

अमृत गिरी
बुटवल । रुपन्देहीका पर्यटन उद्यमी गोपाल रानाको जीवनकथा सामान्य उद्यमीको कथा होइन, यो संघर्ष, समर्पण र समाजसेवाको अद्वितीय उदाहरण हो । पर्वतको गाउँबाट २०१८ सालमा रुपन्देही झरेका रानाले सरकारी स्कुलमै पढ्दै ठूला सपना बुने । विदेशमा भविष्य खोज्न सिंगापुर पुगे तर त्यहाँको छोटो अनुभवले उनलाई एउटा ठूलो पाठ दियो–‘सफलता आफ्नै मातृभूमिमा मेहनत र समर्पणबाट सम्भव हुन्छ ।’

शुभारम्भको सन्देशः ड्रिम इन्टरनेशनल होटलको शुभारम्भमा आफूले आश्रममा राखेका विभिन्न जिल्लाका ४५ जनालाई लिएर आएका अध्यक्ष डोलबहादुर रामदाम (विश्वकर्मा) । तनहुँबाट २०६६ सालमा रुपन्देहीमा आएर आश्रम खोलेका रामदामको समेत दुर्घटनामा परेर दुवै हात गुमाएका छन् । हात नभएपनि काम गर्न सकिन्छ भन्ने बलियो उदाहरण उनले दिएका छन् । सो आश्रममा रहेका व्यक्तिहरुलाई काम सिकाएर आत्मनिर्भर बनाउने उनको योजनामा पर्यटन व्यवसायी तथा उद्यमी रानाजस्ता समाजसेवीको योगदान छ । तस्बिरः अमृत गिरी/मेचीकाली
यही पाठलाई आधार बनाएर उनले रुपन्देहीमा होटल व्यवसायलाई मात्र होइन, समाजसेवामा पनि नयाँ आयाम दिए । अरु कसैले खोलेको मणिग्रामको समरल्याण्ड रिसोर्टलाई स्वामित्व लिएर विस्तार गरेर ‘ड्रिमल्याण्ड गोल्ड रिसोर्ट’ बनाउन सफल भए । संगसंगै उनी ‘ड्रिम इन्टरनेशनल होटल’ मार्फत बुटवललाई पर्यटकीय नक्सामा स्थापित गर्ने नेतृत्वकर्ताका रूपमा उदाए । तर, हालैको जेनजी आन्दोलनको विध्वंसले यी संरचनालाई खरानी बनाइदियो । सम्पत्ति गुमे पनि उनको आत्मबल अझ दृढ भयो ।

फिनिडा संस्थामा काम गर्दै गुल्मी–अर्घाखाँचीका गाउँमा खानेपानीको प्रबन्ध गर्दा पनि यही आत्मविश्वास गहिरियो । गुल्मी र अर्घाखाँचीका गाउँगाउँमा पानीका धारा जडान गर्ने अभियानमा उनी प्रत्यक्ष संलग्न भए । गाउँलेहरूको कठिनाइ नजिकबाट देख्दा उनले बुझ्न थाले–श्रम, प्रतिबद्धता र सेवा नै जीवनको मूल मूल्य हो ।
उद्यमशीलता यात्राः ‘ड्रिमल्याण्ड रिसोर्ट’
रुपन्देही फर्किएर केही गर्न खोज्दा अवसरले उनलाई मणिग्रामस्थित समरल्याण्ड रिसोर्ट पु¥यायो । होटल सञ्चालकलाई समस्या परेपछि रानाले होटलको जिम्मेवारी सम्हाले । १२ कोठामात्र भएको रिसोर्टलाई उनले विस्तार गरेर ‘ड्रिमल्याण्ड गोल्ड रिसोर्ट’ बनाए ।

त्यो रिसोर्टमा सयभन्दा बढीको रोजगारी सिर्जना भयो । होटल परिसरमा खाली जमिन नराखी उनले तरकारी र फलफूल लगाएर हराभरा वातावरण निर्माण गरे । यसरी ड्रिमल्याण्ड नेपालकै गणनायोग्य नमुना रिसोर्टको रूपमा ख्याति कमाउन सफल भयो । थकित र कुनै तनावमा पर्दा त्यहाँ पुगेपछि ती सबै भुल्ने उपयुक्त गन्तव्य बनेको थियो रिसोर्ट । तर, भदौ २४ गतेको विध्वंशले उनको होटललाई क्षणभरमै खरानी बनाइदियो । अहिले त्यहीँ खरानी टक्टकाएर जुरुक्क उठ्न खोज्दैछन् राना । उनलाई यसरी खरानीबाट उठ्न उनको परिवार, नातेदार र होटलका स्टाफहरुले साथ दिइरहेका छन् ।
बुटवलको गर्वः ‘ड्रिम इन्टरनेशनल होटल’
त्यसपछि रानाले अर्को महत्वाकांक्षी परियोजना अघि सारे–बुटवलको कालिकापथमा ड्रिम इन्टरनेशनल होटल । आफ्ना नातेदार, विशेषगरी ससुराली परिवारको सहयोग र बैंक–वित्तीय संस्थाबाट जुटाइएको ऋणमा उनले आकर्षक र व्यवस्थित बुटिक होटल सञ्चालनमा ल्याए ।

आज यो होटल बुटवलको आधुनिक हस्पिटालिटीको पहिचान मानिन्छ । करोडौंको लगानीले तयार भएको यस होटलले रुपन्देहीलाई पर्यटकीय नक्सामा मजबुत रूपमा स्थापित गरेको छ ।
यो होटलमा कुनै दलका नेताको लगानी छ भनेर विध्वंशकारीले आक्रमण गरे । तोडफोड गरे, लुटपाट र आगजनी गरे । केही दिनपछि नै उनले यहाँको खरानीबाट माथि उठ्दै आज पुनः सञ्चालनको तहमा ल्याइपु¥याएका छन् ।
मंगलबार नवरात्रको दोस्रो दिन, मिलनचोकस्थित ड्रिम इन्टरनेशनल होटल पुनः सञ्चालन गर्दै उनले क्षेत्रका अपाङ्ग, असहाय र अनाथलाई विशेष भोजन गराएर नयाँ सुरुआत गरे । सो अवसरमा अपाङ्ग आश्रमका ४५ जना आश्रितलाई आफ्नै साधनमा होटलसम्म ल्याएर भोज खुवाइएको थियो । आश्रमका सञ्चालक डोलबहादुर रामदामले भावुक हुँदै भने, ‘जहिले जे खाँचो पर्छ, त्यसबेला गोपाल दाइलाई सम्झने गर्छौं र त्यो पूरा हुन्छ ।’
यसक्षेत्रका आश्रमका लागि रानाले अक्षयकोष स्थापना गरेका थिए । हरेक चाडपर्वमा आश्रममै पुगेर भोजन गराउनेदेखि लत्ताकपडा उपलब्ध गराउनेसम्मका काम नियमित जसो गर्दै आएका छन् ।

व्यवसायभन्दा अगाडिः समाजसेवामा समर्पण
गोपाल राना केवल उद्यमी मात्र होइनन्, समाजसेवामा समेत अग्रसर छन् । उनले झण्डै एक दर्जन अक्षयकोष स्थापना गरी असहाय, अपाङ्ग, जेहेनदार विद्यार्थी र सडकमा आश्रित नागरिकलाई निरन्तर सहयोग गर्दै आएका छन् । हरेक चाडपर्वमा उनले अनाथालय र आश्रमका बालबालिका र अपाङ्गलाई भोजन, लत्ताकपडा र आवश्यक सामग्री उपलब्ध गराउँछन् । उनले आफ्नै शब्दमा प्रष्ट्याउँछन्–‘व्यवसायमा कमाएको केही भाग समाजलाई फर्काउन सके मात्रै जीवनको अर्थ हुन्छ ।’
रानाले व्यापारिक सफलता मात्र होइन, समाजसेवामा पनि उदाहरण प्रस्तुत गरेका छन् । उनले झण्डै एक दर्जन अक्षयकोष खडा गरेर असहाय, अपाङ्ग, जेहेनदार विद्यार्थी, सडकमा आश्रित मानवदेखि अन्य जरुरतमन्दलाई निरन्तर सहयोग गर्दै आएका छन् । मार्गनिर्देशन गरेका कैयन् युवाहरु स्वरोजगार उद्यममा जमेका छन् । रानाले धर्मपुत्र बनाएर राखेका एकजना युवा त अहिले ब्याच्लर तहमा अध्ययन गरिरहेका छन् र फुर्सदमा बारिष्टा सिकिरहेका छन् । जेनजी पुस्ताका कैयन्लाई रोजगारी नै दिएका छन् ।

अकस्मात् आएको विपत्तिः ‘जेनजी आन्दोलन’को विध्वंस
दशकौँको मेहनतले खडा गरिएका यी संरचना हालैको जेनजी आन्दोलनमा खरानी बने । तोडफोड, आगजनी र लुटपाटका क्रममा उनका होटलहरू प्रत्यक्ष निशाना बने । केही समूहले ‘दल नेताको लगानी’ भन्दै पूर्वाग्रहसहित आक्रमण गर्दा उनको सम्पत्ति मात्र नभई मानसिक शान्तिमा पनि चोट पुग्यो । ‘धन सम्पत्ति खरानी भयो भने फेरि बनाउन सकिन्छ । तर, पूर्वाग्रह र निहित स्वार्थले लगाइएको दागलाई मेटाउन गाह्रो हुन्छ ।’ हुँदै नभएको आरोप खेप्दा उनलाई दुःख लागेको छ ।
उनले युवा पुस्ताले चोखो मनले उठाएका मागहरु जायज रहेको उल्लेख गर्दै आन्दोलनलाई भने घुसपैठ भएर भड्काउने काम भएको बताए । ‘खास जेनजी ले यो तहको विध्वंश गरेकै होइन, चाहेकै थिएन जो अहिले विभिन्न सञ्जालहरुमा आइरहेकैछ तर कसले किन कुन नियतले यो सब ध्वंश ग¥यो त्यो अपराधमा संलग्नहरुको छानबिन होस्’रानाको भनाइ छ ।

न विचलित भए, न मनोबल घट्यो
आन्दोलनले उनको भौतिक सम्पत्ति ध्वस्त गरिदियो । तर, उनको मनोबललाई चाहिँ चट्याङले समेत छुन सकेन । उल्टै, समाजसेवामा अझै गहिरो समर्पण गर्ने संकल्प बलियो बन्यो । आज रानाको कथा केवल होटल व्यवसायको मात्र होइन,यो कथा हो–कठिनाइलाई अवसरमा बदल्ने संकल्पको, राखबाट पुनः उठ्ने साहसको र समाजलाई निरन्तर सेवा गर्ने मानवीयताको ।
मलाई बाहिरबाट देख्दा धेरैले धेरैथरी अनुमान लगाउन सक्छन्, नेताकै लगानी भएको भनेर जसरी आरोपित गर्दै विध्वंश गरे त्यस्तै गरेर नचिन्नेहरुले अनेक सोच्छन् होला । तर, मेरो बारेमा यहाँका असहाय, अनाथ, अपाङ्ग र केही गरौं भन्ने हुटहुटी भएका युवा पुस्तालाई सोध्दा हुन्छ, बुझुदा हुन्छ,’ राना भन्छन् । उनी भन्छन्–‘धन र सम्पत्ति क्षणिक हुन् तर समाजप्रतिको समर्पण र सहयोगको भावना अमर हुन्छ ।’
