प्राचीन इतिहास बोकेको साँस्कृतिक शहर बुटवल

मेचीकाली संवाददाता

२५ जेष्ठ २०८२, शनिबार
159 shares

रीमा बि.सी.

सुनिन्छ त फगत
ब्रोंकाइटिस भएका ट्रकहरूको खोकी
बस्ने उमेर भएका बसहरूको घ्यार्र घ्यार्र
लाहुरेहरूको बुटको आवाज
र मठ्याहा नेपाली बोली ? ‘अच्छा यार

माथि उल्लेखित हरफहरु कवि भूपि शेरचनको ‘भैरहवा’ शीर्षकको कवितामा बुटवलबारे लेखिएका गद्य कविताका हरफबाट लिइएको हो । भूपिले लेखेका गद्य कविताले विकसित हुँदै गरेको आधा शताब्दीअघिको बुटवललाई लक्षित गर्छ । लाहुरेहरू भारत प्रवेश गर्ने नाका र खस्यौलीका भट्टीहरूमा रात बिताउने चिनारी बुटवलको पछिल्लो इतिहास हो ।
बुटवलको इतिहास यतिमात्रै छैन् । अहिले पश्चिम नेपालकै व्यापारिक केन्द्र मानिने बुटवल बटौली अथवा त्यसभन्दा पनि अझ प्राचीन नामबाट विकसित भएको हो। यो अहिले मात्रै होइन, सयौं वर्षअघि पनि गणराज्यको राजधानी र व्यापारिक नाकामध्येको मुख्य नाका पनि थियो ।
बुटवल चीनको तिब्बत र भारतको गोरखपुरको व्यापारिक थलोको विश्राम नाकाको रुपमा पहाडको फेदी र मधेसको सिरान बटौलीका नामले परिचित थियो । बुटवललाई रामदेखि बुद्धसम्म जोडेर इतिहास लेखिएका छन्। हिन्दु धर्मका भगवान् राम बटौली (तिनाउ पश्चिम) हुँदै गण्डकी नुहाउन गुल्मीको रिडी, पाल्पा रामपुरको रामनदी हुँदै गण्डकको भ्रमण गरी खस्यौली (तिनाउ पूर्व) हुँदै अयोध्या पुगेका प्रसंगहरू हुने गर्छन । योगी नरहरिनाथको ‘हाम्रो देश दर्शन’ पुस्तकले बुटवलको इतिहासलाई द्वापर युगदेखि बुद्धकालसम्मको प्रसंगमा व्याख्या गरेको छ ।

बुटवललाई बुद्धावलीको र आदिमानव रामापिथेकसको विचरण भएको क्षेत्रका रुपमा चिनिन्छ । बुटवल क्षेत्रमा बुद्ध डुल्दै आउने गरेको बताइन्छ । तत्कालीन नेपाल–अंग्रेज युद्धमा अंग्रेजलाई परास्त गरेको किल्ला यही बुटवलमा छ । बुटवल उपमहानगरले आर्थिक केन्द्रका साथै बुद्धावलीको पर्यटनको केन्द्रका रुपमा रहेको बुटवललाई बृहत् बुटवलका रुपमा विकास गर्ने अवधारणाका साथ काम गरिरहेको बताएको छ ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बुटवल धेरै जात जाति, समुदायको मिश्रित बसोवास भएको आफ्नै भाषा संस्कृति भएको शहर भएकोले यसको संरक्षण गरी सँस्कृतिलाई जोगाउन सकिएन भने त्यसको महत्व घट्ने भएकोले यसको महत्वलाई बढाउन बुटवल वासीको आवश्यकताको आधारमा कार्यक्रमहरु निर्माण गरिएको बताउनुहुन्छ । नगरप्रमुख पाण्डेले पहिला बुटवललाई यातायात, व्यापार,औद्योगिक क्षेत्रको रुपमा चिनिन्थ्यो र अहिले शिक्षा स्वास्थ्य र पर्यटनको क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको बताउनुहुन्छ ।

बुटवल क्षेत्रको सीमाना १९ वडासँग मात्रै सीमित छैन । पूर्वमा दाउन्ने पहाड र पश्चिममा धानखोलाको पहाड हुनुपर्छ । यस्तै उत्तरमा तानसेन र दक्षिणमा भारतीय सीमाना बेलहिया हुनुपर्छ । यो बीचको भूभाग सबै बृहत् बुटवल हो । सोही अवधारणाका साथ बुटवलको आवधिक र दीर्घकालीन महत्वका योजना छनौट गरी कार्यक्रमहरु केन्द्रित रहेको उपमहानगरका प्रमुख पाण्डेको भनाइ छ ।

नगरप्रमुख पाण्डेका अनुसार बटौलीलाई सांस्कृतिक सहरका रुपमा विकास गर्न जितगढीलाई केन्द्रमा राखेर यहाँका सबै वडामा रहेका पर्यटनका सम्भावनालाई साकार पार्ने योजनाका साथ काम भइरहेको छ । बुटवलको सहरी कृषि प्रवद्र्धन, उद्योग, व्यापारका क्षेत्र, नयाँ तथा उपसहरका क्षेत्रका लागि जग्गाको भौगोलिक अध्ययन गरेरै सहरी विकास गुरुयोजना बनाएकोले सोही अनुसार काम गरिरहेका छौं नगरप्रमुख पाण्डेले भन्नुभयो ।
बुटवल बुद्धकालमा बुद्ध खेल्ने बुद्धवल्ली थियो । योगी नरहरिनाथको प्रसंग कोट्याउँदै डा.टीकाराम पन्थीले लेख्नुभएको छ—बुद्धवल्लीबाटै बुटवल नामकरण भएको हो । यो सहर अहिलेको नभई धेरै पुरानो थियो । बुटवल बुटवलमै सीमित थिएन । बुटवल भलवारीदेखि मुर्गियासम्म फैलिएको थियो (बुटवल दर्पण०६६) यसको आकार पनि । तत्कालीन समयमा तिब्बत र भोटबाट भारत जाने बाटो पनि थियो भन्ने इतिहासविद्हरुको दाबी गर्छन् । बुटवलबाटै लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान रोल्पा लगायतका पहाडमा नुनतेल बोकेर लैजाने गरिन्थ्यो र प्राचीन कालमा व्यापारका लागि यहीँ बाटो प्रयोग हुन्थ्यो । बटौलीको पहिचानका रुपमा लिइने यहीँ सहरलाई सबल आर्थिक केन्द्र र समुन्नत बुटवल बनाउनेतर्फ यहाँका जनप्रतिनिधि केन्द्रित छन् ।

समृद्ध बुटवल निर्माणमा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको सुरुदेखिको भिजन र संकल्प छ । तिनै संकल्पलाई अझ समृद्ध बनाउने काममा नगर प्रमुख पाण्डे र उपप्रमुख सावित्रीदेवी अर्यालको नेतृत्वमा काम भइरहेको छ । सबल र समुन्नत बुटवलका लागि यहाँका प्रदेश सभाका सदस्यहरु लिला गिरी, भोजप्रसाद श्रेष्ठ, पूर्वसांसद दधिराम न्यौपाने देखि यहाँका सबै तहका जनप्रतिनिधिको साथ र सहकार्य पनि बुटवलमा त्यत्तिकै देखिन्छ ।
बटौली अर्थात् प्राचीन सहरको बीचमा जितगढी र माथि नुवाकोट गढी रहेका छन् । यिनैलाई केन्द्रमा राखेर बटौली पर्यटन सर्किट निर्माण भएको छ र बुटवललाई स्वास्थ्य, शिक्षा र पर्यटनका हवका रुपमा विकसित गर्न उपमहानगरपालिका केन्द्रित देखिन्छ । जितगढीको गुरुयोजना बनेको छ भने नुवाकोट गढीको विकासमा निजी क्षेत्रको सहकार्यले पर्यटनका रुपमा धपधपी वल्न थालेको छ ।
अहिलेको आधुनिक बुटवल भूपिको कविताजस्तै लाहुरेको बुटको आवाजसँगै हुर्किएको हो । तत्कालीन समयमा खस्यौलीमा रहेका आठदस थकाली भट्टी र खरका छाप्राहरूले बुटवल कायम गर्न महत्वपूर्ण भूमिका खेल्यो । सिद्धार्थ राजमार्ग नहुँदासम्म सोही हालतमा बसेको बुटवल सडक बनेपछि बसपार्क हुँदै शहरमा विकसित भएको बुटवल अहिले मानवताको शहर र बस्न योग्य शहरका रुपमा परिचित भएको छ ।

पछिल्लो समयमा बनेका फराकिला सडकले नगर सुन्दर देखिए पनि बुटवलका गल्ली र आवासको संरचना निकै कमजोर भएको जानकारहरु बताउँछन् । कमजोर संरचनाका अग्ला घर निर्माण भएका छन् । यसले के देखाउँछ भने कतै हामीभित्रको मानवता हराएको त छैन् भन्ने प्रश्न उठिरहन्छ बुटवलवासीलाई । त्यस कारण यस्ता विषयमा पनि नगरपालिकाको ध्यान जानुपर्छ । अहिलेको बुटवल शहरको इतिहासलाई हेर्ने हो भने पहिले बुटवल नभई बटौली थियो । जुन तिनाउ तिरको जितगढी किल्लाको छेउमा खुम्चिएर बसेको सानो वस्ती । बटौली र खस्यौली नाम बुटवलमा विलय भएपछि खस्यौली गुल्जार हुँदै बुटवलमा परिणत भयो । नुन र घिउ साटेर व्यापार चम्काउने बटौली सुनसान बन्यो। प्रशासनिक रूपमा बटौली–खस्यौली पञ्चायत पनि बनेको थियो। पछि प्रशासनिक नाममा पनि बटौली हरायो । अहिले बुटवल उपमहानगरपालिकाका नामले चम्किएको छ ।

आधुनिक बुटवल आफैंमा प्राचीन बस्ती भएको सहर भने मानिँदैन । बुटवल उपमहानगरपालिकाभित्र पर्ने विनायकपुर, तामनगर, सैनामैनाका केही क्षेत्र भने प्राचीन बस्ती रहेको बताइन्छ । सैनामैनादेखि बुटवलसम्म सिद्धार्थ गौतम नै जंगल सफारीका रूपमा आउने प्रसंगहरू विभिन्न ग्रन्थमा पढन पाइन्छ । सैनामैना क्षेत्रमा भएका सामान्य उत्खननले बुद्धकालकै बस्तीको परिचय झल्काउँछ । बुटवलमा विभिन्न नेवार, ब्राह्मण, क्षेत्री, थारु, जनजाति, मधेशी, मुस्लिम, दलित समुदाय, राई लिम्बु लगायत विभिन्न धर्म संस्कृति भएका मानिसहरुको बसोबास रहेको छ ।
अंग्रेजहरूलाई दुई सय तीन वर्षअघि हराएको जितगढी (बुटवल) क्षेत्र उहिलेको पनि राजधानी थियो । सेनवंशीय राजाहरूले यसलाई शीतकालीन राजधानीका रूपमा प्रयोग गरेका थिए। इतिहाससँग जोडिएको, ल्हासाको नुन र कपडाको व्यापारसँग जोडिएको बुटवलले एक सय वर्ष अघिदेखि बल्ल आधुनिक रूप पाएको इतिहास छ ।
बटौलीको सामाजिक र सांस्कृतिक स्वरूप निकै फराकिलो र बेग्लै खालको छ । यहाँको रैनाथे जाति को हुन भन्न सकिने अवस्था छैन । बुद्धकालमा थारू र शाक्य वंशका मानिस बसोबास गर्थे भन्ने ग्रन्थहरूमा लेखिएका छन्। पाँच सय वर्षअघि पाल्पाका राजा मणिमुकुन्द सेनले काश्मीरबाट कशौधन (मधेसी) जातिलाई व्यापारका लागि बटौली लिएर आएको प्रशंगलाई पनि ग्रन्थमा पढन पाइन्छ । कशौधनपछि नेवार जातिको बसोबास बटौलीमा रहेको जानकारहरु बताउँछन् । त्यतिखेर ल्हासाको नुन र सुन, पहाडी क्षेत्रको जडीबुटी, घिउ, तेलसँगको व्यापार बटौलीले धानेको थियो । पहाडी जिल्ला मात्रै होइन, हिमाली जिल्लाका जडीबुटी बेच्ने थलो पनि बटौली थियो ।
जितगढीमा कहिले लडाइँ भयो, कहिले नेपाल विजयी भयो भन्ने यकिन तथ्य छैन । उपमहानगरमा जनप्रनिधि निर्वाचित भएपछि इतिहासविद्हरुको अध्ययन र छलफलमा उपमहानगरले वैशाख ७ गतेलाई जीतगढी विजयोत्सव दिवसका रुपमा मनाउने निर्णय गरेपछि प्रत्येक वर्ष बैशाख ७ गते जितगढी महोत्सवका रुपमा मनाउँन थालियो ।

जितगढी राष्ट्रिय स्वाभिमानको किल्ला हो र बुटवलको मात्र नभई लुम्बिनी प्रदेश र देशकै पहिचान हो । यसको विकासका लागि गुरुयोजना निर्माण गरेर काम भएको छ । जितगढीमा कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक निर्माण, १३ जना सेनाको अर्धकदको शालिक निर्माण, सरायँ डबली निर्माण, राष्ट्रिय झण्डा, लक टायल, हरियाली उद्यान निर्माणका काम पूरा भएका छन् । जितगढीको प्रवेशद्वार अर्थात् गेट पनि आकर्षक बनाइएको छ । यसले बुटवलको गरिमालाई अझ उच्च बनाएको छ ।
जितगढी बटौली युद्ध संग्रहालय निर्माण कार्य सकिएको छ । यहाँ जितगढी युद्धताका प्रयोग भएका हातहतियार, खजना, पोषाकको झल्को दिने गरी सामग्रीहरु र डकुमेन्ट्र राखिने छ । संग्रालयमा के कस्ता सामाग्रीहरु राख्ने सो विषयमा अध्ययन गर्नका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ । भने प्रदेश सरकारसँगको समन्वय र आर्थिक सहयोगमा यसलाई पूर्णता दिने कार्य भएको छ ।
सहरको व्यस्तताका बीचमा पनि घुमफिर गर्न मिल्ने रमाइलो पार्कका लागि बुटवल–१२ मिलनपार्कमा बटौली फनपार्कको अवधारणाका अगाडी सारिएको छ । थारु समुदायको पहिचान विस्तार र चिनारी बढाउने उद्देश्यले बुटवलको मोतिपुरमा थारु सांस्कृतिक संग्रहालयको गुरुयोजना तयार पारेर निर्माण कार्य अगाडि बढेको छ । यसको डीपीआर तयार गरी पार्क समिती मार्फत काम गर्ने गरी अगाडी बढेको छ

पर्यटनको आर्कषण बोकेको बैठौली ताल पाँच विगाहामा रहेको ताललाई अहिले करिब ३० विगाह क्षेत्रफलमा संचालन भएको छ । ताल क्षेत्रमा फुटपाथ, साइकिल पथ, लाइटिङ, डुंगा, पर्खाल निर्माण, सेल्फीजोन निर्माण, चमेनागृह निर्माण, सुरक्षा गार्डरुम निर्माण, टिकट घर निर्माण गरि पर्यटनलाई आर्कषण गरिएको छ । त्यस्तै पशुपतिनाथ पछिको धाम नरेनापुर धामको गुरुयोजना तयार गरी काम अगाडी बढेको छ नरेनापुरमा पिनिक स्पट निर्माण गरि करिब ५ विगाह क्षेत्रफलमा व्यवस्थित वनभोज स्थल निर्माण गरेर कार्यान्वयन गरिएको छ । यो ऐतिहासिक धार्मिक महत्वको क्षेत्रलाई धार्मिक पर्यटनको पवित्र भू–भागका रुपमा संरक्षण र विस्तार गर्ने काम भइरहेको छ । ऐतिहासिक पुरातात्विक महत्वको नरेनापुरधाम क्षेत्रमा वाउण्ड्रीवाल, लकटायलसहितका आन्तरिक पथ निर्माण गरेर व्यवस्थित फुलबारी निर्माण तथा मन्दिरका संरचनाहरुको निर्माण र रंगरोहन गरी चिटिक्क पारिएको छ ।
मिलनपार्कलाई बटौली विश्राम तथा रमाइलो पार्कका रुपमा विकास गर्न गुरुयोजना तयार गरी । त्यहाँको डीपीआरअनुसार निर्माणकार्य भएको छ । व्यवस्थित बहुउद्देश्यीय सभाहल निर्माण गरि वाउण्ड्रीवाल, फुलबारी तथा सेड, पहुँचमार्ग, बहुउेश्य सभाहल निर्माण भइ कार्यान्वयनमा रहेको छ । त्यसै गरी हिलपार्क बिगबुद्ध पार्क निर्माणको गुरुयोजना तयार गरी माटो जाँच, सर्भे, डीपीआर र इआइए पूरा भएर जग्गा प्राप्ती गरि काम अगाडी बढाइएको छ ।

आदि मानव रामापिथेकसको विचरण भएको क्षेत्रका रुपमा मात्रै नभई यस ठाउँमा श्रीहरिको विचरण भएको, भतृहरि ऋषिको तपस्या स्थल भएको क्षेत्र, उत्तरगंगाको क्षेत्रका रुपमा पनि बुटवललाई लिने गरिन्छ । त्यतिबेलादेखि यो ठाउँ एन्ट्रीपट टे«डको रुपमा विकास भएको पाइन्छ । बुद्धकालीन समयमा गौतम बुद्धको विचरण गर्ने स्थल, बुटवल बुद्ध क्षेत्रको रुपमा रहेको थियो भने जीसस क्राइष्ट पनि बनारसबाट लुम्बिनी भएर लुम्बिनीमा छ वर्ष बसी त्यहाँबाट बुटवल हुँदै ल्हासा पुगी त्यहाँबाट लद्दाख लागेको इतिहास पाउँदछौँ ।
निश्कर्षमा भन्नुपर्दा बुटवललाई मानताको शहरका रुपमा विकसित हुँदै गएको छ, शिक्षा, स्वास्थ्य र पर्यटनको हवको रुपमा विकसित हुँदैछ यसका लागि सबै सरोकारवालाहरुको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ ।