रुरु क्षेत्रको बेथितिविरुद्ध तथ्यपूर्ण आवाज

मेचीकाली संवाददाता

१७ भाद्र २०८२, मंगलवार
18 shares

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा पछिल्ला दिनमा उठेका गुनासो र आरोपहरूले स्थानीय सरकारको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेका छन् । उपाध्यक्षसहित नेकपा एमालेका निर्वाचित जनप्रतिनिधि, स्थानीय अगुवा र सम्पर्क मञ्चले अध्यक्ष यदु ज्ञवालीमाथि लगाएका आरोप सामान्य असन्तुष्टि मात्र होइन, संस्थागत बेथितिको प्रतिविम्ब हो । पालिकाको नेतृत्वले विकास र सेवामा जनप्रतिनिधि शैलीभन्दा बढी व्यक्तिगत स्वार्थ र सस्तो लोकप्रियताको खेल खेलिरहेको प्रमाणहरू खुलेर सार्वजनिक भइरहेका छन् जुन दुखद कुरा हो ।

स्मार्ट बोर्ड खरिद प्रकरण मात्र उदाहरण हो । ३५ लाख रुपैयाँको योजनामा प्रक्रिया उल्लंघन, नक्कली कागजातको प्रयोग र १० लाखभन्दा बढी रकम हिनामिना गर्ने प्रयासजस्ता गम्भीर अनियमितता देखिनु कुनै सामान्य विषय होइन । अझ विद्यालयहरू स्वयं असहमति जनाउँदा पनि पालिका नेतृत्व र प्रमुख प्रशासकीय अधिकृतले प्रक्रियागत ढंगलाई अवरोध गर्ने प्रवृत्ति देखाउनु घमण्ड र तिगडमकै उपज हो । आवाज उठाउने नागरिकमाथि मानहानी मुद्दा दायर गर्नु अझै खतरनाक अभ्यास हो, जसले पारदर्शिता र जवाफदेहिताको संस्कृतिलाई नष्ट गर्छ ।

गाउँपालिका अध्यक्षमाथि उठेका एकलौटी, पूर्वाग्रही र गैरजनप्रतिनिधि शैलीका आरोपहरू सामान्य गुनासो होइनन्, बरु स्रोत साधनको दुरुपयोग र संस्थागत साखमाथिको धक्का हुन् । यसमा युवा नेतृत्वसमेत रहेकाले पहिल्यै ख्याल गर्नुपर्ने हो । तर, त्यस्तो परिणाम देखिएन । हामी अध्यक्षलाई फेरि पनि अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गर्दछौं । सीमित स्रोत साधन दुरुपयोग हुँदा स्थानीय विकास रोकिन्छ, सेवाग्राही निराश हुन्छन् र विश्वासमाथि क्षति पुग्छ । यसले पालिका मात्र होइन, संघीयताको मेरुदण्ड बनेको स्थानीय सरकारप्रतिकै आस्था कमजोर बनाउँछ ।

यस सन्दर्भमा रुरुक्षेत्र गाउँपालिकाको नेतृत्वलाई दुईवटा बाटा छन्–पहिलो, घमण्ड र तिगडमलाई निरन्तरता दिँदै बेथिति छोप्ने प्रयास गर्ने; दोस्रो, नैतिक जिम्मेवारी स्वीकार गर्दै पारदर्शी संवाद र सुधारको बाटो रोज्ने । आशा छ पक्कै पनि नेतृत्वले संवाद र सुधारको बाटो रोज्नेछ । लोकतान्त्रिक अभ्यासमा दोस्रो बाटो मात्र सही हो । स्थानीय प्रतिनिधि भनेको पदको शक्ति प्रदर्शन गर्ने होइन, जनताको विश्वासलाई सम्मान गर्दै जवाफदेही शासन दिने हो ।

रुरुक्षेत्र गाउँपालिकाको विवादले एउटा स्पष्ट सन्देश दिएको छ–सुशासन र जवाफदेहितामा सम्झौता गर्ने नेतृत्वलाई अब स्थानीयहरूले लामो समय सहन गर्ने छैनन् । अध्यक्षले आफ्नो पदको मर्यादा, नैतिकता र जनविश्वासलाई पहिलो प्राथमिकता दिनुपर्छ । व्यक्तिगत स्वार्थ र घमण्डमा रमाउने छुट नेतृत्वलाई छैन । बेथितिलाई रोक्न आवाज उठाउने काम सचेत नागरिकको एक दायित्व पनि हो ।