एसईईको नतिजामा लुम्बिनी प्रदेश अब्बल

आठ जिल्लाका १४४ जना विद्यार्थीको चार जीपीए, रुपन्देहीका मात्रै ८७ जना

मेचीकाली संवाददाता

१५ असार २०८२, आईतवार
67 shares

प्रकाश आचार्य/रमेश पराजुली

बुटवल । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा लुम्बिनी प्रदेश अब्बल रूपमा दरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार लुम्बिनीमा सामुदायिक र संस्थागत विद्यालयले काठमाडौंबाहिर अग्रणी नतिजा हासिल गरेका छन् । लुम्बिनीका ८ जिल्लाका १४४ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । ती जिल्लामध्ये रुपन्देही अघि छ । यसअघिको नतिजामा लुम्बिनीमा ६ जना मात्र विद्यार्थीले ४ जीपिए ल्याएका थिए ।

रुपन्देहीका ८७ विद्यार्थीको ४ जीपीए
रुपन्देहीका सामुदायिक र संस्थागत गरी ३२ विद्यालयका ८७ जना विद्यार्थीले ४ जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ, रुपन्देहीका प्रमुख माधव बञ्जाडेले जानकारी दिए । जसमध्ये देशकै सबैभन्दा धेरै एउटै विद्यालयबाट चार जीपीए ल्याउने विद्यालय पनि रूपन्देही परेको हो । तिलोत्तमाको शान्ति नमूना माध्यमिक विद्यालयका १८ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । शान्ति नमूनाबाट ६०९ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

विद्यालयका प्रधानाध्यापक कूलप्रसाद लामिछानेका अनुसार सर्वदा विश्वकर्मा, मोहम्मद रेहान खाँन, सरिता यादव, सेवा रेग्मी, स्वप्निल गैह्रे, सेलिना लामा, सौगात पाण्डे, सुसन पंगेनी, अनिल ज्ञवाली, अप्सन पौडेल, सृजन घिमिरे, शिशिर सुसाल, शिवानी डुम्रे, सुसान्त अर्याल, आशिष पाण्डे, अनिश भुसाल, सन्देश न्यौपाने र किस्मत थापाले ४ जीपीए ल्याएका हुन् । त्यस्तै, २२ जनाले ३.९६ देखि ३.९९ जीपीए ल्याएका छन् । ३.९ देखि ३.९५ ल्याउने १४, ३.६ देखि ३.८९ सम्म ल्याउने १७१, ३.२ देखि ३.५९ सम्म ल्याउने २०९, २.८० देखि ३.१९ ल्याउने ११२ र २.४० देखि २.७९ जीपीए ल्याउने १४ जना विद्यार्थी रहेका छन् ।
शान्ति नमूनाको यो नतिजा सम्भवतः नेपालकै सर्वोत्कृष्ट रहेको विद्यालयका प्रधानाध्यापक लामिछानेले जानकारी दिए । लामिछानेले एकसाथ यति धेरै विद्यार्थीले ४ जीपीए ल्याएको भन्दै खुसी व्यक्त गरे । ‘विद्यालयमा नियमित अतिरिक्त कक्षाहरू, समर्पित शिक्षक टोली र अभिभावकको सहकार्यले यो उपलब्धि सम्भव भएको हो,’प्रअ लामिछानेले भने । यस्तै दोस्रोमा न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलका ११ जना, तेस्रोमा अक्सफोर्ड बोर्डिङ बुटवलका १० जना, चौथोमा कालिका मानवज्ञान मावि बुटवलका ७ जनाले जीपीए ४ ल्याएका छन् । यस्तै सैनामैना नमुना माविका ४ जना, नयाँगाउँ मावि बुटवलका ३ जना, संस्कार इङ्लिस बोर्डिङ स्कुलका ३ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।

न्यू लुम्बिनी बोर्डिङ स्कुल, देवदहका २ जनाले पनि जीपीए फोर ल्याएका छन् । यस्तैगरी दीप बोर्डिङ स्कुल बुटवलका २ जना, प्रभात बोर्डिङ स्कुल सैनामैनाका २ जना, नवरत्न माध्यमिक विद्यालय बुटवलका २ जना, तिनाउ बोर्डिङ स्कुल बुटवका २ जना, गार्गी बोर्डिङ स्कुल बुटवलका २ जना, बुद्ध पब्लिक देवदहका २ जना र पश्चिमाञ्चलन इङ्लिस स्कुल सिद्धार्थनगरका २ जनाले पनि जीपीए ४ ल्याएका छन् ।

यस्तै रामापुर मावि सैनामैना, कान्ति मावि बुटवल, बुटवल पब्लिक स्कुल, जनकल्याण मावि सैनामैना, ड्रिम भिजन बोर्डिङ स्कुल फर्साटिकर, सुनगाभा पब्लिक बोर्डिङ सैनामैना, सैनामैना मेमोरियल सैनामैना, सिद्धेश्वर लालकुमारी मावि बुटवल, नवीन औद्योगिक कदरबहादुर रीता मावि बुटवल, न्यू इन्भारमेन्ट बोर्डिङ तिलोत्तमा, होराइजन गौतमबुद्ध बोर्डिङ तिलोत्तमा, ग्लोरी बोर्डिङ बुटवल, एभरेष्ट बोर्डिङ स्कुल बुटवल, बुद्ध दीप इङ्लिस बोर्डिङ स्कुल कञ्चन, फर्साटिकर सिद्धार्थ इङ्िलस बोर्डिङ स्कुल, सिद्धि बिनायक मावि सेमलार, लिटिल प्याराडाइज स्कुल, भलबारी र न्यू इरा बोर्डिङ स्कुल सिद्धार्थनगरका एक–एक जना विद्यार्थीले पनि ४ जीपीए ल्याएका ती विद्यालयहरुले जानकारी दिएका छन् । २०८० को एसईई परीक्षामा रुपन्देहीबाट जम्मा ४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । गत वर्षभन्दा यस वर्ष एसईई परीक्षाको नतिजामा निकै सुधार गर्दै २४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको बन्जाडेले जानकारी दिए ।

*****

रुपन्देहीमा जीपीए ४ ल्याउने कुन पालिकाका कति विद्यार्थी ?
रुपन्देहीबाट ४ जीपीए ल्याउने ८७ जना विद्यार्थीहरुमध्ये बुटवल उपमहानगरपालिकाबाट सबैभन्दा धेरै १६ विद्यालयका ४६ जना रहेका छन् । यस्तै तिलोत्तमा नगरपालिकाबाट ३ विद्यालयका २० जना, सैनामैना नगरपालिकाबाट ६ विद्यालयका १० जना, सिद्धार्थनगर नगरपालिकाबाट २ विद्यालयका ३ जना, सियारी गाउँपालिकाबाट १ विद्यालयका ३ जना, देवदह नगरपालिकाबाट १ विद्यालयका २ जना, शुद्धोधन गाउँपालिकाबाट २ विद्यालयका २ जना, कञ्चन गाउँपालिकाबाट एउटा विद्यालयका एक जना विद्यार्थीको ४ जीपीए आएको छ ।

रुपन्देही जिल्लामा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २२ हजार ९७५ विद्यार्थीहरू सहभागी भएका थिए । शिक्षा समन्वय इकाइ, रुपन्देहीका प्रमुख बञ्जाडेका अनुसार समग्रमा यस वर्ष जिल्लामा ७१.१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष जिल्लाको नतिजा ४७ प्रतिशत मात्र रहेकोमा यस वर्ष ७१.१ प्रतिशत पुगेको हो । यसरी नतिजामा करिब २४ प्रतिशत अंकको सुधार आएको देखिएको छ ।

*****

गुल्मीमा ३ जना विद्यार्थीको ४ जीपीए
एसईई परीक्षामा गुल्मीका ३ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । उनीहरु तीनैजना सामुदायिक विद्यालयका विद्यार्थी हुन् । चन्द्रकोट गाउँपालिकाको उदय मावि शान्तिपुरका निशान भण्डारी, सत्यवति गाउँपालिकाका सत्यवती माविका अर्जुन भण्डारी र सिर्जित भण्डारीले ४ जीपीए प्राप्त गरेका छन् ।

गुल्मीमा ६७.२६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कुल दुई हजार ५८५ विद्यार्थी सहभागी भएका थिए । एसईईमा सहभागीमध्ये ३.६ देखि चार जीपीए ल्याउने २८० जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ७१६ जना, २ देखि ३.२ जीपीए ल्याउने एक हजार ३९ जना, २.४ देखि २.८ जीपीए ल्याउने ५२७ जना तथा २ देखि २.४ जीपीए ल्याउने २० जना रहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख थानेश्वर घिमिरेले जानकारी दिए ।

पाल्पाका ६ जना विद्यार्थीको ४ जीपीए
एसईईमा पाल्पाबाट ६ जना विद्यार्थीले चार जीपीए ल्याएका छन् । दुई सामुदायिक र एक संस्थागत विद्यालयका चार छात्रा र दुई छात्रले चार जीपीए ल्याउन सफल भएका हुन् । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुरबाट दुई जना, देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय तानसेनबाट एक जना र न्यू होराइजन आवासीय माध्यमिक विद्यालय तानसेनबाट तीन जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पा प्राविधिक सहायक बोमबहादुर थापाले बताए ।

पाल्पाबाट परीक्षामा सहभागी विद्यार्थीहरुमध्ये ६० दशमलव ४५ प्रतिशत उत्तीर्ण भएका छन् । नियमित साधारणतर्फ ५९ दशमलव ९३ प्रतिशत र प्राविधिकतर्फ ६८ दशमलव ४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पाल्पामा ४ जीपीए ल्याउने विद्यार्थी ६ जना, ३.६१ देखि ४ जिपिए ल्याउने दुई सय ३२ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने पाँच सय ५१ जना, २.८१ देखि ३.२० जीपीए ल्याउने सात सय ५३ जना, २.४१ देखि २.८० जीपीए ल्याउने पाँच सय ३८ जना, २.०१ देखि २.४० जीपीए ल्याउने २० जना, १.६० देखि २.० ल्याउने शून्य र १.६० जीपीएभन्दा कम ल्याउने विद्यार्थी संख्या एक हजार ४०४ जना रहेको छ ।
कपिलवस्तुका १६ जना विद्यार्थीको ४ जीपीए
एसईईमा कपिलवस्तुबाट १६ जना विद्यार्थीले चार जीपीए ल्याएका छन् । जनता मावि पिपराका ९ जना, ज्ञानपुञ्ज मावि राजपुरका ४ जना, वाणगंगा मावि लौगाईका ३ जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् । जनता माविका प्रविणा बस्याल, बिविका भुसाल, पृशिला थारु, प्रकृति बस्याल, अनुष्का खत्री, बिश्वास पौडेल, बिवेक खनाल, दिक्षा पौडेल र प्रज्ज्वल अधिकारीले ४ जीपीए ल्याएका छन् । यस्तै ज्ञानपुञ्जका दिव्या गैरे, ग्रीष्मा गाहा, सम्झना न्यौपाने र सारा ज्ञवालीले ४ जिपिए ल्याएका हुन् । बाणगंगा माविबाट अन्जिता शर्मा, सुशान्त कँडेल र अनिश पौडेलले ४ जीपीए ल्याएका हुन् ।

*****

अर्घाखाँचीमा २ जना विद्यार्थीको ४ जीपीए
अर्घाखाँचीका २ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । उनीहरु एकजना सामुदायिक र एकजना संस्थागत विद्यालयका एकजना विद्यार्थी छन् । युवावर्ष जनता रविचित्र मावि सन्धिखर्क र सन्धिखर्क ग्रीन इङलिस बोर्डिङ स्कुलका एक–एकजना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।
अर्घाखाँचीमा ६२.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । कुल दुई हजार ६०४ विद्यार्थी सहभागी भएका थिए । एसइईमा सहभागीमध्ये ३.६ देखि चार जिपिए ल्याउने १८३ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने ३८१ जना, २ देखि ३.२ जिपिए ल्याउने ६६० जना, २.४ देखि २.८ जिपिए ल्याउने ३६६ जना तथा २ देखि २.४ जिपिए ल्याउने २९ जना रहेका छन् भने ९८५ जना विद्यार्थी अनुत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय एकाइ अर्घाखाँचीले जनाएको छ ।

नवलपरासी पश्चिमका ३ जना विद्यार्थीको ४ जीपीए
नवलपरासी पश्चिमबाट बर्दघाटस्थित कुमुदिनी बोर्डिङ स्कुलका ३ जना छात्राले मात्र ४ जीपीए ल्याउन सफल भएका छन् । निजी र सामुदायिक विद्यालय गरी कुल १२१ विद्यालय सहभागी भएको परीक्षामा जिल्लाका अन्य कुनै पनि विद्यालयका विद्यार्थीहरुले ४ जीपीए ल्याउन सकेनन् । ४ जीपीए ल्याउने कुमुदिनीका छात्राहरुमा बिपिसा भुसाल, प्रिन्सा पाण्डे र सम्पदा पाण्डे रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए । कुल ८९ जना विद्यार्थी सहभागी भएको कुमुदिनीबाट १ जना उत्तीर्ण भएका छन् ।

साधारण र प्राविधिक धारतर्फ गरी जिल्लामा कुल ४ हजार ९२१ विद्यार्थी सहभागी भएका थिए । जसमा ४ हजार ८ सय ८६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । सहभागी विद्यार्थीमध्ये २ हजार ३५ जना विद्यार्थी कक्षा ११ मा भर्ना हुन नपाउने गरी अनुत्तीर्ण भएको इकाइ प्रमुख महेन्द्र सुवेदीले बताए । उनीहरुले १ दशमलब ६ जीपीएभन्दा कम ल्याएका छन् ।
जिल्लामा गतवर्षभन्दा यसवर्ष एसईई परीक्षाको नतिजामा दोब्बरले सुधार भएको देखिएको छ । गत वर्ष ३४ दशमलब २४ प्रतिशत उत्तीर्ण हुँदा कसैले पनि ४ जीपीए ल्याउन सकेका थिएनन् । यसवर्ष जिल्लाबाट ६८ दशमलब ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

*****

दाङका २६ जना विद्यार्थीको ४ जीपीए
दाङमा १५ विद्यालयका २६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । जसमा ज्ञानज्योति पब्लिक स्कुल तुलसीपुरबाट ५ जना, जनज्योति विद्यामन्दिर घोराहीबाट ३ जना, गोरखा मावि तुलसीपुरबाट ३ जना, बाल सहारा इङ्लिस बोर्डिङ स्कुल तुलसीपुर बनहरीबाट ३ जना, माउन्ट भ्यू इङ्लिस बोर्डिङ स्कुल घोराहीबाट २ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । यस्तैगरी अमृत एकेडेमी बिजौरी, सिद्धार्थ एकेडेमी घोराही, दीपशिखा मावि घोराही, सनलाइट मोर्डन स्कुल लमही, आइडियल बोर्डिङ स्कुल तुलसीपुर, गोर्खा मोडेल स्कुल लमही, पब्लिक एजुकेसन एकेडेमी देउखुरी, गुरु जजुर मावि रक्षाचौर तुलसीपुर, पिपुल्स ल्यान्ड सेकेन्डरी बोर्डिङ स्कुल हापुरे, आदर्श माध्यमिक विद्यालय लालमटियाबाट एक–एक जना विद्यार्थीले ४ जीपिए ल्याएका छन् ।

बाँकेका १ जना विद्यार्थीको ४ जीपीए
बाँकेमा एकजना विद्यार्थीले मात्र ४ जीपीए ल्याउन सफल भएका छन् । कोहलपुरस्थित बालविद्या स्कुलकी सृजना डिसीले ४ जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख धनसुदन चौलागाईंले बताए । बाँकेमा यसपटक ६२ दशमलव २३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ७ हजार नौ सय २१ जना विद्यार्थीले परीक्षा दिएकोमा चार हजार नौ सय २९ जना विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा दुई हजार ९ सय ९२ विद्यार्थी अनुत्तीर्ण भएको इकाइले जनाएको छ ।
बाँकेमा ३.६१ देखि ४ जीपीए ल्याउने ६ सय ४२ जना, ३.२१ देखि ३.६० जीपीए ल्याउने एक हजार छ सय ७ जना, २.८१ देखि ३.२० जीपीए ल्याउने एक हजार ४ सय ९८ जना, २.४१ देखि २.८० जीपीए ल्याउने एक हजार ४७ जना र २.०० देखि २.४० जीपीए ल्याउने १३५ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले जनाएको छ । ग्रेड वृद्धिका लागि परीक्षा दिएका दुई हजार ४३ जनामध्ये एक हजार ४३ जना उत्तीर्ण भएका छन् ।