

अमृत गिरी
बुटवल। आज जुन २१ मा विश्वभर ११ औं अन्तर्राष्ट्रिय योग दिवस ‘सिङ्गो पृथ्वी, मानव स्वास्थ्यका लागि योग’ भन्ने आदर्श वाक्यका साथ मनाइँदैछ । नेपालमा पनि विविध कार्यक्रम हुँदैछन् । यस्तै अवसरमा, शारीरिक–मानसिक स्वास्थ्य, आत्मिक शुद्धि, वैकल्पिक चिकित्सा, पर्यटन र राष्ट्रिय पहिचानसँग गाँसिएको योगको ऐतिहासिक र समकालीन मूल्यलाई पुनःस्मरण गर्नु अत्यन्त आवश्यक छ ।
कहिलेदेखि सुरु भयो योग ?
योगको उत्पत्ति प्राचीन वैदिककालमै भएको मानिन्छ । हिमालको काखमा ऋषिमुनिहरूले ध्यान, अनुसन्धान र साधनाबाट प्राप्त गरेको अनुपम ज्ञान नै योग हो । भगवान् शिवलाई योगको आदियोगी तथा आदि गुरु मानिन्छ । महावीर स्वामी र भगवान् बुद्धलाई पनि योग मार्गका प्रचारक तथा साधकको रूपमा स्मरण गरिन्छ । श्रीकृष्णलाई ‘योगेश्वर’ भनिन्छ, जसले गीतामार्फत योगशास्त्रलाई जीवनको प्रत्येक पाटोसँग जोडिदिएका छन् । महर्षि पतञ्जलिले योग दर्शनलाई वैज्ञानिक र व्यावहारिक रूपमा ‘अष्टांग योग’ मार्फत व्याख्या गरेका छन् ।
पतञ्जलीको अनुसार योगका आठ अंगहरू छन्–यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि । यी सबै चरणहरू आत्म–संयम, अनुशासन र अन्ततः मुक्ति प्राप्तिको मार्ग हुन् । अष्टाङ्ग योगको अभ्यासले केवल रोग निवारण मात्र होइन, चेतनाको विकास र जीवनमा शान्तिको स्थापना गर्छ ।
बुद्धजन्मभूमिमा योगका सम्भावना
यो बुद्धजन्मभूमि हो । बुद्धले संसारभर यहीँबाट ज्ञानको, बुद्धत्वको, शिक्षाको, मानवताको, बन्धुत्वको र शान्तिको सन्देश छरेका थिए । योग त्यसबेलादेखि नै थियो । योग केवल हिन्दू परम्परा वा आधुनिक अभ्यास मात्र होइन, बुद्धकालीन समाजमा पनि ध्यान र योगको गहन अभ्यास हुने गरेको बौद्ध दर्शनका ज्ञाता डा.गितु गिरीको भनाइ छ ।
‘गौतम बुद्धले बोधि प्राप्ति अघि अनेक तप, ध्यान र योग साधनाको अभ्यास गरेका थिए । उनले मन–वचन–कायको शुद्धता, चित्तको स्थिरता र प्रज्ञा प्राप्तिका लागि ध्यानलाई मूल उपाय बनाएका थिए । विपश्यना, अनापानसति जस्ता ध्यान प्रविधिहरू आज पनि ध्यानमार्गमा योगको आन्तरिक स्वरूपका रूपमा विश्वभर फैलिएका छन्’ डा.गिरी बताउँछन् ।
लुम्बिनीमा योग पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रियस्तरका योग केन्द्र, ध्यानगृह, अध्ययन अनुसन्धान संस्थान र योग अनुकूल आवासीय पूर्वाधार निर्माणको आवश्यकता रहेको बौद्ध दर्शनको अध्यापन गराउँदै आएका बौद्ध दर्शनका अर्का जानकार जेबी क्षेत्रीको भनाइ छ । आयुर्वेद, प्राकृतिक चिकित्सा र योगको समन्वयबाट लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय योग र नेचुरोपैथी हब’ बनाउने सम्भावना रहेको क्षेत्रीको भनाइ छ ।
योगको स्वभाविक भूमि हो लुम्बिनी
बुद्धको जन्मस्थल लुम्बिनी र यसको आसपासको वातावरण योग अभ्यासका लागि अत्यन्त उपयुक्त मानिन्छ । हिमाली शृङ्खला, प्राकृतिक न्यानोपन, शान्त परिवेश र सांस्कृतिक सहिष्णुताले यो क्षेत्रलाई योग–ध्यान केन्द्र र अन्तर्राष्ट्रिय अध्यात्मिक गन्तव्यको रूपमा विकास गर्ने विशाल सम्भावना छ । आजका दिन लुम्बिनीलाई केवल धार्मिक पर्यटनको केन्द्र होइन, आध्यात्मिक साधना, योग प्रशिक्षण र अन्तर्राष्ट्रिय योग पर्यटनको गन्तव्य बनाउने बेला आएको छ । बुद्ध मार्गमा हिँड्न चाहने हजारौं विदेशी पर्यटकहरू योग सिक्न नेपाल आउने सम्भावना बोकेको डा. गिरीको भनाइ छ ।
योगः प्राचीन अभ्यास, आधुनिक औषधी
बुद्धकालमै आत्म नियन्त्रण, चित्त एकाग्रता र संयमलाई प्राथमिकता दिइएको पाइन्छ । आजको युगमा पनि योगले तन, मन र आत्माको सन्तुलन कायम गर्न निर्णायक भूमिका खेलेको छ । विश्व स्वास्थ्य संगठनले स्वास्थ्यलाई शारीरिक, मानसिक, सामाजिक र आत्मिक समृद्धिको संयोजन मानेको छ, जुन योगको सारसँग पूर्णतः मेल खान्छ । आधुनिक जीवनशैलीले निम्त्याएको तनाव, निद्रा समस्या, उच्च रक्तचाप, मानसिक विचलन जस्ता समस्याहरूको समाधान योगमै छ ।
बढ्दो जनचासो
नेपालमा पछिल्ला वर्षहरूमा शिक्षण संस्था, अस्पताल, कारागार, वृद्धाश्रम, महिला समूह, कार्यालय र संघसंस्थाहरूमा योग तथा ध्यानको अभ्यास बढ्दो क्रममा छ । तर पनि, यो प्रक्रिया अझ व्यवस्थित, समावेशी र वैज्ञानिक बन्न आवश्यक छ । राष्ट्रिय योग नीति र योग आयोगको आवश्यकता विशेष गरी यसै सन्दर्भमा उठ्न थालेको हो । योग गुरु ऋषि न्यौपानेको भनाइमा, ‘योग नीतिगत र संस्थागत भयो भने जनस्वास्थ्य सुदृढ हुनेछ, आत्मनिर्भर रोजगारीको वातावरण सिर्जना हुनेछ र आत्मसन्तुलित समाज निर्माणमा सहयोग पुग्नेछ ।’
शिक्षा र नयाँ पुस्तासँगको सम्बन्ध
योगलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्न सक्ने सम्भावना आजको शिक्षा प्रणालीमा खोजिनु आवश्यक छ । योगद्वारा आत्म अनुशासन, ध्यान क्षमता, सहिष्णुता र मानसिक सन्तुलन बढाउने कार्य सम्भव हुन्छ, जसले शिक्षालाई पूर्ण बनाउँछ ।
नेपाल, विशेष गरी बुद्धभूमि लुम्बिनी, आज योगको माध्यमबाट वैश्विक ध्यानको केन्द्र बन्ने संवेदनशील मोडमा उभिएको छ । योग केवल व्यक्तिगत अभ्यास होइन, राष्ट्रिय स्वाभिमान, आर्थिक समृद्धि, मानसिक स्वास्थ्य र आध्यात्मिक नेतृत्वको आधार बन्नसक्ने अभ्यास हो । अतः यस योग दिवसमा, नेपालले योगको वैदिक–बौद्ध परम्परालाई आत्मसात गर्दै, लुम्बिनीलाई विश्व योग राजधानीको रूपमा विकास गर्ने दीर्घकालीन दृष्टि अपनाउन सक्यो भने, यो केवल एउटा आध्यात्मिक पुनर्जागरण मात्र होइन, समग्र राष्ट्रिय विकासको नयाँ अध्याय हुने निश्चित छ ।