नवलपुर दुर्घटना अपडेटः मृतक र घाइतेहरुको पहिचान खुल्यो

मेचीकाली संवाददाता

२९ भाद्र २०७८, मंगलवार
499 shares

बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट–१० मा रहेको २३ स्मृति नजिक बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।

मंगलबार बिहान काँकडभिट्टादेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किएका हुन् । थुम्सीको २३ स्मृति पुलनजिक निमार्ण हुँदै गरेको डाइभर्सनमा गाडी ठोक्किएर तल खसेको थियो ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार बर्दिया बाँसबारी नगरपालिका–८ बस्ने अन्दाजी ७० वर्षीया योगमाया सुवेदीको भरतपुर सरकारी अस्पतालमा, कञ्चनपुरकी रंगी तिरुवाको र कञ्चनपुरको महेन्द्रनगरका अन्दाजी ३० वर्षीय कृष्ण रानाको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

डीएसपी दिलिप गिरीका अनुसार दुर्घटनामा ट्रक चालक र बस चालकसहित २७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको चितवनमा उपचारका क्रममा मृत्यु भएको डीएसपी गिरीले बताए । त्यस्तै घाइतेमध्ये ३ जनाको गम्भीर रहेको उनले जानकारी दिए ।

दुर्घटनामा परि गम्भीर घाइते हुनेहरुमा जुम्ला तिला गाउँपालिका–४ बस्ने ३३ वर्षीय टोपबहादुर शाही, बर्दिया बाँसगढी–८ बस्ने ८२ वर्षीय डिल्लीराम सुवेदी र कञ्चनपुर बेलपुर–९ बस्ने ३२ वर्षीय चित्रदेव लेखक रहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

अन्य घाइते हुनेहरुमा झापा बाहुनडाँगीका १६ वर्षीय पारस ढकाल, मोरङ विराटनगर–३ बस्ने २१ वर्षीया पूजा रेग्मी, त्यही ठाउँ बस्ने २८ वर्षीय सरोज पोखरेल, कैलाली बस्ने १६ वर्षीया रोशनी अधिकारी, कञ्चनपुर महेन्द्रनगर –१ बस्ने ४९ वर्षीय मोहन कोइराला रहेका छन् ।

दुर्घटनामा परि जुम्ला तिला गाउँपालिका–४ बस्ने २६ वर्षीय चन्द्रनाथ योगी, बस चालक कञ्चनपुरका ४२ वर्षीय लालवीर लोहार, रूपन्देही बस्ने २८ वर्षीय सुरज अधिकारी, झापा बस्ने ३६ वर्षीय मनकुमार श्रेष्ठ घाइते भएका छन् ।

अन्य घाइतेहरूमा कञ्चनपुर झलारी बस्ने २६ वर्षीया उर्मिला तिरुवा, ट्रक चालक प्युठानका २७ वर्षीय अमृत सिंह विष्ट, सुर्खेत विरेन्द्रनगरका ४० वर्षीय रामबहादुर थापा, नवलपुर हुप्सेकोट गाउँपालिका –३ बस्ने २६ वर्षीया सविना लिम्बु ,त्यही ठाउँका २ वर्षीय जोशन सारु मगर, नवलपुरका १८ वर्षीया गङ्गा ओली, सुर्खेत विरेन्द्रनगर–७, बस्ने ४२ वर्षीय मनकुमार थापा र महोत्तरी बर्दिवासका २३ वर्षीय रमेश यादव रहेका छन् ।

घाइते सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । दुर्घटनामा परि सामान्य घाइते भएका चार जनाको भने डिस्चार्ज भइसकेको उनले बताए ।