मिलन गाहा
बुटवल । दन्त स्वास्थ्य आजको युगमा अत्यन्त महत्वपूर्ण विषय बनेको छ । विश्वमै सबैभन्दा महँगो उपचारहरूमध्ये दन्त उपचार पनि एक हो र दन्तसम्बन्धी समस्या झण्डै सबै मानिसमा देखिने गरेको तथ्यले यसको गम्भीरता झनै स्पष्ट पार्छ ।
यस्तै चुनौतीपूर्ण क्षेत्रमा दक्षता, इमानदारी र सेवाभावका साथ काम गरिरहेका छन्–युवा दन्त सर्जन डा.विराट थापा । आज उनी दन्त स्वास्थ्यप्रति जनचेतना बढाउने, आधुनिक उपचार विधि सर्वसुलभ गराउने र बिरामीलाई मानवीय आधारमा उपचार गर्ने चिकित्सकको पहिचानमा स्थापित भइसकेका छन् ।
गाउँदेखि दन्त विशेषज्ञसम्मको यात्रा
रामपुर नगरपालिका–२, गडाकोट अत्राबासमा जन्मिएका डा.थापाको शैक्षिक यात्रा सरस्वती मावि, रामपुरबाट सुरु भएको हो । उच्च माध्यमिक तह पोखराको नयाँ ग्यालेक्सी एचएसएस र सगरमाथा एचएसएसबाट पूरा गर्दै उनले दन्त चिकित्सक बन्ने आफ्नो लक्ष्यलाई पछ्याउँदै स्नातक अध्ययन कान्तिपुर डेन्टल कलेजबाट सम्पन्न गरे ।
विद्याभ्यासपछि २०२० देखि बुटवलस्थित आले डेण्टल र भूपू सैनिक डेन्टल क्लिनिकमा व्यावसायिक यात्राको सुरुवात गरेपछि उनले दन्त उपचारमा आधुनिकता, सावधानी र मानवीयपन मिसिएको उपचार सेवा प्रदान गर्दै आएका छन् ।
व्यावसायिक दक्षता र विशेषज्ञता
डा.विराट सामान्य दन्त उपचारदेखि लिएर उच्चस्तरीय प्रक्रियासम्म कुशलतापूर्वक सम्पन्न गर्ने चिकित्सकका रूपमा परिचित छन् । उनको विशेषज्ञता निम्न क्षेत्रमा उत्कृष्ट मानिन्छ–सामान्य दन्त चिकित्सकका सेवाहरू, दाँत निकासी, एस्थेटिक (सौन्दर्य) पुनस्र्थापना, निश्चित कृत्रिम दन्त (फिक्स्ड प्रोस्थेसिस), इम्प्लान्ट दन्तचिकित्सा ( प्रत्यारोपण दन्त चिकित्सा ) ।
दन्त रोगका बिरामीहरू उपचारका क्रममा आत्मविश्वासपूर्वक बस्न सकून् भन्ने विश्वासका साथ उनले हरेक केसमा अत्याधुनिक विधि र उपकरण प्रयोगलाई प्राथमिकता दिने गर्छन् । अहिले उनी आबद्ध रहेको दन्त क्लिनिकले विश्वस्तरमा उत्कृष्ट सेरेक मेसिनको समेत जडान गरेको छ । उक्त मेसिनले अब मानिसको दाँतलाई नयाँ बनाउन एक घण्टाको समय भए पुग्छ । एक घण्टामै नयाँ दाँत तयार पारेर दिनसक्छ । यो उपकरण लुम्बिनी प्रदेशमै पहिलोपटक यहीँ भूपू सैनिक डेण्टल क्लिनिकले ल्याएको हो । यो आधुनिक दन्त स्वास्थ्यको पछिल्ला उपकरण हो ।
सेवाभावले भरिएको मानवीय चिकित्सक
डेन्टल सर्जन थापाको अर्को विशेषता हो–उनी पैसाभन्दा सेवाको भावना र बिरामीको आवश्यकता प्राथमिक मान्छन् । दन्त उपचार महँगो मानिन्छ, तर उनी बिरामीको आर्थिक स्थिति, समस्या र अवस्था हेरेर उपयुक्त विकल्प सुझाउने चिकित्सकका रूपमा चिनिन्छन् । यसैले उनी भूपू सैनिक डेन्टल क्लिनिकमा उपचार गराउन आउने धेरै बिरामीको पहिलो रोजाइ बनेका छन् । कम बोल्ने तर काममा अत्यधिक लगनशील हुने स्वभावका कारण उनी विश्वासिलो र पेशागत नैतिकता पालन गर्ने चिकित्सकका रूपमा सम्मानित छन् ।
समाजलाई स्वस्थ राख्न दन्त स्वास्थ्य अत्यावश्यक छ र यसै क्षेत्रमा युवाशक्तिको रुपमा उदाएका छन्–डा.विराट । उनको दत्तचित्त भएर काम गर्ने शैली, बिरामीलाई सम्मान र सहानुभूति दिने बानी र आधुनिक दन्त उपचारलाई सर्वसुलभ बनाउने प्रयासले उनलाई उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा स्थापित गरिरहेको छ ।
‘दाँत–शरीरको प्रवेशद्वार’
डा.विराटको मान्यता छ,‘जब मुख अस्वस्थ हुन्छ, शरीरको समग्र स्वास्थ्य नै कमजोर हुन्छ ।’ मुख तथा गिँजामा समस्या उत्पन्न भएका बिरामीमा पेट, मुटु, फोक्सोका रोगसँगै अन्य स्वास्थ्य जटिलताहरू पनि देखिने गरेको अध्ययनले पुष्टि गरिसकेको छ । त्यसैले उनी नियमित जाँच, सफा–सुग्घर मुख स्वच्छता, सन्तुलित खानपान र समयमै उपचारका लागि निरन्तर जनचेतना फैलाइरहेका छन् । दन्त स्वास्थ्यलाई प्राथमिकतामा राख्ने र ‘स्वस्थ मुख, स्वस्थ जीवन’ भन्ने संदेश फैलाउने अभियानमा उनीजस्ता यसक्षेत्रका कतियप चिकित्सकहरु केन्द्रित छन् ।
चुनौतीसँगै उपलब्धि
दन्त उपचार क्षेत्रमा दिनप्रतिदिन आउने नवीनतम प्रविधिलाई आत्मसात् गर्नु, बिरामीको व्यथालाई बुझेर सहानुभूतिपूर्ण सेवा दिनु र पेशागत मर्यादामा रहँदै निरन्तरता दिनु यी सबै कार्य डा.विराटका लागि चुनौती मात्र होइनन्, पेशागत प्रतिबद्धताको उदाहरण पनि बनेका छन् । यही निष्ठा र मेहनतका कारण आज उनी बुटवल क्षेत्रका विश्वसनीय दन्त चिकित्सकका रूपमा उदाएका छन् ।
व्यक्तिगत रुचि र व्यक्तित्व
खेलप्रेमी चिकित्सकका रूपमा पनि उनी परिचित छन् । फुटबल, फुटसल, पदयात्रा र आउटडोर गतिविधिहरू उनको दैनिकीको हिस्सा हुन् । यसले उनलाई ऊर्जावान्, अनुशासित र सकारात्मक बनाइदिएको छ, जुन गुण उनी पेसागत जीवनमा पनि उतार्छन् ।
