बुटवल । नेपालको एकमात्र सरकारी समाचार एजेन्सी अर्थात् आधिकारिक संस्था राष्ट्रिय समाचार समिति (रासस) द्वारा मेचीकाली राष्ट्रिय दैनिक सम्मानित भएको छ ।
राससको ६५ औं वार्षिकोत्सव समारोहका अवसरमा बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा मेचीकाली सन्देश प्रकाशन प्रालिद्वारा सञ्चालित मेचीकाली राष्ट्रिय दैनिकलाई उत्कृष्ट समाचार संस्थाका रूपमा सम्मान प्रदान गरिएको हो । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मेचीकाली प्रतिनिधि पुष्पराज खनाललाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
राससले आफ्नो संस्थागत उन्नति र प्रगतिका लागि साथ, सहयोग र हौसला प्रदान गर्ने राष्ट्रिय दैनिक पत्रिका रुपमा मेचीकालीको समाचार सेवाको योगदानको उच्च कदर गर्दै उत्कृष्ट पत्रिकाका रूपमा प्रशंसापत्रद्वारा सम्मान प्रदान गरिएको राससका अध्यक्ष धर्मेन्द्र झाले बताए ।
वि.सं.२०५७ साल मंसिरमा स्थापना भएको मेचीकाली अहिलेसम्म निरन्तर प्रकाशनमा छ । यो प्रकाशन भएदेखि हालसम्म निरन्तर ‘क’ वर्गमा सूचीकृत हुँदै आएको छ । राज्यको आधिकारिक समाचार एजेन्सी राससबाट उत्कृष्ट सहयात्रीका रुपमा सम्मानित भएकोप्रति मेचीकाली प्रालिका तर्फबाट अध्यक्ष होमराज बस्यालले आभार प्रकट गरेको छन् ।
