तनावमा देश, जोखिममा मानसिक स्वास्थ्य

मेचीकाली संवाददाता

२४ आश्विन २०८२, शुक्रबार
30 shares

अमृत गिरी

बुटवल । आज विश्व मानसिक स्वास्थ्य दिवस । सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको हो । विश्व मानसिक स्वास्थ्य दिवसको यसवर्षको मुख्य नारा ‘सेवामा पहुँच–विपद् र आपत्कालीन अवस्थाहरूमा मानसिक स्वास्थ्य’ रहेको छ ।

विश्व मानसिक स्वास्थ्य दिवको उद्देश्य विश्वभरका मानिसहरूलाई मानसिक स्वास्थ्यप्रति सचेत बनाउनु, मानसिक विकारहरूप्रति रहेको कलंक हटाउनु र सबैका लागि सहज तथा समान सेवामा पहुँच सुनिश्चित गर्नु हो । विश्वव्यापी अस्थिरता, आन्दोलन, तोडफोड आगजनी, लुटपाट, प्राकृतिक प्रकोप, युद्ध, हिंसा, महामारी वा अन्य आपत्कालीन अवस्थाहरूको सिधा असर मानिसको मानसिक स्वास्थ्यमा पर्ने गरेको छ । अहिलेको समयमा नेपालमा यस्तो समस्याको जोखिम ज्यादा छ ।

टवलका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा.मनोज ढुंगाना भन्छन्,‘मानिसहरूले आफ्नो मानसिक स्वास्थ्य सुरक्षित राख्न सक्नुपर्छ अन्यथा जोखिम अझ धेरै बढ्नेछ । त्यसका लागि आवश्यक सेवा, सहयोग र पेशेवर समर्थन सबैसम्म पुग्ने सुनिश्चितता गर्नुपर्छ ।’
विपद् र संकटका बेला मानसिक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनु मानवताको नै अभिन्न दायित्व हो । यस्तो समयमा सहानुभूति, सहयोग र मनोसामाजिक समर्थनले जीवन र आशा दुवै पुनस्र्थापित गर्न सक्छ । ‘मानसिक स्वास्थ्य सेवा कुनै विलासिता होइन, मानव अधिकार हो ।’ आउनुहोस्–सबैका लागि मानसिक स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न हातेमालो गरौं ।’ डा.ढुंगानाको अपिल छ ।

विश्वमा अहिले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अहिले अधिकांशमा तनावको समस्या छ । तनावका कारण अनेक रोगव्यादीको संक्रमण हुने र मानिसको स्वास्थ्यलाई कमजोर बनाइरहेको छ ।

बढ्दो छ मानसिक स्वास्थ्य समस्या
नेपालमा मानसिक स्वास्थ्य समस्या तीव्ररूपमा देखिँदै गएको छ । पछिल्ला वर्षहरूमा विभिन्न अनुसन्धान र अस्पतालका तथ्यांकहरूले देखाउँछन् कि प्रत्येक चारजनामध्ये करिब एकजनाले जीवनको कुनै न कुनै चरणमा मानसिक समस्या भोग्ने गर्छन् । तर, तीमध्ये अत्यन्तै न्यून प्रतिशत मात्र उपचारका लागि विशेषज्ञकहाँ पुग्छन् ।

यो स्थिति जानकारी अभाव, लाज, सामाजिक कलंक र मानसिक समस्याबारेको गलत धारणाका कारण भइरहेको मनोविद् ओम बानियाँको ठहर छ । धेरैजसो अवस्थामा शारीरिक लक्षणका रूपमा देखा पर्ने समस्याहरू–जस्तै पेट दुख्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, हृदयगति बढ्ने, शरीर थाक्ने वा कमजोरी महसुस हुने वास्तवमा मानसिक समस्यासँग सम्बन्धित हुने बानियाँ बताउँछन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार डिप्रेसन विश्वमै असक्षमताको प्रमुख कारण हो । नेपालमा पनि डिप्रेसन, चिन्ता विकृति (एन्जाइटी), सिजोफ्रेनिया, रोगभ्रम (हाइपोकन्ड्रेसिस) र मनोदैहिक रोगहरू तीव्र रूपमा बढ्दै गइरहेका छन् । अभाव, बेरोजगारी, अस्थिरता, अलमल, महँगी, हरेक दशक जसोमा भइरहेको राजनीतिक उथलपुथल, हिंसात्मक प्रदर्शन, विभिन्न किसिमका रोगव्यादी, महामारीलगायतका कारणले धेरैको मन अशान्त छ,क तनावले धेरैलाई सताइरहेको छ । कतिले व्यक्त गर्छन्, कत्तिले मनमनै दबाएर राख्छन् । समग्रमा समाज अशान्त छ, धेरैको मन अशान्त छ ।

मानसिक समस्या केवल भावनात्मक वा मनोवैज्ञानिक पक्षसम्म सीमित नभएको उल्लेख गर्दै मनोविद् बानियाँ भन्छन्,‘यी शारीरिक स्वास्थ्यसँग पनि गहिरो रूपमा जोडिएका छन् । जस्तै, अम्लपित्त, उच्च रक्तचाप, माइग्रेन, दम र पेटको समस्या जस्ता रोगहरू प्रायः मानसिक तनाव वा चिन्ताबाट उत्पन्न हुने गर्छन् ।’

मनोविज्ञानका विशेषज्ञ डा.मनोज ढुंगानाका अनुसार नेपालमा मानसिक समस्या भएका करिब ६० प्रतिशत व्यक्तिले सुरुमा शरीरका लक्षणका कारण साधारण चिकित्सक वा झारफुक गर्ने ठाउँमा पुग्ने गर्छन्, जसले उपचारलाई ढिलो गराउँछ । यद्यपि आज अधिकांश मानसिक विकारहरूको उपचार सम्भव छ । उचित मनोचिकित्सा, कग्निटिभ थेरापी, परामर्श, औषधी र जीवनशैली परिवर्तनद्वारा रोग निको पार्न सकिने डा.ढुंगानाको दाबी छ । मनको समस्या पनि शरीरकै जस्तो उपचारयोग्य रोग रहेको मनोविद्हरुको भनाइ छ ।

खासगरी कोरोना कहरको महामारीपछि विश्वव्यापी रुपमा बढिरहेको आर्थिक मन्दी र त्यसले सिर्जना गरेको बढ्दो बेरोजगारी, अव्यवस्थित जीवनशैली, असफलता, मानसिक तनाव, जेनजी प्रदर्शनमा भएको विध्वंशलगायतका समस्याले मानसिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । मानसिक स्वास्थ्य समस्या विश्वव्यापीरुपमा भुसको आगोझैं फलिँदै गएको छ । पछिल्लो तथ्याङ्कअनुसार विश्वका १ अरबभन्दा बढी मानिसहरु कुनै न कुनै मानसिक स्वास्थ्य समस्याहरुबाट पीडित छन् ।

मनोबल मजबुत र सोच सकारात्मक राखौं
शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि समान प्राथमिकता दिनु आजको आवश्यकता हो । मानसिक रूपमा सबल रहन सकारात्मक सोच, नियमित योग ध्यान, सन्तुलित आहार, पर्याप्त निद्रा र आत्मसंयम अत्यावश्यक छन् । मनमा तनाव, डर वा चिन्ता बढेमा त्यसलाई दबाएर होइन, मनोवैज्ञानिक वा परामर्शदातासँग खुला रूपमा साझा गर्नुपर्छ । समाजले मानसिक समस्या भएकालाई हेप्ने होइन, सहयोग र सहानुभूति देखाउने संस्कार विकास गर्न जरुरी छ । मनोबल मजबुत र सोच सकारात्मक राख्न सकेमा कठिन परिस्थितिमा पनि स्थिर रहन सकिन्छ, जसले व्यक्तिगत मात्र होइन, समाज र राष्ट्रको स्वास्थ्य र स्थायित्वमा समेत योगदान पु¥याउँछ ।

अशान्त समाज, अस्वस्थ मन
सन् १९९२ देखि अक्टोबर १० मा मनाइँदै, यस वर्षको नारा– ‘सेवामा पहुँच–विपद् र आपत्कालीन अवस्थाहरूमा मानसिक स्वास्थ्य ।’ तनावमा देश, जोखिममा मानसिक स्वास्थ्य, राजनीतिक अस्थिरता, विपद् र बेरोजगारीले बढायो मानसिक समस्या । कमजोर मनोबल, अस्थिरता, आन्दोलन, बेरोजगारी र महामारीपछि बढ्दो मानसिक तनावले जनजीवन प्रभावित, जोखिममा नेपाल, विश्वका १ अर्बभन्दा बढी र नेपालमा हरेक चारमध्ये एक जना मानसिक समस्याबाट पीडित, कग्निटिभ थेरापी, परामर्श, औषधी र जीवनशैली परिवर्तनले मानसिक विकार निको पार्न सकिन्छ ।