नेपाली क्रिकेटको अर्को ऐतिहासिक उपलब्धि: टी–२० विश्वकप २०२६ का लागि छनोट

मेचीकाली संवाददाता

३० आश्विन २०८२, बिहीबार
369 shares

अमृत गिरी

बुटवल । खेलकुदले सबैलाई जोड्छ, खुशी दिन्छ, समृद्धि दिन्छ र एकताको शुत्रमा समेत बाँध्छ । अहिले नेपाली क्रिकेटले ऐतिहासिक उपलव्धि हासिल गर्दै अर्को खुशी थपेको छ । नेपालले आफ्नो क्रिकेट इतिहासमा अर्को महत्वपूर्ण सफलता जोड्दै आउँदो वर्ष सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकपका लागि छनोट भएको छ ।
ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया–इएपी छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले यो ऐतिहासिक सफलता हासिल गरेको हो । नेपालले लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक टी–२० विश्वकपमा स्थान पक्का गरेको हो । यसअघि नेपालले २०२४ र सन् २०१४ को टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो ।

यद्यपि ओमानमा छनौट खेलका बाँकी दुई प्रतियोगिता बाँकी छँदै नेपाल छनौट भएको हो । योसंगै नेपालले दोस्रोपटक टी–२० विश्वकप खेल्ने अवसरलाई सुनिश्चित गरेको छ । नेपालसंगै ओमान पनि छनौट भएको छ । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा पहिलोपटक तथा २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा दोस्रो पटक विश्वकप खेलेको थियो । यो पटक नेपालले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने विश्वकपका लागि छनोटमा स्थान सुरक्षित गर्दै इतिहास रचेको छ । ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया–इएपी छनोट प्रतियोगितामा नेपालले उत्कृउष्ट प्रदर्शन गर्दै लगभग गुमेको सफलता हासिल गरेको थियो । नेपालका दुवै जितलाई क्रिकेटमा जे पनि हुनसक्छ भन्ने टिप्पणीलाई सही सावित गरिदिएको थियो ।

नेपाली क्रिकेटको ऐतिहासिक यात्रा
सुपर सिक्स चरण अघि नै दुई खेल जितेर नेपाल बलियो स्थितिमा पुगेको थियो । कतार र युएईविरुद्ध जितपछि जापान र समाओको हारसँगै नेपालले दुई खेल बाँकी रहँदै विश्वकप स्थान पक्का ग¥यो । यसपालिको छनोट संरचना नयाँ थियो, जहाँ ९ टोली सहभागी थिए र शीर्ष ३ टिम विश्वकपमा छनोट हुने प्रावधान थियो । आइसिसीले नै यस्तो नियम र अवसर दिएको थियो । यी देशहरुका लागि आइसीसीले यसप्रकारको कोटा नै तोकेको थियो । समूह चरण पार गर्दै सुपर सिक्समा प्रवेश पाएको नेपालले सुरुवाती बोनस अंकसहित उच्च मनोबलमा खेल्दै अवसर सदुपयोग गर्न सक्यो । जसले नेपाली क्रिकेटमा अर्को ऐतिहासिक सफलता हासिल गरेको हो ।

ऐतिहासिक जित र आत्मविश्वास
नेपालले छनोट अघि दुई पटकको विश्वविजेता वेष्ट इन्डिजसँग टी–२० सिरिज खेलेको थियो, जसमा २–१ को जितसहित उच्च मनोबल बनाएको थियो । युएईविरुद्धको १ रनको थ्रिलिङ जित यस यात्राको टर्निङ प्वाइन्ट मानिएको छ । नेपाललाई महत्वपूर्ण क्षणमा यसअघि यूएइले स्तब्ध पार्दै आएकोमा यसपालि नेपालले भने ती सबै हारको बदला लिएको छ । दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा ३ बलमा ३ विकेट लिँदै बलियो टिम यूएइविरुद्धको खेलमा नायकको भूमिका निभाएका थिए । ओमानको भूमिमा युएईविरुद्धको यो पहिलो जीत पनि ऐतिहासिक रह्यो ।

क्रिकेटका सम्भावना र चुनौती भरिएको अवसर
नेपालको यो सफलता केवल टिमको प्रदर्शन मात्र नभई नेपाली क्रिकेटको सम्भावनाको प्रतीक बनेको छ । विश्वकपजस्तो ठुलो मञ्चमा निरन्तर सहभागी हुँदै नेपालले विश्व क्रिकेटमा आफ्नो स्थान थप मजबुत बनाउँदै छ । यद्यपि नेपाली क्रिकेट सामू चुनौति पनि उत्तिकै छ । खासगरी नेपालको मध्यक्रमको ब्याटिङ लाइन एकदम कमजोर बनिरहेको छ । नेपालले ऐतिहासिक मौका र अवसरमा प्राय चुक्ने गरेको विगत पनि नेपालका लागि अर्को चुनौति हो । यसपटकको विश्वकपमा नेपालले अरु बलिया देशहरु सामू उनीहरुका लागि रेकर्ड राख्नेगरी होइन हामीले रेकर्ड कायम गर्नेगरी प्रदर्शन गर्नुपर्ने छ । भारत, पाकिस्तान, श्रीलंकाजस्ता देशहरुसंग नेपालले आत्मविश्वासले भरिएको प्रदर्शन गर्नुपर्ने छ । यो सम्भावना पनि हो र चुनौति पनि उत्तिकै हो ।

अन्तर्राष्ट्रिय अनुभव र खेल अभ्यासले नेपाली खेलाडीहरूमा आत्मविश्वास, सामथ्र्य र प्रतिस्पर्धात्मकता थपिदिएको छ । बोर्डको संरचना, टिमको मिहिनेत र देशव्यापी समर्थनले नेपाली क्रिकेटलाई नयाँ उचाइतर्फ डोर्याउने संकेत दिएको छ । टिमको निरन्तर मिहिनेत, रणनीतिक तयारी र नतिजा निकाल्ने क्षमताले अब नेपाललाई विश्व क्रिकेटमा एक सशक्त उपस्थिति निर्माण गर्ने अवसर प्रदान गरेको छ ।

ओमानमाथि नेपालको सानदार जित
आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले लगातार पाँचौँ जित हात पारेको छ । नेपालले बुधबार राति खेलिएको ‘सुपर–६’ चरणको खेलमा आयोजक ओमानलाई ३८ रनको फराकिलो अन्तरले हरायो ।

ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको ओमानले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय १३ रनमात्र बनाउन सक्यो ।

जारी छनोट प्रतियोगितामा हालसम्म आफूले खेलेको सबै खेल जित्ने नेपाल एकमात्र टोली हो । जितसँगै नेपाली टोली आठ अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ । नेपाली टोलीले छनोट प्रतियोगिताको च्याम्पियन बन्ने सम्भावना पनि निकै बलियो बनाएको छ ।
नेपाल र ओमान यसअघि नै आगामी टी–२० विश्वकपमा छनोट भइसकेका छन् । नेपाली टोली समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक टी–२० विश्वकपमा छनोट भएको हो । नेपाली टोलीले यसअघि सन् २०१४ मा पहिलो पटक र सन् २०२४ मा दोस्रो पटक विश्वकप खेलेको थियो ।

विश्वकपमा छनोट हुने तेस्रो टोलीको भने टुङ्गो लाग्न बाँकी छ । बुधबार रातिको खेलमा आयोजक ओमानलाई जितसम्म पुग्नबाट रोक्ने क्रममा नेपाली बलरहरुले पनि उत्कृष्ट प्रदर्शन गरे । नेपाली बलरले सुरुदेखि नै ओमानका ब्याट्सम्यानलाई दबाबमा राखेका थिए ।
गुलसन झाले तीन विकेट लिए । उनले १४औँ ओभरको चौथो र पाँचौँ बलमा लगातार दुई विकेट लिएका थिए । सोमपाल कामीले दुई विकेट हात पारे । नन्दन यादवले पनि दुई विकेट लिए । सन्दीप लामिछानेले एक विकेट कुम्ल्याए ।
ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३२ रन बनाए । उनले केवल १९ बलमा तीन छक्का र एक चौका पनि हिर्काए । मोहम्मद नदिमले २५ रन जोडे । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान जतिन्दर सिंहले १४ रन बटुले । आर्यन बिष्टले टोलीको खातामा ११ रन थपे ।

त्यसअघि, नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । उनले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै ६९ रन बनाए । उनले ५१ बलमा एक छक्का र सात चौका प्रहार गरे ।
२८ वर्षीय कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १३औँ अर्धशतक हो । कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि ६१ रनको साझेदारी गरे । विकेटकिपर ब्याट्सम्यान आसिफ शेख २४ रन बनाउँदै आउट भए । उनले २० बलमा एक छक्का र दुई चौका पनि हिर्काए । आसिफ आउट भएपछि नेपालको रन बनाउने गति सुस्त भएको थियो ।
नेपाली टोलीका अन्य ब्याट्सम्यानको प्रदर्शन निकै निराशाजनक रह्यो । कप्तान रोहित पौडेल दुई बलमा एक रन बनाउँदै पेभेलियन फर्किए ।

चौथो नम्बरमा क्रिज समाल्न आएका अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । उनी आफूले सामना गरेको पाँचौँ बलमै आउट भएका थिए ।
पाँचौँ नम्बरका ब्याट्सम्यान कुशल मल्ल पनि नौ बलमा केवल सात रन बनाउँदै मैदानबाट बाहिरिएका थिए । कुशल मल्लको ठाउँ लिन आएका आदिल आलमले टोलीको खातामा १६ रन थपे ।
छैटौँ नम्बरमा क्रिज समाल्न आएका आदिल आलमले १५ बलमा तीन चौका पनि हिर्काए । गुलसन कुमार झाले पनि केवल १० बलमा दुई छक्काको मद्दतले १८ रन बनाए । तीन बलको सामना गरेका लोकेश बलमे खाता खोल्न सकेनन् । सोमपाल कामी एक रनमा अविजित रहे । नन्दन यादवले चार बलमा एक छक्काको मद्दतले नौ रन बटुले ।

ओमानका बलर नदिम खानले चार विकेट लिए । जितेन कुमार रामानन्दीले पनि दुई विकेट हात पारे । सुफयान मेहमुदले पनि दुई विकेट लिए । नेपालले अतिरिक्त रुपमा चार रन पायो ।
आगामी टी–२० विश्वकपका लागि यो एसिया–प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता हो । यो छनोट प्रतियोगिताबाट तीनवटा टोली सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा पुग्नेछन् ।
‘सुपर–६’ चरणको तालिकामा नेपाल आठ अंकसहित पहिलो स्थानमा उक्लिएको छ । ओमान ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । अब नेपाल र ओमानले एक–एक खेल खेल्न बाँकी छ ।

नेपालले आफ्नो अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ । सोही दिन ओमानले पनि आफ्नो अन्तिम खेल जापानसँग खेल्नेछ । यूएई चार अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । यूएईले पनि अब एक खेलमात्र खेल्न बाँकी छ । यूएईले आफ्नो अन्तिम खेल बिहीबार जापानसँग खेल्नेछ ।
जापान दुई अंकसहित चौथो स्थानमा छ । जापानले अब दुई खेल खेल्न बाँकी छ । जापानले बिहीबार यूएईसँग र शुक्रबार ओमानसँग खेल्नेछ ।
यसैगरी, कतार दुई अंकसहित तालिकाको पाँचौँ स्थानमा छ । कतारले अब एक खेलमात्र खेल्न बाँकी रहेको छ । कतारले आफ्नो अन्तिम खेल बिहीबार सामोआसँग खेल्नेछ । हालसम्म अंक बटुल्न नसकेको सामोआ भने तालिकाको छैटौँ स्थानमा छ । सामोआले अब दुई खेल खेल्न बाँकी छ । सामोआले बिहीबार कतारसँग र शुक्रबार नेपालसँग भिडन्त गर्नेछ ।