

अमृत गिरी
बुटवल। आज वैशाख ७ गते अर्थात् तत्कालीन विश्व विजेता अंग्रेजलाई नेपालले पराजित गरेको दिन । आजैका दिन नेपाली सेनाले त्यसबेलामै आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बुटवलको जितगढीमा पराजित गरेर धपाएका थिए । यद्यपि उक्त युद्धमा कैयौं नेपाली वीर योद्धाहरुको पनि ज्यान गएको थियो ।
केही वर्षअघिसम्म बुटवलस्थित ऐतिहासिक जितगढी किल्ला ओझेलमा परेको थियो । तिनाउ नदीमा बनेको पुल, नजिकैको कभर्ड हल, सार्वजनिक भवन र तीनतिरबाट भएको अतिक्रमणले किल्ला क्षेत्रको ऐतिहासिक स्वरूप नै चेपुवामा परेको थियो । केटाकेटीको खेलमैदानजस्तो देखिने किल्ला अहिले भने पहिचान र स्वाभिमानको प्रतीक बन्दै गएको छ ।

गुरुयोजनामार्फत कायापलटको प्रयास
गौरवमय गाथा बोकेको जितगढी सम्पदा स्थललाई ओझेलबाट उज्यालोतर्फ लैजाने कोसिस भइरहेको छ । तर, यो काममा ढिलासुस्ती र बेवास्ता पनि उत्तिकै भइरहेको छ । विश्व विजेता अंग्रेजलाई नेपालले पराजित गरेको यो ऐतिहासिक स्थल, त्यसबेलाकै गढी किल्लाका संरचनाहरु अतिक्रमति छन्, केही त तिनाउ खोलाले कटान गरिरहेको अवस्था छ । यसको थप संरक्षण र प्रवद्र्धनको खाँचो छ ।
सं. २०७४ मा निर्वाचित जनप्रतिनिधिहरू आएपछि किल्लाको संरक्षण तथा सम्बद्र्धनको गुरुयोजना तयार पारिएको थियो । तत्कालीन जिल्ला विकास समिति सदस्य शिवराज सुवेदीले थालनी गरेको कामलाई उनी नै मेयर भएपछि निरन्तरता दिए । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको पहलमा संघीय सरकारको सहयोग, प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र पर्यटनमन्त्री लिला गिरी, पूर्वमन्त्री तथा सांसद भोजप्रसाद श्रेष्ठलगायतको सहकार्यले काम अझ प्रभावकारी बन्यो ।
अहिले बुटवलका नगर प्रमुख खेलराज पाण्डेको नेतृत्वमा अरु थप साजसज्जाका काम भइरहेका छन् । अहिले सम्पदा स्थलमा सांस्कृतिक कार्यक्रमसहितका वीरताका गाथा झल्काउने कार्यक्रमहरु गर्ने तयारी छ । आज किल्ला परिसरमा नेपाली सेनाको टोलीले समेत विशेष कार्यक्रम गर्दैछ ।

इतिहास बोक्ने शालिक र संरचनाहरू
किल्ला परिसरमा अब ऐतिहासिक गाथालाई पुनर्जीवित गर्ने संरचना निर्माण भइसकेका छन् । युद्ध स्मरण गर्ने सालिकहरू, डिजिटल जानकारी बोर्ड, हरियाली गार्डेन, राष्ट्रधुनसहितको जलफोहोरा र नेपालकै ठूलो राष्ट्रिय झण्डा अहिले किल्लाको गर्व बनेका छन् । गुरुयोजनाअनुरुप सम्पदा परिसरको सबै जग्गा संरक्षण गर्ने, अधिग्रहण गर्ने र विस्तार गरेर पर्यटनसँगै अध्ययनको एक उपयुक्त गन्तव्य बनाउन सकिने सम्भावना रहेको विज्ञहरु बताउँछन् ।
विजय उत्सवको स्थायी मिति र राष्ट्रिय गौरव
जितगढीमा कहिले विजय भएको थियो भन्ने विषयमा यसअघि एकमत थिएन । थरीथरी तिथि मिति थिए र सोहीअनुरुप कर्मकाण्डी कार्यक्रम गरेर सकिन्थे । तर, बुटवल उपमहानगरपालिकाले २०७४ चैत २६ को नगरकार्यपालिका बैठकमा वि.सं. १८७१ वैशाख ७ गतेलाई विजय उत्सव दिवसको रूपमा आधिकारिक मान्यता दिएपछि यसले प्रमाणित मान्यता पाएको हो । त्यस दिन नेपाली सेनाले अंग्रेज सेनालाई परास्त गरी जितगढीमा विजय प्राप्त गरेको थियो ।

इतिहासकारहरुको खोज र प्रमाणको संकलन
उपमहानगरले इतिहासविद् झपेन्द्र जिसीको संयोजकत्वमा कार्यदल गठन गरी युद्धमा सहभागी तथा सहादत प्राप्त वीर योद्धाको खोजी र प्रमाणिकरण गरेपछि मात्रै शालिक निर्माण गरिएको हो । डा.सूर्यबहादुर जिसी, इतिहासविद् तथा पूर्वउपप्रमुख विमलबहादुर शाक्य, विज्ञ चन्दा रावल, पर्यटनविज्ञ तथा इतिहासविद् निर्मल श्रेष्ठलगायत विज्ञहरूको अनुसन्धान र नेपाली सेनासँगको समन्वयबाट यो सम्भव भएको हो । ती सबै प्रमाणित सामग्रीहरु सोही विजय उत्सव दिवसका अवसरमा उपमहानगरलाई हस्तान्तरण गरिएको संयोजक जिसीले बताए ।
को को थिए जितगढी किल्लाको लडाइँका खास कमाण्डर ?
कर्णेल उजिरसिंहको नेतृत्वमा रहेका वीर योद्धाहरू, नेपाली जनता (गैरसैनिकसमेत) उक्त युद्धमा लडेका थिए । त्यसक्रममा नेपाली सेनाका सरदार सूर्य थापालगायत लेप्टेन अम्बर अधिकारी, कुम्भेदान वुषसुर थापा, जमदार भीमसेन देउजा, जमादार सुरवीर बोहोरा, हवल्दार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, थरघर नकुल बानियाँ, जुठे बस्नेतसहित पाँच सय जना वीरहरुले वीरगति प्राप्त गरेका थिए । तीमध्ये केही वीर योद्धाहरुको पहिचान गरेर सालिक स्थापना गरिएको छ । ती हुन्ः १.कर्णेल उजिरसिंह थापा (सबुज) , २.काजी वीरभञ्जन पौडे (गुरुबक्स कम्पनी), ३.कुम्भेदान कृपासुर थापा, ४.दलखम्ब थापा, ५.समशेर राना मगर, ६.सरदार सूर्जे थापा, ७.लेफ्टिनेन्ट अम्बर अधिकारी, ८.कुम्भेदान वृषसुर थापा, ९.जमदार भीमसेन देउजा, १०.जमदार शूरवीर बोहरा, ११.हवल्दार रणशूर बानियाँ, १२.सिपाही हंशवीर अधिकारी तथा १३.थरघर नकुल बानियाँ र १४.जुठे वस्नेत ।

गोरखा–जितगढी पदयात्रा र विजय उत्सवको तयारी
गोरखाको हनुमान भञ्ज्याङबाट सुरु भएको गोरखा–जितगढी पदयात्रा वैशाख ७ गते ऐतिहासिक किल्लामा पुग्नेछ । किल्लामा बुटवल उपमहानगरपालिकाले विशेष समारोहीबिच स्वागत गर्ने र संयुक्त कार्यक्रमसमेत गरिने उपमहानगर प्रमुख पाण्डेले जानकारी दिए । नेपाली सेनाले दरबार, गढी, किल्ला र पदमार्ग संरक्षण अभियान अन्तर्गत यो पदयात्रा तेस्रोपटक आयोजना गरेको हो । पदयात्रामा श्रीनाथ, कालीबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख र गुरुबक्स गुल्मका गणहरू सहभागी छन् ।
पर्यटनसँगको समायोजनको खाँचो
जितगढी किल्लालाई नजिकैको मणिमुकुन्दसेन दरबार, नुवाकोट गढीलगायत पर्यटन क्षेत्रहरूसँग समायोजन गरेर समग्र क्षेत्रलाई ऐतिहासिक–सांस्कृतिक पर्यटन गन्तव्य बनाउने आवश्यक छ । बुटवलको समग्र पर्यटन विकासका लागि सार्वजनिक–निजी सहकार्यमा र अरु लगानीकर्ताको समेत खोजी गरेर दीर्घकालीन योजना साकार पार्नेगरी काम भइरहेको उपमहानगर प्रमुख पाण्डेको भनाइ छ । बुटवलको पहिचान विस्तार, बस्न योग्य समुन्नत सहरको लक्ष्यअनुरुप सबैको सहकार्यमा योजना साकार पार्नेगरी काम भइरहेको प्रमुख पाण्डेले बताए ।
विजय उत्सव दिवसमा सांस्कृतिक साँझ
वीरताको सम्मानमा कला र संगीतका माध्यमबाट विशेष सांस्कृतिक कार्यक्रमको समेत प्रदर्शनी गरिने भएको छ । विजय उत्सवको अवसरमा बुटवल उपमहानगरको प्रवद्र्धनमा आइतबार साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । देशभक्तिपूर्ण गीत, नृत्य र कलाकारहरूको प्रस्तुतिमार्फत वीर सपूतहरूको सम्मान गरिनेछ । पदयात्रामा सहभागी सेनालाई स्वागत गर्ने कार्यक्रम बिहान हुने नगर उपप्रमुख सावित्रा अर्यालले जानकारी दिइन् ।