परिवर्तनको बाटो देखाएर अस्ताए घण्टप्रसाद

मेचीकाली संवाददाता

२७ श्रावण २०८३, बुधबार
122 shares

मिलन गाहा

पाल्पाका अगुवा समाजसेवी, राजनीतिककर्मी, शिक्षाप्रेमी तथा शताब्दी पुरुष घण्टप्रसाद अर्यालको निधनप्रति धेरैले शोक व्यक्त गरेका छन् भने पाल्पाको त्यो गाउँ शोकमय भएको छ । एक सय वर्षको उमेरमा उनको निधन भएको हो । उनको निधनले पाल्पाले सामाजिक, राजनीतिक, शैक्षिक तथा विकास निर्माणका क्षेत्रमा लामो समय योगदान पु¥याएका एक अग्रणी व्यक्तित्व गुमाएको छ ।

पाल्पाको तत्कालीन माडी महलपोखरामा जन्मिएका अर्यालले आफ्नो जीवनको ठुलो हिस्सा समाज परिवर्तन र सार्वजनिक सेवामा बिताएका थिए । बाल्यकालदेखि नै संघर्षपूर्ण जीवन बिताएका उनमा समाजप्रतिको जिम्मेवारीबोध र परिवर्तनको चाहना रहेको स्मृतिमा उल्लेख छ ।
अर्यालको राजनीतिक यात्रा प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको थियो । उनी २००६ सालको राजनीतिक आन्दोलनमा सहभागी हुँदै गाउँगाउँमा राजनीतिक चेतना विस्तारमा सक्रिय भएका थिए । २००८ सालमा कम्युनिष्टको सदस्य बनेको तथा त्यसपछि संगठन विस्तारमा समेत सक्रिय भूमिका निर्वाह गरेको स्मृतिमा उल्लेख छ । उनले स्थानीय तहमा वडा अध्यक्ष तथा प्रधानपञ्चका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए ।

राजनीतिक सक्रियतासँगै अर्यालले सामाजिक क्षेत्रमा पनि उल्लेखनीय काम गरेका थिए । समाजमा विद्यमान अन्धविश्वास, कुरीति, कुसंस्कार, छुवाछूतलगायतका विकृतिविरुद्ध उनले निरन्तर आवाज उठाएका थिए । सामाजिक एकता, सद्भाव र समानताको पक्षमा उनले काम गरेका थिए । पाल्पाको ग्रामीण विकासमा पनि अर्यालको योगदान उल्लेखनीय रहेको देखिन्छ । गाउँमा बाटोघाटो निर्माण तथा सरसफाइ अभियानदेखि खानेपानी, गोबरग्यास, विद्युत्, कृषि तथा सार्वजनिक सम्पदा संरक्षणका काममा उनको पहल रहेको थियो । मुहानबाट पानी ल्याएर कलधारा सञ्चालन गर्ने, ग्रामीण क्षेत्रमा विद्युत् विस्तारमा सहयोग गर्ने तथा कृषि क्षेत्रमा उन्नत बीउबिजन र नमुना खेतीलाई प्रोत्साहन गर्ने काममा उनी सक्रिय रहेका थिए ।

उनले सञ्चार तथा सामुदायिक विकासका क्षेत्रमा समेत नयाँ अभ्यासको सुरुवात गरेका थिए । स्थानीयस्तरमा सञ्चार माध्यमको विकास, सामुदायिक रेडियोको प्रवद्र्धन तथा गाउँमा रेडियो, टेलिभिजनलगायतका माध्यमको पहुँच विस्तारमा उनले भूमिका निर्वाह गरेका थिए ।
शिक्षाको विकासमा अर्यालको योगदान अझ महत्वपूर्ण मानिएको छ । २००७ सालमा विद्यालय स्थापना गरी संस्थापक अध्यक्षको भूमिका निर्वाह गर्नुभएको तथा विभिन्न स्थानमा विद्यालय र खेलमैदान निर्माण तथा सञ्चालनका लागि प्रेरित गरे । साक्षरता अभियानअन्तर्गत रात्रीकालीन प्रौढ कक्षा सञ्चालन गर्नुका साथै ग्रामीण क्षेत्रमा शिक्षाको पहुँच विस्तारमा उनले योगदान गरेका थिए ।
शिक्षासँगै कला र संस्कृतिको संरक्षणमा पनि उनको रुचि थियो । नाच, गान, तबला वादन, नृत्य प्रशिक्षण तथा लोककला प्रदर्शनमार्फत सांस्कृतिक जागरणका कार्यक्रम सञ्चालन गर्न उनले योगदान गरेका थिए ।

सामाजिक अभियानका क्रममा उनले जातीय विभेद र छुवाछूतविरुद्ध समेत अभियान चलाएको यहाँका अगुवाहरु स्मरण गर्छन् । विभिन्न सामाजिक तथा सांस्कृतिक विकृतिविरुद्ध आवाज उठाउँदै समाज सुधारका काममा उनी सक्रिय रहे । वन, पानीका मुहान तथा सार्वजनिक सम्पदाको संरक्षणमा समेत उनले पहल गरेका थिए ।
दीर्घकालीन सामाजिक तथा सार्वजनिक योगदानका कारण अर्याल विभिन्न संस्था तथा निकायबाट सम्मानितसमेत भएका थिए । सामाजिक योगदान, शैक्षिक तथा विकास निर्माणमा भूमिका र सांस्कृतिक क्षेत्रमा पु¥याएको योगदानका लागि उनलाई विभिन्न समयमा सम्मानपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।

एक सय वर्षको जीवनमा अर्यालले पाल्पाको ग्रामीण समाजलाई नजिकबाट बुझ्दै शिक्षा, राजनीति, सामाजिक सुधार र विकासका क्षेत्रमा आफूलाई समर्पित गरेका थिए । उनको निधनसँगै पाल्पाले एउटा पुस्ताको सामाजिक इतिहास र अनुभव बोकेको व्यक्तित्व गुमाएको छ ।
अर्यालको निधनप्रति शोक व्यक्त गर्दै उनका आफन्त, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले उनले देखाएको सामाजिक सेवाको बाटो र समाज रूपान्तरणको अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

पाल्पाको सामाजिक रूपान्तरणमा अतुलनीय योगदान
गाउँ बदल्न ठुलो पद र स्रोतसाधनभन्दा परिवर्तनको दृढ इच्छाशक्ति चाहिन्छ भन्ने उदाहरण बनेका पाल्पाका शताब्दी पुरुष घण्टप्रसाद अर्याल अब सम्झनामा मात्र छन् । ९९ वर्षको उमेरमा २२ साउनमा निधन भएका अर्यालले आफ्नो जीवनको लामो समय पाल्पाको सामाजिक, शैक्षिक, राजनीतिक र ग्रामीण विकासमा समर्पित गरे ।

राणाशासनविरुद्धको राजनीतिक आन्दोलनदेखि सामाजिक कुरीति र विभेदविरुद्धको अभियानसम्म उनको जीवन संघर्षमै बित्यो । तत्कालीन समाजमा बाहुनले हलो जोत्न हुँदैन भन्ने मान्यता बलियो थियो । त्यही मान्यतालाई चुनौती दिँदै करिब ७५ वर्षअघि उनले हलो जोत्ने अभियान थाले । त्यसबेला हलो जोत्नु खेती गर्ने सामान्य काम मात्र थिएन, स्थापित सामाजिक संरचनाविरुद्धको प्रतीकात्मक विद्रोह थियो । यसै कारण उनले सामाजिक कठिनाइ र जेलसमेत भोग्नुप¥यो ।

अर्यालको विद्रोह राजनीतिक नारामा मात्र सीमित रहेन । उनले समाज परिवर्तनलाई गाउँको दैनिक जीवनसँग जोडेर हेरे । अन्धविश्वास, छुवाछूत, जातीय विभेद, बोक्सी तथा झारफुकजस्ता कुरीतिविरुद्ध चेतना फैलाए । स्वास्थ्यका विषयमा गाउँलेलाई सचेत पार्दै औषधि उपचार र चिकित्सकको सल्लाह लिन प्रेरित गरे । ‘लाहुरे’ बन्न विदेश जाने प्रवृत्तिविरुद्ध सांस्कृतिक अभियान चलाएर गाउँमै केही गर्नुपर्छ भन्ने सन्देश दिए ।
उनको सबैभन्दा दीर्घकालीन योगदानमध्ये शिक्षा विस्तार पनि एक हो । २००७ सालमा विद्यालय स्थापना गरी संस्थापकको भूमिका निर्वाह गरेका अर्यालले ग्रामीण क्षेत्रमा साक्षरता र शिक्षाको पहुँच विस्तारमा नेतृत्व गरे । शारदा माध्यमिक विद्यालयले ७५ वर्ष मनाउने तयारी गरिरहँदा त्यसको संस्थापकका रूपमा उनको योगदान अझै जीवित छ ।

शिक्षासँगै खानेपानी, बाटोघाटो, विद्युत्, कृषि, स्वास्थ्य, सरसफाइ, वन तथा सार्वजनिक सम्पदा संरक्षणमा समेत उनी आफैं अग्रसर भए । गाउँमा पानी उमालेर खाने, हात धुने, सरसफाइ गर्ने जस्ता सामान्य देखिने तर जीवन बदल्ने अभ्यास सिकाए । आधुनिक कृषि, सामुदायिक वन, गोबरग्यास, ग्यास चुल्हो, रेडियो र टेलिभिजनजस्ता प्रविधि गाउँमा भित्र्याउन पनि उनको भूमिका रह्यो । पहिले आफैं प्रयोग गर्ने र त्यसपछि अरूलाई प्रेरित गर्ने उनको शैली थियो ।
राजनीतिलाई उनले पद र शक्ति प्राप्त गर्ने माध्यमका रूपमा मात्र लिएनन् । २००७ सालको आन्दोलनमा सक्रिय सहभागितादेखि स्थानीय नेतृत्वसम्म उनको राजनीतिक यात्रा फैलिएको थियो । २०१८ सालमा प्रधानपञ्च निर्वाचित भएर र २०२१ सालमा पुनः निर्विरोध निर्वाचित भएर उनले स्थानीय विकास र सामाजिक सेवाका काम अघि बढाए ।

यही कारण घण्टप्रसादको निधन एउटा व्यक्तिको निधनमा मात्र सीमित छैन । यसले पाल्पाको सामाजिक रूपान्तरणको एउटा महत्वपूर्ण पुस्तालाई विदाइ गरेको छ । उनले परिवर्तनको कुरा मात्र गरेनन्, जोखिम उठाएर त्यसलाई व्यवहारमा उतार्ने प्रयास गरे । सामाजिक बहिष्कारको सामना गर्दै हलो जोते, जेल गए, विद्यालय बनाए, गाउँमा प्रविधि भित्राए र विभेद तथा अन्धविश्वासविरुद्ध आवाज उठाए ।
उनको जीवनको यही पक्ष आजको पुस्ताका लागि सबैभन्दा ठुलो सन्देश हो–परिवर्तन भाषणले मात्र सम्भव हुँदैन, त्यसका लागि आफैं अघि सर्नुपर्छ । घण्टप्रसादले छाडेर गएको यही साहस, श्रमप्रतिको सम्मान र समाजका लागि केही गर्ने प्रतिबद्धता नयाँ पुस्ताले आत्मसात् गर्न सके उनको निधन केवल शोकको विषय बन्ने छैन, नयाँ सामाजिक यात्राको प्रेरणा बन्नेछ । पाल्पाले एउटा शताब्दीको अनुभव बोकेको व्यक्तित्व गुमाएको छ तर उनले रोपेको शिक्षा, चेतना, सामाजिक समानता र विकासको बिउ अझै जीवित छ । अब त्यो बिउलाई हुर्काउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको छ ।

घण्टप्रसाद अर्यालको एक सय वर्षे जीवन पाल्पाको सामाजिक रूपान्तरण, शिक्षा, राजनीति, समानता र ग्रामीण विकासप्रतिको समर्पणको प्रेरणादायी उदाहरण हो । राणाशासनविरुद्धको आन्दोलनदेखि सामाजिक कुरीति, छुवाछूत, जातीय विभेद, अन्धविश्वास र परम्परागत रूढिवादविरुद्ध उनले निर्भीकतापूर्वक आवाज उठाए । समाजले गलत ठानेको समयमा समेत हलो जोतेर श्रमको सम्मान र समानताको सन्देश दिए, त्यसक्रममा सामाजिक बहिष्कार र जेलसमेत भोगे । विद्यालय स्थापना, प्रौढ शिक्षा, खानेपानी, बाटोघाटो, विद्युत्, कृषि, स्वास्थ्य, सरसफाइ, वन तथा सार्वजनिक सम्पदा संरक्षणदेखि गाउँमा गोबरग्यास, रेडियो, टेलिभिजन र आधुनिक कृषि प्रविधि भित्राउने काममा उनले अग्रसरता देखाए । राजनीति उनका लागि पद र शक्ति आर्जन गर्ने माध्यम नभई समाज सेवा र परिवर्तनको साधन थियो । उनले परिवर्तनको प्रतीक्षा गरेनन्, आफैँ अघि सरेर त्यसको सुरुवात गरे । यही कारण उनको निधन एउटा व्यक्तिको अन्त्य मात्र नभई एउटा परिवर्तनशील पुस्ताको विदाइ हो । नयाँ पुस्ताका लागि घण्टप्रसादको जीवनको सबैभन्दा ठूलो सन्देश यही हो–समाज बदल्न ठूलो पद, धन वा स्रोतभन्दा दृढ इच्छाशक्ति, साहस, श्रम र निरन्तर कर्म आवश्यक हुन्छ । आफूले सही ठानेको कामका लागि चुनौती सामना गर्दै अघि बढ्ने हो भने एउटा व्यक्तिको प्रयासले पनि पुस्तौँसम्म प्रभाव पार्न सक्छ । उनले रोपेको शिक्षा, समानता, चेतना र विकासको बीउलाई नयाँ पुस्ताले कर्म, सिर्जना र सामाजिक उत्तरदायित्वमार्फत हुर्काउन सके मात्र उनको जीवनप्रतिको सच्चा सम्मान हुनेछ ।