न सकेनौं वा पाएनौ ।
सदैव सत्कर्म, दान, परोपकार–उपकार, शालिनता, सौम्यता, आनन्दमय त्यो मुहार दिव्य थियो, दिव्य छ र दिव्य आकृति सदैव रहिरहनेछ, हामीबीच । हाम्रा लागि यतिको प्रेरणा भरिदिने अर्को भगवान् कहाँ पो भेटिएला र ? यस्ता देवत्व रत्नको अन्तिम विदाईमा सागरसम्म पुग्ने उत्कृट चाहना कसैलाई दिएका वचन र तय भएका कार्यक्रमको कर्मले अपुरो नै बनाइदियो, पार्थिव शरीरमा पुष्पार्पण गर्नुमै मैले चित्त बुझाउनुप¥यो । उहाँका सन्ततिहरू खगेश्वर, भरतराज, घनश्याम पाण्डेय, राधा गैह्रे र मथुरा खनाल तथा सम्बद्ध परिवारप्रति समवेदनासहित दिवंगत हजुरआमाको सुखद वैकुण्ठबासको कामना गर्दछु ।