

निर्माण सुरु भएको पाँच वर्षभन्दा धेरै हुँदासमेत निर्माणकार्य अगाडि नबढेको जबई उजिरसिंह रंगशालामा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहितको विशेष टोलीले निरीक्षण गरेसँगै अब आशा जगाएको छ । बुटवल–१३ सालघारीस्थित उजिरसिंह जबई रंगशाला बहुउद्देश्यीय खेलकुद पूर्वाधारको उत्कृष्ट नमुना बन्ने दिशामा अग्रसर भएको छ । वन क्षेत्रको स्वीकृति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कनसमेतको प्रक्रियाबाट पार पाउँदै अन्ततः यो परियोजना अब कार्यान्वयनको धरातलमा प्रवेश गरेको छ । यो उपलब्धिका मूल सूत्रधार उपप्रधान तथा अर्थमन्त्री पौडेलको सक्रिय नेतृत्व र स्थानीय राजनीतिक, सामाजिक र नागरिक तहको निरन्तर समन्वय हो भन्नेमा दुईमत छैन ।
क्रिकेट र फुटबलजस्ता लोकप्रिय खेलहरूको विकासका लागि मैदान अनिवार्य पूर्वाधार हो । क्रिकेटका लागि भैरहवा, तिलोत्तमा र सैनामैनामा मैदान बनिरहेका छन् । बुटवलमा भने फुटबलका लागि मैदानहरुको विकास भइरहेको छ । लामो समयसम्म राजनीतिक जटिलता र वन क्षेत्रको प्रशासनिक स्वीकृतिको पर्खाइमा अल्झिएको कआयोजनाले अब पूर्णताको बाटो समातेको छ । अहिले प्राधिकरणमार्फत टेन्डर प्रक्रिया भइसकेको छ, निर्माणका लागि बजेट विनियोजन गरिएको छ र ठेक्का समेत सम्झौता भइसकेको अवस्था सकारात्मक संकेत हो । खेलकुदमूलक पूर्वाधार नहुँदाको पीडा भोगिरहेका भूपू सैनिक, स्थानीय युवा र क्लबहरूका लागि यो काम साँच्चै गेम चेञ्जर सावित हुनेछ । ५३ करोड लागत अनुमान गरिएको र निर्माणका लागि ठेक्काको प्रक्रियामा समेत गएर निर्माण कम्पनी छनौट भइसकेकाले अब कामले गति लिन्छ भन्ने कुरामा आशा जगाएको छ ।
उजिरसिंह थापाको स्मृतिमा नामकरण गरिएको यो रंगशालाले ऐतिहासिक गौरव र आधुनिक खेलकुद विकासलाई जोड्ने सूत्रका रूपमा भूमिका खेल्नेछ । साथमा सेमलारमा प्रस्तावित क्रिकेट मैदानका लागिसमेत अर्थमन्त्री पौडेलले देखाएको प्रतिबद्धता प्रशंसनीय छ । अब प्राथमिकता बन्नुपर्छ–निर्माणको गुणस्तर, समयसीमा, पारदर्शिता र सार्वजनिक सहभागिता । समन्वयकारी निगरानी, प्राविधिक परामर्श र नागरिक उत्तरदायित्वले मात्र यो आयोजना साँचो अर्थमा सफल बन्न सक्छ । यसका लागि स्थानीय तहका जनप्रतिनिधि, नागरिक अगुवाहरु समेतले अपनत्वसहितको समन्वय र निगरानीमा ध्यान दिनुपर्नेछ । बुटवलको भविष्यलाई खेलकुद, पर्यटन र समावेशी विकासमार्फत नयाँ उचाइमा पु¥याउने सम्भावना यस रंगशालाले बोकेको छ । सरोकारवाला सबै पक्षले यथोचित भूमिका निर्वाह गर्न सके उजिरसिंह रंगशाला लुम्बिनी प्रदेशकै गौरव बन्न सक्नेछ । निर्माणकार्यलाई सहज हुनेगरी, गुणस्तरीय निर्माण हुनेगरी स्थानीयले खबरदारी सहतिको समन्वय गर्नुपर्नेछ । तीन तहका सरकार र नागरिक अगुवाहरुलाई हाम्रो यहीँ आग्रह छ ।