

लुम्बिनी प्रदेशसहित देशका विभिन्न स्थानमा हालै भएको ‘जेनजी’ आन्दोलनले राजनीतिक मात्र होइन, सामाजिक र आर्थिक क्षेत्रमा पनि गहिरो चोट पु¥याएको छ । सरकारी संरचना मात्र नभई व्यावसायिक प्रतिष्ठान, उद्योग र उद्यमशीलताको जगमा आक्रमण हुनु लोकतान्त्रिक आन्दोलनको मर्म विपरीतको व्यवहार हो । राजनीतिक असन्तोषलाई प्रकट गर्ने अधिकार प्रत्येक नागरिकलाई संविधानले सुनिश्चित गरेको छ तर त्यसको नाममा तोडफोड, लुटपाट र आगजनी गर्ने छुट कसैलाई छैन ।
रूपन्देही, दाङ, कपिलवस्तु जस्ता व्यापारिक केन्द्रमा करोडौँ लगानी गरेर पसिना बगाएका होटल, रिसोर्ट र सुपरमार्केट ध्वस्त हुनु केवल इटा–ढुंगाको क्षति मात्र होइन, सयौँ परिवारको जीवनयापन र हजारौँ सपनाको विनाश हो । यसक्षेत्रको प्रतिष्ठित सेवा उद्योग ड्रिमल्यान्ड रिसोर्ट, ड्रिम इन्टरनेशनल होटल, होटल टुलिप, दाङको रिसोर्ट, मौर्य होटलदेखि रेडसन रिसोर्टलगायतका प्रतिष्ठानहरुमा आगजनी र तोडफोड भयो ।
केहीबेरको उग्रताले अर्बौंं मूल्यका सम्पत्ति र कैयौंको ज्यान खरानी बन्यो । कैयौंको परिवार उजाड भयो, कैयौंका प्रियजन गुमे, अंगभंग भए । योसंगै कतिका सपना पनि जले । यी फर्केर आउँदैनन् । बचेकालाई न्यायको, राहतको अनुभूति बनाउन जरुरी छ । व्यवसाय भनेको केवल नाफा कमाउने साधन होइन; यो समाजलाई रोजगारी दिने, उत्पादन र समृद्धि ल्याउने माध्यम हो । आन्दोलनको निशानामा परेका निजी क्षेत्रका उद्यमीहरूले बैंकको ऋण, आफ्नो पसिना र श्रम लगानी गरेर सुरु गरेका व्यवसाय ध्वस्त हुँदा उनीहरूको मात्र होइन, समाजकै आधारशिला हल्लिएको छ ।
आज उनीहरू पीडामा छन् तर खरानीबाट फेरि उठ्ने दृढताका शब्दहरू उनीहरूको आत्मबलको परिचायक हुन् । राज्य, राजनीतिक दल र नागरिक समाज सबै एकजुट भएर पीडित उद्यमीलाई साथ दिन जरुरी छ । घटनाको छानबिन निष्पक्ष होस्, दोषीमाथि कानुनी कारबाही होस् र क्षति भएका उद्यमीलाई पुनःस्थापना गर्न सहुलियतपूर्ण ऋण, कर सुविधा र प्रोत्साहन उपलब्ध गराउन सरकारले पहल गरोस् ।
अन्तरिम सरकारले आउँदो फागुन २१ मा चुनाव गराउने गरी सपथ लिएको छ । यसका साथै सरकारले उद्यमी, व्यवसायीका प्रतिष्ठान र व्यक्तिका निजी सम्पत्तिमा हान्ने, आगजनी गर्नेलाई पहिचान गरेर कानुनी कारबाहीको दायरामा पनि ल्याउनुपर्नेछ । त्यसो भयो भने न्यायको अनुभूति हुन्छ । व्यवसायी र उद्यमीहरूलाई आश्वस्त पार्ने वातावरण बनाउनु अहिले राज्यको पहिलो प्राथमिकता हुनुपर्छ किनभने निजी क्षेत्रको श्रम र लगानीबिना समृद्ध नेपालको यात्रा सम्भव छैन । खरानीमा हराएका सपनालाई पुनःनिर्माण गर्न सबैको हात मिल्नुपर्छ–यही आजको सन्देश हो ।