होराइजन जीवीएसद्वारा पहिलो वार्षिक उत्सव मनाउन सुरू

मेचीकाली संवाददाता

२५ पुष २०८२, शुक्रबार
240 shares

बुटवल । रुपन्देहीको तिलोत्तमा–१ ड्राइभरटोलस्थित होराइजन जीबीएस स्कूलले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी पहिलो वार्षिक उत्सव मनाउन सुरू गरेको छ । शुक्रबारदेखि आउँदो पुस ३० गते सम्म विभिन्न कार्यक्रम गरी वार्षिकउत्सव तथा खेल सप्ताह सुरुआत गरेको हो । विद्यालय स्थापनाको ३२ वर्ष पुगे पनि औपचारिक कार्यक्रम गरी अहिलेसम्म वार्षिकउत्सव मनाएको थिएन । विद्यालयले शुक्रबार स्कूलमा पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी दिएको हो ।

२९ गते पुरस्कार वितरण, खाना महोत्सव तथा सांस्कृतिक झाँकी प्रदर्शनी, ३० गते क्षितिजका गौतमबुद्ध नामक स्मारिकाको प्रकाशन तथा विमोचन मूल समारोह, चार जीपीए प्राप्त गर्ने विद्यार्थीलाई स्वर्ण पदक अर्पण पुरस्कार वितरण तथा शिक्षक विद्यार्थी अभिभावक सम्मान राखिएको प्राचार्य गोपाल प्रसाद आचार्यले जानकारी दिए । ‘कक्षा १० का ७० प्रतिशत विद्यार्थी प्रतिष्पर्धामा सहभागी हुनेछ’ प्राचार्य आचार्यले भने, ‘भलिबल, फुटबल, बास्केटबल, क्रिकेट ज्याबलिङ थ्रो लगायत राष्ट्रियपति रनिङ शिल्डका हुने सबै खेल प्रतियोगितामा सञ्चालन हुनेछन् ।’

२०५० मा स्थापना भई आधारभूत शिक्षा प्रदान गरिरहेको स्कूल आफै स्थायी बाधान स्रोत सम्पन्न हुन सकेको थिएन । २०६९ मा आइपुग्दा स्कूलले कक्षा ८ सम्मको स्वीकृति लिएर पनि स्कूलमा विद्यार्थीको अभाव नै थियो । त्यसपछि गौतमबुद्ध स्कूललाई होराइजनको स्वामित्वमा लिएर होराइजन गौतमबुद्ध बाट सञ्चालन गरेको १३ वर्षमा विद्यालयले ठूलो फड्को मारेको छ । अहिले कक्षा ११/१२ मा बिएस्सी कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुनुका साथै अहिले स्कूललमा ३ हजार ५०० विद्यार्थी अध्ययनरत रहेको प्राचार्य आचार्यको भनाइ छ । विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजूले स्कूलले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेको बताउँदै आफूहरुको लक्ष्य विश्वविद्यालयको अवधारणा अनुसार अघि बढेको जानकारी दिए । अध्यक्ष कसजूले राज्यले संस्थागत विद्यालयप्रति पक्षपातपूर्ण व्यवहार गरेको गुनासो समेत गरे ।

विद्यालयबाट प्लस टु पास गर्ने र एमबिबिएस इन्जिनियरिङ र सिए तथा अन्य प्राविधिक धारतर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरु धेरै रहेको शिक्षक कृष्ण पाण्डेले बताए । उच्च शिक्षा अध्ययन पूरा गरी देशभर छरिएर रहेका स्कूलका पूर्व विद्यार्थी नैं संस्थाका वास्तविक दुत रहेको विद्यालयले जनाएको छ ।