आम निर्वाचन–२०८२: दल फेरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका लुम्बिनीका नेता

मेचीकाली संवाददाता

१० माघ २०८२, शुक्रबार
17 shares

रमेश पराजुली

बुटवल । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा पनि दल बदलेर उम्मेदवार बन्नेको लर्को लागेको छ । पार्टीमा सक्रिय नेताहरूसमेत अन्तिम समयमा दल परिवर्तन गरेर चुनावी मैदानमा होमिएका छन् । व्यक्तिगत स्वार्थ, टिकट नपाएको असन्तुष्टि र राजनीतिक समीकरण परिवर्तनको कारण देखाउँदै नेताहरुले दल परिवर्तन गरेको देखिन्छ ।
बर्दियाबाट लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नागरिक उन्मुक्ति पार्टीका सांसद धर्मबहादुर चौधरी पार्टी छाडेर उज्यालो नेपाल पार्टी (उनेपा) बाट उम्मेदवारी दिए । लुम्बिनी प्रदेश सभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेतासमेत रहेका उनले हालै यताको जिम्मेवारी छाडेर कूलमान घिसिङ नेतृत्वको उनेपामा महासचिव रोजेका थिए । उनेपाको महासचिवसमेत बनेका उनले बर्दिया–२ बाट संघीय सांसदमा उम्मेदवारी दिएका छन् । उनले आफ्नो प्रदेशसभामा ५ वर्ष कार्यकाल पूरा नगरीबिचैमा छाडेर केन्द्रीय संसदीय यात्रा गर्ने बाटोमा लागेका हुन् । चौधरी गएको प्रदेशसभा निर्वाचनमा बर्दिया–२ (२) बाट निर्वाचित भएका थिए । प्रदेशका पूर्व मन्त्रीसमेत रहेका चौधरी पार्टीले दिएको अवसरअनुसार प्रदेशबाट राजीनामा दिएर प्रतिनिधिसभातर्फ उम्मेदवार बनेको बताउँछन् । ‘अहिलेसम्म प्रदेशमा बसेर जनताको सेवा गरेँ, अब संघबाट सेवा गर्ने योजनाका साथ चुनावी मैदानमा आएको छु ।’ उनले भने ।

यस्तै नेपाली कांग्रेसका पूर्वसांसद प्रमोदकुमार यादव यसपालि पनि उम्मेदवार बन्ने आकांक्षी थिए तर कांग्रेसले टिकट नदिएपछि अन्तिम समयमा यादव एमालेमा प्रवेश गर्दै रुपन्देही–४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने । यहाँबाट एमालेले महिला नेत्री सुनिता ठठेरलाई अघि सारेको थियो । तर, मंगलबार मनोनयन दर्ता गर्नुभन्दा केही घण्टाअघि मात्रै उम्मेदवार परिवर्तन गरी यादवले टिकट पाएका हुन् । यादवले आफूलाई पार्टीभित्रै अन्याय भएको महसुस भएपछि नयाँ राजनीतिक यात्राको निर्णय गरेको बताए । यादव २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट रुपन्देही–४ मा निर्वाचित सांसद हुन् । २०७९ को निर्वाचनमा भने उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्लासँग पराजित भएका थिए । कांग्रेसबाट एमालेमा प्रवेश गर्दै पुनः चुनावी मैदानमा उत्रिएका यादवको उम्मेदवारीलाई स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । भने यादवको एमाले प्रवेशले रुपन्देही–४ को चुनावी समीकरण थप रोचक बनेको छ ।

यस्तै चुनावको उम्मेदवारी दर्ताको दुई दिनअघि माघ ४ गते पूर्वमन्त्री मोहम्मद इस्तियाक राई जनता समाजवादी पार्टी (जसपा) का महासचिव थिए । सोही दिन एमाले प्रवेश गरी बाँके–२ बाट प्रतिनिधिसा सदस्यको लागि उम्मेदवार बने । उनको पहिचान मधेशबादी दलको थियो । तीन दशक लामो उनको राजनीतिक यात्रामा कहिले राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) कहिले तत्कालीन मधेशी जनअधिकार फोरम हुँदै अहिले एमालेमा आइपुगेका हुन् । बाँके–२ बाट २०६४, २०७४ मा निर्वाचित भएका उनी २०७० को दोस्रो संविधान सभा र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने पराजित भएका थिए । कुनै बेला एमालेको कटु आलोचक नेता इस्तियाक राई पटक–पटक मन्त्री पनि भएका नेता हुन् ।

नेपाली कांग्रेसबाट कपिलवस्तु–३ मा निर्वाचनको लागि नेता वीरेन्द्र कानोडियाको नाम एकल सिफारिस भएको थियो । कांग्रेस विशेष महाधिवेशनमा कानोडियाले हस्ताक्षर फिर्ता लिएपछि उनले टिकट पाउने सम्भावना न्यून देखेर पार्टी छोडी एमालेमा प्रवेश गर्ने निष्कर्ष निकाले । काठमाडौं गएर एमाले अध्यक्ष केपी ओलीसँग माघ १ गते पार्टी प्रवेश र कपिलवस्तु–३ बाट टिकट ल्याएर ६ गते एमालेबाट उम्मेदवार बने । उनले कांग्रेसमा बढ्दो विवाद, गुट–उपगुटका कारण दल परिवर्तन गरी एमालेबाट उम्मेदवार बनेको बताए । २०७४ मा कांग्रेसबाट लुम्बिनी प्रदेशसभाका सदस्य निर्वाचित उनी २०७९ मा सोही क्षेत्रबाट राप्रपाका जानकीप्रसाद यादवसँग पराजित भएका थिए । उनी कांग्रेसबाट तकालीन जिल्ला विकास समिति उपसभापति तथा संघीय जलस्रोत राज्यमन्त्रीसमेत भएका थिए । उखु उद्योगी कानोडिया किसानको भुक्तानी नदिएको समेत आरोप लाग्दै आएको थियो ।

यस्तै लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहेका तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता कन्हैया बनियाँले संघीय सांसदको उम्मेदवार बन्न सांसद पद र दल दुवै त्यागेका छन् । हालै रास्वपा प्रवेश गरेका उनी रुपन्देही–४ बाट उम्मेदवार बनेका छन् । २०७९ सालको निर्वाचनमा बनियाँ रुपन्देही–४ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । अहिलेको भूमिका फेर्नुपर्ने बेला भएकाले प्रदेशको जिम्मेवारी छाडेर संघतर्फ अग्रसर भएको उनले बताए ।

यता एमालेका पूर्वसांसद बृजेशकुमार गुप्ताले नेकपामा प्रवेश गरी कपिलवस्तु–२ मा उम्मेदवारी दर्ता गरेका छन् । उनी कपिलवस्तुबाट चारपटक सांसद भइसकेका नेता हुन् । २०५६ सालमा राप्रपाबाट सांसदमा निर्वाचित भएका उनी २०६४ मा तमलोपाबाट संविधानसभा सदस्य बनेका थिए । २०७४ मा एमालेबाट सांसद बनेका उनी २०७९ मा पराजित भएका थिए ।
कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्रीसमेत रहेका विक्रम खनालले पनि चुनावकै मुखमा पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पश्चिम नवलपरासी–१ मा उम्मेदवार बनेका छन् । २०७९ सालको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रमा कांग्रेसबाट उद्यमी विनोद चौधरीले टिकट पाएपछि उनी असन्तुष्ट बनेका थिए । पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै उनलाई कांग्रेसले कारबाहीसमेत गरेको थियो । कारबाही फुकुवा भए पनि खनाल रास्वपा प्रवेश गरी उम्मेदवार बनेका हुन् ।

उनीहरु मात्र होइन लुम्बिनी प्रदेशमा दर्जनौँ नेता पार्टी परिवर्तन गर्दै संघीय सांसदको उम्मेदवार बनिरहेका छन् । आफ्नो कार्यकाल पूरा नगरी संघीय सांसदको भोक लागेपछि संसद् बन्ने दौडमा निस्किएका छन् । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेस नेता तथा पूर्वप्रहरी उपरीक्षक विक्रमसिंह थापा रास्वपा प्रवेश गरेर कपिलवस्तु–२ बाट उम्मेदवार बनेका छन् । २०७९ को प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका उनी कपिलवस्तु–२ (१) मा पराजित भएका थिए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाश रजौरिया पनि अन्तिम समयमा रास्वपा प्रवेश गरेर कपिलवस्तु–३ मा उम्मेदवार बनेका छन् । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी सांसद पद र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) त्यागेर प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाँके–१ मा उम्मेदवार बनेकी छन् । नेकपा सिद्धान्त र नीतिभन्दा पनि निश्चित व्यक्तिको आदेशमा चल्न थालेको भन्दै उनले प्रलोपाबाट उम्मेदवारी दिएको बताउँछिन् ।

यस्तैगरी नवलपरासीका नेता हृदयेश त्रिपाठी पनि दल बदल्नेमा अगाडि नै छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा उनी जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन् । त्रिपाठी २०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका थिए । साविक नवलपरासी–६ मा उम्मेदवारी दिएका उनी पराजित हुन पुगे । त्रिपाठीले त्यसअघि पनि दल बदल्दै आएका थिए । २०६४ सालमा नेपाल सद्भावना पार्टी त्यागेर तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गरेका थिए । तमलोपासहितका ६ दल मिलेर बनेको राजपाको गठनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । २०४८, २०५१ र २०५६ सालको आम निर्वाचन र २०६४ सालको संविधानसभा निर्वाचनमा विजयी भएका त्रिपाठी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पश्चिम नवलपरासी–१ मा कांग्रेस नेता विनोद चौधरीसँग पराजित भएका थिए ।

यस्तै, पूर्वराज्यमन्त्री ओमप्रकाश यादवले पनि पार्टी परिवर्तन गरी जनमत पार्टीबाट रुपन्देही–५ मा उम्मेदवारी दिएका छन् । उनी २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट रुपन्देही–३ मा निर्वाचित भएका थिए । हाल उनी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष थिए तर जनमत पार्टीबाट टिकट पाउने भएपछि उनले पनि मनोनयन दर्ताको दुई दिनअघि मात्रै पार्टी परिवर्तन गरेका हुन् ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष ओमप्रकाश यादव (गुन्जारी) जनमत पार्टीबाट रुपन्देही–५ बाट उम्मेदवारी दिएका छन् । रुपन्देही–१ बाट रास्वपा छाडेर प्रलोपाबाट डा.श्रीबहादुर कुँवरले उम्मेदवारी दिएका छन् । पदको लागि अन्तिम समयमा दल बदलेर उम्मेवार विचार, सिद्धान्तर र निष्ठा कमजोर राजनीतिक दलहरुले बनाउँदै लगेको देखिन्छ ।
राजनीतिक विश्लेषक लक्ष्मण श्रेष्ठले पार्टी परिवर्तन गरी उम्मेदवार बन्ने नेताहरुको प्रवृत्तिले राजनीतिक नैतिकता र दलगत अनुशासनमाथि नै प्रश्न उठेको बताए । ‘नेपालको राजनीति तरल अवस्थामा आइपुगेको छ,’ श्रेष्ठले भने,‘यस्ता उम्मेदवार र नेताले जनताको आवश्यकता संवोधन गर्न सक्दैनन् । लोकप्रियताबादले जनता र नागरिकका माग र मुद्दा उठाउन र संवोधन गर्न सक्दैनन् ।’ अघिल्लो चुनाव जितेका नेताको आर्थिक र सामाजिक रवाफ देखेर उम्मेदवारीकै लागि पार्टी बदल्ने प्रवृत्तिसमेत बढेको उनको भनाइ छ ।