

बुटवल, त्रिभुवन युनाइटेड एकेडेमी, बुटवल–७ का कक्षा १२ मा अध्ययनरत टुरिजम एण्ड मोनिटरिङ विषयका ८४ जना विद्यार्थीले आज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल को शैक्षिक भ्रमण गरेका छन्। नागरिक उड्डयन तथा पर्यटनको व्यवहारिक जानकारी बढाउने उद्देश्यले गरिएको भ्रमणमा विद्यार्थीहरूलाई विमानस्थलको पूर्वाधार, सुरक्षा प्रणाली र पर्यटक सेवा सञ्चालनबारे विस्तृत अवलोकन गराइएको थियो।
नागरिक उड्डयन प्राधिकरण का नवौँ तहका कर्मचारी किशोर आचार्यले टर्मिनल व्यवस्थापन, रनवे सञ्चालन प्रक्रिया, सञ्चार–नेभिगेसन उपकरणहरू तथा अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको बारेमा विद्यार्थीहरूलाई ब्रीफिङ् गर्दै विमानस्थलको दैनिक गतिविधि प्रत्यक्ष अवलोकन गराए।
त्यसपछि प्रहरी निरीक्षक भरतराज पन्तले एयरपोर्ट सुरक्षा, आपतकालीन प्रतिक्रिया संयन्त्र, एक्स–रे र स्क्यानिङ् प्रणाली तथा नेपाल प्रहरीको एभिएशन सेक्युरिटी युनिटको भूमिकाबारे प्रस्तुति दिए। उनले वर्तमान मौसमी जोखिम र आपतकालीन अवतरण प्रक्रियामा खटिने समन्वयबारे पनि विद्यार्थीसँग अन्तर्क्रिया गरे। विद्यालयका सह प्राचार्य श्री रामचन्द्र बस्यालका अनुसार, “स्थलगत अवलोकनले पाठ्यपुस्तक बाहिरको वास्तविक कार्य–प्रणाली बुझ्न विद्यार्थीलाई गहिरो सहयोग पुर्याएको छ। पर्यटन अध्ययनमा व्यावहारिक पहुँचले उनीहरूका करियर लक्ष्य अझ स्पष्ट हुने आशा छ।”
विद्यार्थी प्रतिनिधि प्रशंसा आचार्यले विमानस्थल भ्रमणलाई “आँखा खोल्ने” अनुभवको रूपमा वर्णन गर्दै भनिन्, “हामीले विमानस्थल निर्माणदेखि यात्रु चेक–इन, कार्गो ह्यान्डलिङ् र सुरक्षा जाँचसम्मको सबै चरण प्रत्यक्ष देखें। यसले भविष्यमा काम गर्दा के–कसरी प्रक्रियाहरू मिलाउँछन् भन्ने स्पष्ट ज्ञान दियो।” कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले विमानस्थलको भिआइपी लाउन्ज परिसरमा प्रश्नोत्तर सत्रमा भाग लिए। अधिकारीहरूले परियोजनाको आगामी विस्तार योजना—नयाँ टर्मिनल ब्लक, स्मार्ट पार्किङ र सौर्य उर्जा संयन्त्रबारे जानकारी गराए। विद्यालय प्रशासनले नागरिक उड्डयन प्राधिकरण र नेपाल प्रहरीप्रति सहकार्यका लागि आभार प्रकट गर्दै यस्ता यात्रा आगामी वर्षदेखि कक्षा ११ का विद्यार्थीहरूका लागि पनि नियमित गर्ने बताएको छ।