मौलिक देउसीभैलो र सोरठी जोगाउन सकस

मेचीकाली संवाददाता

१३ कार्तिक २०८२, बुधबार
116 shares

टोपलाल अर्याल

गुल्मी । पश्चिमा गीत संगीतले प्रवेश पाएपछि तिहारमा खेलिने देउसीभैलो, मारुनी र सोरठी लोप हुने जोखिम बढेको छ । कुकुरतिहारदेखि एकादशीसम्म गाउँ टोलहरुमा देउसीभैलो र सोरठी खेल्ने चलन छ । अहिले मादलको तालमा मौलिक गीतभन्दा स्पिकरको भरमा पप र हिन्दी गीतमा नृत्य गर्ने किशोरकिशोरीको समूह धेरै छन् । सोरठीका पाका मान्छेहरु कोही रहेनन् कसैले गाउँनै छोडे ।

गुल्मीको मुसिकोट नगरपालिका–८ मालारानीका ६२ वर्षीया टेकबहादुर छन्तेल सोरठीका गुरुमा हुन् । उनले चारै दिशाका देविदेवता भाकेपछि सोरठीको मेलो सुरु हुन्छ । टेकबहादुर श्रीस र तुलप्रसाद छन्तेल मादलका गुरु हुन् । घाँगर, धोती, इष्टकोट र सेता साफाले सजिएका पुर्सुङ्गे तेजबहादुर छन्तेल र महिलाको पोशाकका मारुले गोविन्द छन्तेल र उमेश दर्लामीको नृत्य निकै मनमोहक छ । मादले श्रीस र छन्तेलले ठोक्ने मादलमा भुरेपछि कैयन् परिवार प्रभावित भएर दक्षिणा टक्राउँछन् ।
गुमगुम मादलको लामो स्वरमा गाइने सोरठी र भुर्भुर नृत्यले तिहारदेखि महिनादिन गुञ्जिन्छन् । मालारानी जनजातीहरुको राम्रो बसोबास भएको गाउँ हो । तर, सबै समुदाय मिलेर सोरठी खेल्दै आएको गुरुमा टेकबहादुर छन्तेलले बताए । छन्तेलले सोरठी पाको पुस्तामा रहेकाले पुस्तान्तरणको खाँचो रहेको बताए ।

सोरठी नाच्न र गाउन अब्बल गंगुप्रसाद छन्तेल, गुरुमा हरिलाल छन्तेल र नरबहादुर छन्तेल दिवंगत भए । ९० वर्षीय खड्गबहादुर घर्ती सोरठीका संरक्षक थिए । १४ वर्षको उमेरदेखि सोरठी नाच्न थालेका घर्तीको अहिले मृत्यु भएको छ । उनका बाउबाजेहरु पनि सोरठीका कलाकार थिए । पुरानो पुस्ताहरुबाट पुस्तान्तरण हुँदै आएको सोरठी जोगाउन अहिले युवाहरुलाई सिकाउन थालिएको छ ।
जैसिङ्गे राजाको जीवन गाथा, देविदेवताको नामसँगै बिचबिचमा चुट्कासहित सोरठी प्रस्तुत गरिन्छ । तिहारपछि मंसिरको पूर्णिमासम्म सोरठी खेल्ने भएकाले गाउँ, छिमेकसंगै वामी, बुर्तिबाङ्गदेखि वुटवलसम्म पुगेर सोरठी खेल्ने गरिएको स्थानीय अगुवा लोकप्रसाद छन्त्यालले जानकारी दिए ।

सोरठी दिनरात खेलिन्छ । गाउँको मूलघरमा देवी बाँधेपछि अरु ठाउँ खेल्न पाइन्छ । धुर्कोट गाउँपालिका–१ नयाँगाउँका नारायण जिसी मारुनीका पारखी हुन् । १० वर्षको उमेरबाट बुबा र काकाहरुसँग हिँड्दाहिँड्दै देउसीभैलो र सोरठी सिकेका जिसी बर्सेनी तिहारमा नाच्ने गर्छन् । आफूहरुले रातभर नसुतेर पनि देउसीभैलो र सोरठी नाचेको स्मरण गर्दै मौलिक संस्कृति स्पिकर बजाएर नाच्नेहरुको चङ्गुलमा परिरहेको जिसीले बताए । उनले भने,‘हामीले सिक्ने बेला बुबा र काकाहरुको डर हुन्थ्यो बेग्लै खटाइ र सिकाइ थियो । अहिलेको पुस्ता सुन्न, हेर्न र सिक्न उत्सुक छैनन बरु स्पिकरमा हिन्दी गीत बजाएर नाच्छन् ।’
सत्यवती गाउँपालिका–८ भार्सेका ७९ वर्षीय सोरठीका गुरुबा यमबहादुर छन्तेल अझै जोसका साथ सोरठीका लागि कस्सिन्छन् । बाल्यकालबाट सोरठी गाउने छन्तेल पाका र युवा उमेर समूहलाई भेला पारेर रातभर सोरठीका भाकामा स्वर दिँदै आएका छन् । भार्सेको सोरठी र कृष्ण चरित्र लुम्बिनी प्रदेशमै प्रख्यात मानिन्छ । मेला महोत्सवमा भार्सेलीहरुले सोरठी र कृष्ण चरित्रसँगै झ्याउरे, सालैजो र दोहोरी प्रस्तुत गर्छन् ।

भार्सेमा होमस्टे सञ्चालन भएकाले पाहुनाको चाहनाअनुसार गाउने र नाच्ने पनि गरिएको छ । समूहमा छन्तेलले निकाल्ने सोरठीको भाकामा तन्नेरीले मेलो थप्छन् । गाउने र नाच्नेहरु बच्चादेखि वृद्धसम्म हुन्छन् । कृष्ण जन्माष्टमी र तिहारमा पनि कृष्ण चरित्र गाउने र देखाउने प्रचलन रहेको छ ।

यो प्रकारका कला संस्कृति र परम्पर जिल्लाका अधिकांश ठाउँमा संकटमा परिरहेका छन् । तर, यी गीत र नृत्यहरु भार्सेमा पाको पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण गरिएको सोरठी गायक तथा मादलबाधक नारायण विकले बताए । १२ वर्षको उमेरबाट सोरठी गाउँदै र नाच्दै आएका इस्मा गाउँपालिका–२ हस्तिचौरका राजेन्द्रविक्रम कुवँरले विद्यालयहरुबाटै सोरठी, मारुनी र देउसी भैलालगायतका मौलिक परम्पराका अभ्यास हुनुपर्नेमा जोड दिए । यी संस्कृतिको संरक्षण गर्न कहीँकतैबाट अपेक्षाकृत काम नभएपनि कुनै समुदायमा यद्यपि जीवित रहेको कुँवरले बताए । उनले पर्वअनुसारका हाम्रा कला संस्कृति समुदायकै पहिचान पनि भएकाले सामुदायिक संघ–संस्था र क्लवहरुले पनि जोगाउनुपर्ने सुझाव दिए ।