

राजनीति–नैतिकताको प्रश्न उठ्नेगरी अनेक प्रकारका काण्डमा मुछिएपनि नैतिक रुपमा जवाफदेही बन्न नपर्ने प्रवृत्ति नयाँ भनाउँदाहरुमा देखिएको छ । पुराना भन्दै अरु स्थापित नेता र दललाई एकोहोरो सराप्ने र आफूहरुबाट अनैतिक काम हुँदा पनि जवाफदेही बन्नुनपर्ने ? यस्तो पनि हुन्छ ? सहकारीको रकम अपचलन, ठगी, आत्महत्या दुरुत्साहन, दोहोरो राहदानी, नागरिकतादेखि अनेक प्रकारका गलत काममा संलग्न भएपछि कानुनी कारबाही हुनु कुनै प्रतिशोध होइन । तर, नयाँ भन्दै यी सबै कुकर्ममा कानुनी सजायँ हुनैहुन्न भन्नु एकदमै गलत छ । कुनै पनि गलत काममा संलग्नलाई तथ्यप्रमाणका आधारमा कानुनी कारबाही हुनु प्रतिशोध होइन ।
रुपन्देही प्रहरीले हालै नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोहसँग सम्बन्धित रहेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पक्राउ गरेको समाचार बाहिर आएको छ । प्रमाणपत्र बनाउने उपकरण, स्ट्याम्प, होलोग्रामदेखि लिएर विभिन्न विश्वविद्यालयका नक्कली कागजात बरामद हुनु अनि सो कारोबारमा राजनीतिक पद धारण गरेका व्यक्ति स्वयं संलग्न भएको तथ्य सार्वजनिक हुनु केवल व्यक्तिगत अपराध मात्र होइन, समाज र राष्ट्रकै विश्वासमाथि प्रहार हो ।
शिक्षा भन्नासाथ ज्ञान, क्षमता र नैतिकताको प्रतिविम्ब झल्किनुपर्ने हो । तर जब शैक्षिक प्रमाणपत्रलाई पैसाको कारोबार र अवैध आप्रवासनको साधन बनाइन्छ, तब त्यो शिक्षा प्रणाली नै कलंकित हुन्छ । अझ राजनीतिक दलका जिम्मेवार व्यक्तिहरु नै यस्तो कार्यमा संलग्न देखिनु भनेको राजनीतिमा आएको नयाँ पुस्ताले समाजलाई देखाएको आदर्श र पारदर्शितामाथि गम्भीर प्रश्न उठ्नु हो ।
यस प्रकरणले दुईवटा महत्वपूर्ण कुरा प्रष्ट पारेको छ । पहिलो, अपराध जुनसुकैले गरेको भए पनि कानुनी कारबाहीको दायराबाट उम्कन सक्दैन । पद, पहुँच वा शक्तिको आधारमा कसैलाई उन्मुक्ति दिनु समाज र कानुन दुवैको अपमान हुन्छ । दोस्रो, राजनीति केवल भाषण वा प्रचारको खेल होइन, व्यवहारमै नैतिकता, इमान्दारी र शुद्धताको अभ्यास हो ।
‘पुरानो दल भ्रष्ट छन्, हामी नयाँ र सफा छौं’ भन्ने नारामात्र पर्याप्त छैन, कार्य व्यवहारले त्यसलाई प्रमाणित गर्नुपर्छ । अरुलाई सरापेर आफू मात्रै ठिक हुन सकिन्छ र ? यस घटनाले राजनीतिक दल, शैक्षिक संस्था, अभिभावक र विद्यार्थी सबैलाई सचेत गराएको छ । नक्कली प्रमाणपत्र जस्ता अपराधी गतिविधिलाई कठोर कारबाही गर्न, शिक्षा क्षेत्रमा शुद्धता कायम गर्न र राजनीति गर्नेहरूले नैतिक जिम्मेवारीका साथ समाजमा उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ । नयाँ भन्दै अरुलाई किन सराप्ने ? किन गाली गर्ने ?