अक्सफोर्ड माविमा पुरस्कार वितरण

मेचीकाली संवाददाता

१० माघ २०८२, शुक्रबार
50 shares

बुटवल, माघ ९ (मेसस) । यस क्षेत्रको अब्बल अक्सफोर्ड माध्यमिक विद्यालय, बुटवलले शुक्रबार सरस्वती पूजा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता तथा शिक्षा विकास समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विकास समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीले शिक्षाको गुणस्तरीय सुधारसँगै व्यवहारिक र प्रयोगात्मक शिक्षामा सबै विद्यालयले विशेष ध्यान दिनुपर्ने बताए । उनले अक्सफोर्ड माध्यमिक विद्यालयले शिक्षा क्षेत्रमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै समयअनुसार प्रविधिमैत्री शिक्षण पद्धतिमा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।
विद्यालयका प्राचार्य दिनेश भुसालले अक्सफोर्ड विद्यालयले व्यवहारिक तथा प्रयोगात्मक शिक्षण सिकाइलाई प्राथमिकतामा राख्दै आएको बताए । कार्यक्रमको अवसरमा कक्षा ९ र १० मा सर्वोउत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयका सह–प्राचार्य सुमन भुसाल, अक्सफोर्ड कलेजका प्रमुख मनोज मरासिनी, शिक्षा विकास समन्वय इकाइ रुपन्देहीका शाखा अधिकृत झविलाल विश्वकर्मा, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवालीलगायतले मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक गतिविधि र उपलब्धिको प्रशंसा गरेका थिए ।